बर्ष दिनको चाड, दशैं, गाउँको रमझम, आफ्नै मान्छेको सामीप्यको अनुभूति गर्न भनेर त्यो छोराले अफिसबाट बिदा हुने बित्तिकै झोला समात्यो र सिधा बसपार्क पुगेर गाउँको बाटो समात्यो। धेरै महिना पछि घर फर्कंदा, मनमा अनगिन्ती योजना थिए—आमालाई सघाउने, बाबासँग गफ गर्ने, श्रीमतीलाई साथ दिने, गाउँका साथीभाइहरूसँग रमाइलो गर्ने। लामो समयपछि घर जाने खुसीमा छोराको अनुहारमा छुट्टै चमक थियो।
गाउँमा पुगेर आँगनमा पाइला टेकेर सास फेर्दा माटोको सुगन्धले भित्रैदेखि मिठो अनुभूति गरायो। आमा दौडिँदै आइन्, बाबाले घरको पिँढीमा मुस्कानसहित स्वागत गरे। बल्ल आइस छोरो! भन्नू भयो। आमा बाबालाई ढोग गरेसंगै श्रीमतीले ढोकामा उभिएर उसको झोला समातिन्। ती सबै अनुहारहरू, जुन उसले महिनौंदेखि देखेको थिएन, अब उसका अगाडि थिए।
र खुसीका ती पलहरु रमाइलो थियो। तर घर नै त हो, लामो समय घरमा नगएकोले बाबा, आमा र श्रीमतीको अपेक्षा पनि रहने नै भयो। बिस्तारै जिम्मेवारी र अपेक्षाहरूको भारी उसको काँधमा आउन थाल्यो।
एकाबिहान आमाले भनिन्, "ए बाबु, आँगनको सरसफाइ राम्रोसँग गर है। दशैंको लागि घर चिटिक्क हुनुपर्छ।"
छोराले तुरुन्तै काम गर्न थाल्यो। मनमनै सोच्यो, "आमालाई सघाउन पाउँदा कस्तो आनन्द लाग्छ!"
तर एकैछिनमै बाबाले बोलाए, "ए छोरा, बारीको पाटोमा केही हरियो साग फल्यो, दशैंमा तिमीलाई मनपर्ने भान्सा बनाउँला। तरकारीहरू ल्याउन जाम त!"
छोरो अलमलमा पर्यो। एकतिर आमाको काम सुरु गरिसकेको थियो, अर्कोतिर बाबाको आदेश पनि छोड्न मिल्ने कुरा थिएन। मनमै यस्तै सोच्दै थियो, उत्निखेर श्रीमतीले झ्यालबाट बोलाइन्, "ए बुढा हिजो बेलुकी भनेको काम बिर्सनु भयो कि क्या हो? यतिका समय पछि आउनु भा छ, जाबो त्यति सामान ल्याइ दिनु भनेको पनि अहिले सम्म ल्याई दिनु भएको छैन। यो दशैंमा हाम्लाई पनि नयाँ कुरा लगाउन मन लाग्छ नि हो। मेरो सामान चाहिँ दसैं पछि मात्रै हो?"
अचानक तीनवटा फरक आदेश, तीनवटा फरक अपेक्षाहरूले छोरालाई मानसिक रुपमा थिच्यो। कसको काम पहिले गर्ने? आमाको स्नेह, बाबाको आशा, श्रीमतीको साथ—यी सबै महत्त्वपूर्ण छन्। तर प्राथमिकता?
छोराले मनमा कुरा खेलाउंदै थियो। आमाको काम गर्यो भने श्रीमतीले भन्छिन, "तिमी जहिले पनि आमाको काम मात्र गर्नु, हुन्छ। बिहे गरे देखि नै याद गरिराछु, जैले पनि मैले भनेको काम पछि गर्छु भन्नुहुन्छ।"
श्रीमतीको काम पहिले गर्यो भने बाबाले रिसाएर भन्नुभयो "अब त बिहे गरेपछि स्वास्नीले भनेको मात्रै सुन्छस, मैले भनेको कुरा कहिल्यै गर्दैनस। म त परको भै सकें हैन!"
छोराको मन भारी भयो। ऊ आफ्नो निर्णयले कसैको मन दुखाउन चाहँदैनथ्यो। बाबाआमालाई बेवास्ता गर्नु उसको लागि असम्भव थियो, र श्रीमतीलाई पनि उसले प्रेम गर्थ्यो। जीवनभरि उसले जिम्मेवारी र सम्बन्धबीच सन्तुलन राख्न कोशिश गर्दा गर्दै पनि जीवन असन्तुलित हुन थालेकोमा निकै चिन्तित भयो।
दिनभरीको यस्तै मनोबादले दसैंको बिदा नै खल्लो नहोस भनी त्यस रात एक्लै कौसीमा आकाश हेरेर तोलाइरह्यो—के सधैं यस्तै अलमलमा बाँच्नुपर्ने हुन्छ कि?
दशैंको अन्तिम दिन, छोराले एउटा निर्णय गर्यो। उसले सबैजना भेला भएको बेला भन्यो, "तपाईंहरू सबै मेरो लागि महत्त्वपूर्ण हुनुहुन्छ। आमा, बाबा, श्रीमती—म तपाईँहरूको लागि नै बांच्दैछु, तर पनि कहिलेकाहीँ म आफै अन्योलमा रहेको छु, कस्को कामलाई पहिलो प्राथमिकता दिनु पर्ने? बर्ष दिनको चाडमा लामो बिदा पाउने दशैं मनाउन र परिवार भेट्न आएको म। तपाईंहरुको आकांक्षा सबै पूरा गर्न सकें कि सकेन मैले भन्न सक्दिन। तर मलाई एउटा अचम्मको अनुभव भएको छ यसपालि मैले सबैजनाको इच्छा पूरा गर्ने कोशिश गर्दा गर्दै पनि सकिन। मलाई माफ गर्नु होला।"
टाढा बसेको छोरो घरमा आए पछि, यो गरम्ला, त्यो गरम्ला भन्ने आशा हुन्छ। यो सबै तिमी, हामीबाट टाढा भएकोले हो नि त। सायद, उसले थाहा पायो—सबैको मायाको उत्तिकै महत्त्व छ, तर घरबाट टाढा रहेर कामको ब्यस्तता र पारिवारिक सन्तुलन मिलाउन भने निकै नै मिहेनत चाहिने रहेछ।
(मस्त निद्रामा सपना देखिरा बेलामा) कन्डक्टर साबले उठाए। ए दाई! ओए दाजु! बसमै सुतेरै बस्ने हो कि ओर्लने हो? हामी त अब आर्को ठाउँमा जानुछ। सबै जना घर गै सके, यो दाजु त अहिले सम्म बसमै सुतेका रैछ्न। अस्तु।
No comments:
Post a Comment