Grab the widget  Get Widgets
Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

14 March 2026

बाख्रा र घण्टी (Goat & the Bell)

मध्यरातमा आकाशभरि टल्किरहेका ताराहरू हेर्दै ऊ घरबाट निस्कियो। मनमा ठूलो योजना थियो, आज बजार पुगेर बाख्रा बेच्ने।

बिहानको घाम झुल्किन नपाउँदै गाउँको खेतको बाटोमा पुगेपछि उसले एउटा रुखमुनि बाख्रा बाँधेर अलिकति विश्राम गर्न बस्यो।
बाख्राको घाँटीमा झुन्डिएको घण्टी भने निकै सुन्दर थियो। बाख्रा जता हिँड्यो, घण्टी टनटन बज्थ्यो।
त्यही बेला बाटो हिँड्दै आएका एक जना मान्छेले वरिपरि हेरे। “बाख्रा छ भने मान्छे पनि कतै नजिकै होला नि,” भन्दै दायाँबायाँ नजर घुमाए। केही पर एउटा केटो झोक्राएर बसेको देखे।

“के भो बाबु? किन यस्तो उदास?” उनले सोधे।

केटोले लामो सास फेरेर भन्यो, “बाबै, यो बाख्राले मलाई ठूलो तनाब दियो।”

“किन र?”

“हेर्नुस् न, यो बाख्रा अलि हिँड्यो कि घण्टी टनटन बज्छ। घण्टी बज्नासाथ गाउँका मान्छेहरू दौडिँदै आउँछन्। सबै भन्छन् ‘आहा, कस्तो मिठो घण्टी बज्छ!’”

त्यो मान्छेले हाँस्दै सोध्यो, “अनि बाख्रा किन्न आएनन्?”

केटो झन् निराश हुँदै भन्यो, “त्यही त समस्या! सबैले घण्टी मात्रै किन्न चाहन्छन्, बाख्रा चाहिँ कसैलाई चाहिँदैन।”

त्यो सुनेर बाटो हिँड्ने मान्छे पनि हाँस्न थाल्यो। अनि मजाक गर्दै भन्यो, “बाबु, तिमी त बाख्रा बेच्न होइन, घण्टीको प्रचार गर्न निस्केको रहेछौ जस्तो छ।”

27 December 2025

मौनता एक समाधान (Silent Divorce)

झमक्क साँझ पर्न लागेको थियो। उकालो-ओरालो गर्दा थिचिएका गोडाहरू फतक्कै गलेका थिए। बास खोज्दै एउटा चालिसे अंकलको घरको आँगनमा पुगें। त्यहाँका दाइ र भाउजूले 'अतिथि देवो भव' को गाउँले संस्कार अनुसार मलाई न्यानो स्वागत गरे।

​भान्सा निरको अँगेनाको तातोले दिनभरिको थकान मेटिए जस्तो भयो। दाइले गाग्रो उचालेर चिसो पानी पिलाउनुभयो भने भाउजू 'सिलौटो' मा खुर्सानी र टिमुर पिन्न व्यस्त हुनुहुन्थ्यो। मैले सोचेँ, "आहा! कस्तो मिलेको परिवार!" दाइले चुल्होमा दाउरा घुसार्ने, भाउजूले कराईमा रायोको साग ओल्टाइपल्टाइ गर्ने। दुवैको तालमेल घडीको सुइ जस्तै मिलेको थियो।

​तर अलि बेरमा मलाई एउटा कुराले चसक्क बिझायो। दाइ मलाई 'हैट! बाबु त कति हिँड्न सकेको' भन्दै गाउँले भाखामा कुरा गर्नुहुन्थ्यो, भाउजू मलाई 'दूध हालेको चिया खानुस्' भन्नुहुन्थ्यो। तर, ती दुई प्राणीका बिचमा भने कुनै एक शब्द पनि साटासाट भइरहेको थिएन।

​भाउजूलाई नुन चाहियो, उनले दाइको हातको बट्टातिर इसारा मात्रै गरिन्, दाइले तुरुन्तै बुझेर नुनको बट्टा अगाडि सारिदिनुभयो। दाइलाई 'साग' चाहियो, उनले भाउजूको हातको कराई तिर हेरे मात्रै, भाउजूले मुसुक्क पनि नहाँसी साग दाइको थालमा थमाइदिइन्।

