Grab the widget  Get Widgets

Thursday 10 October 2024

श्रीमती खुशी पार्ने उपाय

दशैंको बेला बल्ल बल्ल घरमा भएको दाजुले सघाउला भनेको त सघाउंदै सघाएन भनेर भाउजू रिसाउने नै भयो। राम दाई सधैं युट्युबमा रमाउने मान्छे। उसलाई युट्युब चलाउन पाए अरु केही पनि चाहिंदैन, अनि युट्युबको हरेक कुरामा विश्वास गर्ने। केही दिनदेखि मन्जु भाउजु र राम दाइ बिच झगडा भएर बोलचाल बन्द भएछ। भाउजुले राम दाईलाई एकोहोरो रिस देखाउँदै आएकी थिइन्। राम दाईले एउटा भिडियोमा देख्यो— "श्रीमतीलाई खुशी पार्ने उत्तम उपाय भनेको भान्सामा सघाउनु हो।" त्यो सुनेपछि उसले मनमनै सोच्यो, "आज त पकाएरै फकाउँछु।"

भाउजु घरमै थिइन्, तर उनलाई थाहा थिएन, दाजुले के योजना बनाएको छ भनेर। दाजु सिधै भान्सामा पस्ने निर्णय गर्यो। के पकाउने? भनेर सोच्दा सोच्दै, उसको आँखा भान्सामा भएका करेलातिर पर्यो। उसले करेला कहिले पनि पकाएको थिएन। तर युट्युबमा पकवान हेरेको भरमा आज करेला नै पकाउने सोच बनायो। युट्युबबाट छिट्टै करेलाको तरकारी बनाउने भिडियो खोज्यो र काट्कुट सुरु गर्यो। करेलालाई गोलो गोलो चक्की जस्तो पारेर काट्यो। अनि भिडियो हेर्दै पकाउन सुरु गर्‍यो।

दाजुले इन्फ्रारेड चुलोको स्वीच अन गरेर कराई बसाल्यो र युट्युबमा भने मुताबिक मरमसला राख्यो। भाउजु अर्को कोठामा कपडा सिलाउंदै थिइन्। दाजुले ध्यान दिएर तरकारी चलाउँदै थियो, तर उसको ध्यान भने युट्युबको अर्को भिडियोमा गयो—"पत्नीलाई फकाउने थप उपायहरू।" अनि अति ध्यान दिएर हेर्न लाग्यो। उता करेलाले ध्यान खोज्दै थियो, उसको ध्यान भने आर्को युट्युबमा गैसकेको थियो। उसले टाइमर राख्यो र अटोमेटिक चुलो बन्द हुन्छ भन्ने बिश्वासमा समय राखेर छाड्यो, तर उसले इन्फ्रारेड चुलो बन्द भए पनि तातो रहने कुरा बिर्स्यो।

करिब १५ मिनेटपछि, जब भाउजु भान्सामा आइन, उनले डढेको गन्ध पाए। हेरेर चिच्याइन्, "ए बुढा! यो के गरेको?"
दाजुले "अ...अ...," भन्दै फेरी युट्युबको तारिफ गर्दै भन्यो, "युट्युब भिडियोमा भन्या थियो, श्रीमती फकाउने भनेको करेलाको तरकारी पकाउने हो! त्यही अनुसार करेला पकाएको, टाइमर राखेको अनि आफै बन्द भयो होला भनेर।"

भाउजुले उसको हातबाट मोबाइलको भाँडो खोसिन्, अनि करेला देखाइन, त्यो त डढेर कोइला नै भइसकेको रहेछ। उसले एकैछिन मौन भएर त्यो कालो करेलातिर हेरी, अनि दाजुतिर फर्केर भनिन्, "फकाउने हो भने यस्तो गरेर होइन, भाँडा माझ्न आउँछ हैन अब भांडा माझ्छौ कि स्वास्नी फकाउंछौ?"

राम दाइले हाँसो थाम्न सकेन अनि हस्याङफस्याङ गर्दै बरु भाँडा माझ्न पो सजिलो होला हगी? आखिरमा भाउजु हाँस्दै भनिन, "करेलाको तरकारीले हैन भान्सामा काटकुट मात्रै गर्दिए पनि तिम्रो बुढी खुशी हुन्छे।"

त्यस दिनपछि, राजुले एउटा कुरा राम्रोसँग सिक्यो—युट्युबे भिडियोले भन्दा भान्सामा ध्यान दिएर सघाउंदा श्रीमती खुशी हुने रैछ। अस्तु।

No comments:

Post a Comment