​म त अचम्ममा परेँ। लोग्ने-स्वास्नीको झगडा त 'परालको आगो' भन्छन्, एकै छिनमा हुर्र बल्ने र झ्याप्प निभ्ने। तर यहाँ त परालको आगो होइन, महिनौंदेखिको 'अखण्ड धुनी झैं मौन युद्ध' को कोइला सल्किरहेको जस्तो देखिन्थ्यो। खाना खान बस्दा भाउजूले 'दाडु' ले दाल पस्किइन्, दाइले चाम्रे भात थपिदिए। सेवामा कुनै कसर बांकी राखेका थिएनन्, तर उनीहरूको मौनता यति गहिरो थियो कि मानौँ उनीहरूले 'मौनता नै परम धर्म' भन्ने दीक्षा लिएका छन्।

​भोलिपल्ट बिदाइ हुने बेला मैले ठट्टा गर्दै दाइलाई सोधेँ, "दाइ, भाउजू त कति ज्ञानी हुनुहुँदो रहेछ, बोल्दै नबोल्ने!"

​दाइले मलाई अलि पर लगेर सुटुक्क भन्नुभयो, "होइन बाबु, कुरो त्यस्तो होइन। हाम्रो झगडा परेको त ६ महिना भयो। तर पाहुनालाई खुवाउन र घर चलाउन त हामी दुबै मिलिहाल्छम् नि! बोलेपछि दस थरी कुरो चिप्लिन्छ, अनि पो झगडा हुन्छ, नबोलेसी त सधैं शान्ति! यो मौनता नै हाम्रो घरको समाधान हो।"

​मैले लामो सुस्केरा हालेँ। अचम्म! 'मौनता' को यस्तो हास्यव्यङ्ग्य त मैले कुनै किताबमा पनि पढेको थिइनँ। 'परालको आगो' निभाउन उनीहरूले 'मौनताको हिउँ' नै ओढेका रहेछन्। म आफ्नो बाटो लागेँ, पछाडि दाइ र भाउजू फेरि त्यही 'साइलेन्ट' तालमेलमा घरको काममा जुटेका थिए। अस्तु।

26 December 2025

हर्के तीन धर्के

हर्के भन्छ, “मैले त मुखै खोलेको थिइनँ है।” तर उसकी घरवाली त बारुद झैँ पड्किहालिन्। एकैछिनमा उफ्रेर आयो, झ्याम्म हान्यो, म त डङ्ग्रङ्ग ढलेँ। कुरो खासै ठूलो पनि थिएन। घरमा पानी कसले ल्याउने भन्ने मात्रै त हो नि।

हर्केकी श्रीमती चिच्याउँदै भनिन्,
“ए हो नि, यो घरमा सधैं तिमीले मात्रै पानी बोक्न जाने हो र? तिम्रो त्यो ल्वाँठे भाइ त लाथे भैसक्यो नि। जहिल्यै स्कुल जानु पर्छ भनेर छुट दिइरहने? आज त बिदा हो, स्कुल पनि छैन। १२ कक्षामा पढ्छ भन्छौ, तर घरको काम भने देख्दा पनि नदेखेझैँ गर्छ। तिम्रो भाइ होस् या मेरो देवर, तिम्रा बा आमाको कान्छो छोरो होस्, लाथे त लाथे नै हो नि।”

अझै नथाकी बोलिरहेकी थिइन्,
“अब बिहे गराइदियो भने अर्को साल नै बाउ बन्ने बेला आउँछ, तर घरको एउटा सिंको भाँच्न पनि दिनु छैन। तिमीहरूकै कारण हो, यत्रा लाथे सन्तान बिग्रेको। यति झिना मसिना काम त सिकाउनै पर्छ नि है।”

त्यत्तिमै पुरानो दुख पनि कोट्याइन्,
“म यो घरमा बिहे गरेर आउँदा जम्मा १७ वर्षकी थिएँ। मेरा बा आमाले के अनुहार देखेर तिमी जस्तो ग्वाङ्ग्रे बूढोसँग पठाइदिए होलान् कुन्नि! जम्दारको छोरो हो, सुति सुति खान पाउँछे भनेर ठुल्दाइ, सानो भाइ र घरका सबैले मिलेर मलाई यही बूढोको जिम्मा लगाइदिए।”

“अहिले हेर त, दिनभर बारीमा काम गरेसी आराम कैले पाउने? रातमा आराम गर्न थालेसी, बुढो बाघ झैं घुर्ने। घुर्ने पनि कस्तो ठूलो स्वर हो। टोल नै थर्किन्छ भन्या। अस्ति त पल्लो घरको नयाँ कुकुर बिचरा डराएर खाटमुनि लुकेर थरथर काँपेर बसेछ। कुकुर त झण्डै मरेन, तर मेरो निन्द्रा भने कहिले रामरी पुग्ने भएन।” भगवान शरणम्! 
उता हर्केले बोल्ने आंट पनि गरेन। लाथे भाइ, भाउजुको तातेको पारा देखेर केही नबोली तीन धर्के कट्टु लगाएर चुपचाप आफ्नो बारीमा लम्पसार चिप्लिन गए! सासु ससुराहरु ट्वाँ परेर हेरिरहे। अस्तु।

25 December 2025

Silent Divorce

रामदाइ र सिता भाउजूको घर बाहिरबाट हेर्दा अरू सामान्य नेपाली परिवार जस्तै देखिन्थ्यो। बिहान ढोका खुल्थ्यो, साँझ बत्ती बल्थ्यो। चाडपर्वमा घर सफा हुन्थ्यो, भोजभतेरमा दुबैजना एउटै गाडीमा जान्थे। नातागोता र छिमेकीका आँखामा उनीहरू आदर्श दम्पती नै थिए। तर त्यो घरको भित्ता भित्र अर्कै कथा बाँचिरहेको थियो।

उनीहरू एउटै छानामुनि बसे पनि मन भने टाढा टाढा थिए। बिहानको चिया संगै पिउँदैनथे। बाटोमा हिंड्दा पनि अगाडि पछाडि छुट्टै। बोलचाल आवश्यकतामा सीमित थियो, त्यो पनि औपचारिक। रिस झगडा ठूलो हुँदैनथ्यो, किनकि झगडा गर्न लायक सम्बन्ध नै बाँकी थिएन। मौनता नै उनीहरूको दैनिकी बनेको थियो।

“छोरा छोरीकै कारण हो बाबु,” सिता भाउजू कहिलेकाहीँ भन्थिन्, स्वर भारी बनाउँदै। “नत्र त म कहिल्यै यति सम्झौता गरेर बस्दिनथेँ।”

रामदाइ पनि कहिलेकाहीँ मन खोल्नुहुन्थ्यो “समाज र सन्तानको नाममा बाँधिएको जीवन हो यो। बाहिरबाट हेर्दा सबैलाई हाम्रो परिवार कति सुखी लाग्छ। तर मेरो भित्रको घाउ कसैले देख्दैन र बुझ्दैन।”

सिता भाउजूको पीडा पनि कम थिएन। “मेरो जिन्दगी नरक भयो,” उनी भन्थिन्। “न त म पत्नी जस्तो महसुस गर्छु, न त ऊ श्रीमान् जस्तो। एउटै घरमा बस्नु मात्र विवाह होइन रहेछ।”

"हामीले जीवन जिएको हैन कर्तव्य पालन गरेको मात्रै हो।" भन्छन रामदाई।
कसैले ठूलो धोका दिएको पनि थिएन, न त कानुनी रूपमा अलग भएका थिए। तर वर्षौंको उपेक्षा, सम्मानको अभाव, नसुन्ने बानी र साना साना चोटहरूले उनीहरूको सम्बन्धलाई भित्रैबाट मारेको थियो।

छोरा छोरी स्कूलबाट फर्किंदा उनीहरू फेरि अभिभावकको भूमिका निभाउँथे। आमाबुबा मुस्कुराउँथे, सँगै बसेर खाना खान्थे। तर त्यो मुस्कान नाटक थियो, त्यो संगै बसाइ बाध्यता। बच्चाहरूले पनि बिस्तारै बुझ्न थालेका थिए, घरमा शान्ति त छ तर आत्मीयता छैन। यही अवस्थालाई आजकल “Silent Divorce” भनिँदो रहेछ। 

कानुनी कागजमा सम्बन्ध बाँकी भए पनि मन, भावना र आत्माबाट सम्बन्ध टुटिसकेको अवस्था। समाजको डर, सन्तानको भविष्य र प्रतिष्ठाका कारण धेरै दम्पती यस्तै मौन सम्बन्ध बोकेर बाँचिरहेका छन्।

एक दिन, छोराले बुवालाई सोध्यो, “बुबा, तपाईं र आमा किन सँगै हाँस्नु हुँदैन?” त्यो प्रश्नले रामदाइलाई गहिरो चोट दियो। उनले पहिलोपटक महसुस गरे, मौनता पनि हिंसा हुने रहेछ।

त्यसपछि उनीहरूले कुरा गर्ने प्रयास गरे। दोष थोपर्ने होइन, सुन्ने प्रयास। सिता भाउजूले सम्मान खोजेकी थिइन्, रामदाइले पनि बुझि दिन खोजेका थिए। सबै समस्या तुरुन्त समाधान भएनन्, तर संवाद सुरु भयो।

यो कथाको अन्त्यमा उनीहरू पूर्ण रूपमा मिल्न सके वा सकेनन्, भन्ने पाठक बर्गमा नै निहित रहनेछ। तर एउटा सन्देश स्पष्ट छ। सम्बन्ध टिकाउन समाज वा बाध्यता भन्दा पनि एकाअर्काप्रति सम्मान, सुन्ने धैर्य र मानवीय संवेदना अनिवार्य हुन्छ। नत्र एउटै घरभित्र पनि मानिसहरू एक्लै र सम्बन्धहरू मौन रूपमा मृत बांचिरहेका हुन सक्छन्। "Silent Divorce" त्यही मौन मृत्युको नाम हो। अस्तु।

15 December 2025

दाने दाने पे लिखता है खाने वालोंका नाम (God writes the names of the eaters on every grain)

ठुल्दादा आज अलि गडबड मुडमा थिए। बिहान आँखा खुल्दा घडीले नै जिस्काएजस्तो गर्‍यो। “आज त ढिलो भइसक्यो” भन्ने संकेत दिँदै। भान्सातिर हेरे, चुलो चिसै। हिजो किनेर ल्याएको सामान खोजे, सामानले पनि आज बिदा लिएको जस्तो। अन्ततः ठुल्दादाले गहिरो सास फेरे, “ल, आज त कर्ममै लेखिएको रहेछ, नास्ता नखानु” भन्दै अफिसतिर लागे।

अफिस पुगेको पाँच मिनेट पनि नबित्दै सेक्रेटरीले अनुहार हेरेरै नाडी छामिन्।
“सर, आज बिहान ब्रेकफास्ट गरेर आउनु भएन कि क्या हो?”
ठुल्दादा झस्किए। मनमनै, “ए, यो त ज्योतिषी हो कि के हो?” अनुहारमा अलि नक्कली मुस्कान झुण्ड्याएर भने,
“त्यस्तो त हैन।”

तर झूट बोल्न पनि आत्मबल चाहिँदो रहेछ। आवाजमा ओज थिएन। सेक्रेटरीले तुरुन्तै भनिन्।
“हैन सर, आज तपाईंको मुख त निन्याउरो छ नि। म त आज बिहान खान नभ्याएर क्यान्टिनमै खाने सोच्दै छु। सर पनि आउनु हुन्छ कि भनेर सोधेको।”

अब ठुल्दादाले कुरा लुकाउन सकेनन्।
“खासै खान मन नभएर नखाई आएको,” भारी मनले बोले।
अनि तुरुन्तै थपे, “तिमी जाँदै गर, म पनि अलिकति काम सकेर आउँछु।”

वास्तविकता त के थियो भने, मन नलागेर होइन, आज समय र सामान दुबैले धोका दिएका थिए। ठुल्दादालाई यस्तो अनुभव नयाँ चाहिँ थिएन। चियाको तल तल लागेको बेलामा चिया सकिन्छ, नुहाउन खोज्दा पानी सकिन्छ, साबुन सकिन्छ, मोबाइल चार्ज गर्न खोज्दा चार्जर नै हराउँछ। तर आज भने मन अलि चिस्सै भयो। “सायद पूर्वजन्मको कर्म होला,” भनेर आफैंलाई सम्झाए।

अन्ततः सेक्रेटरीसँगै क्यान्टिनमा बसेर नास्ता खाए। खाना स्वादिलो थियो कि संगत मिठो थियो, छुट्याउनै सकेनन्।
त्यही बेला ठुल्दादालाई पुरानो भनाइ याद आयो, “दाने दाने पे लिखता है खाने वालोंका नाम।” आज त्यो नाम सेक्रेटरी संग नै खानुपर्ने लिस्टमा परेछ। अस्तु!

07 December 2025

गुनासोको पोका (The Conplaint Bag)

संधै क्याईं क्याईं! क्याईं क्याईं ! गर्ने ​माइजुको गुनासो, ब्याट्री सकिन लागेको घण्टी जस्तै थियो, सधैँ बजिरहने, तर घरका परिवारका सदस्यहरुलाई भने बानी परिसकेपछि कसैले नसुन्ने। छु मतलब! "यस घरमा मेरो कुरा सुन्ने कोहि छैन," उहाँ भन्नुहुन्थ्यो। "सबैलाई खाना पकाइदिने, खुवाउने जिम्मा मेरो, कर्तब्य मेरो, तर मलाई 'खायौ कि नाइँ' भनेर सोध्ने कोही छैनन्। मतलबी जमात!"

​मामालाई यो कुराले च्वास्स, घोच्यो। आखिर, उहाँ पनि त "मतलबी जमात" भित्रै पर्नुहुन्थ्यो। बिहानीको लामो ध्यान र योगाभ्यास सकिएपछी, एका बिहानै, मामाले एउटा क्रान्तिकारी कदम चाल्नुभयो।

​"ए सुनिता!" मामाले भान्साकोठाको ढोकामा टाउको छिराउनुभयो, "आज तिमीले बिहान नास्ता खायौ कि नाइँ?"

​माइजुले चुल्होमा कुकर बसाल्दै हुनुहुन्थ्यो। मामाको प्रश्न सुनेर उहाँ एक सेकेन्डका लागि चुप्प बस्नु भयो, मानौं कुनै अचम्म हुने र छ की क्या हो भनेर गम्नु भयो। कर्के नजरले मामालाई हेर्नु भयो |

​"ओहो, आज त सूर्य पश्चिमबाट उदाएछ कि क्या हो?" माइजुले कुकर चुल्होमा राखेर दुवै हात कम्मरमा अड्याउनुभयो। "तिमीहरूले पकाएर दिन्छ र खाम्ला भनेको भए त, म कता पुगिसक्थें होला! कति हाई सन्चो हुन्थ्यो होला| अहिले सम्म, कहिले एक पटक पकाएर दिएका छौ? मैले नपकाई खानै नहुने तिमीहरूलाई, साँच्चै मेरो याद आएको हो र?" उहाँको आवाजमा वर्षौंको गुनासोको भण्डार थियो जुन एकैचोटि ढ्याम्म बाँध फुटे झैं फुट्यो।


​मामा तीन कदम पछि हट्नुभयो, माइजुको शब्द बाणको प्रहारबाट जोगिन।

​"हेर सुनिता," मामाले स्पष्टीकरण दिंदै हात हल्लाउनुभयो, "मैले तिमीलाई पकाएर खुवाम्ला भनेर सोधेकै हैन, तिमीले सधैं गुनासो गरिराख्छ्यौ, 'कसैले सोध्दैनन्' भनेर। त्यसैले, मैले आज 'सोधेको' मात्रै हो। तिम्रो मन राखी दिन खोजेको मात्रै हो| खाना नै पकाएर दिम्ला भनेर त, सोचेको पनि छैन, है ! मैले पकाउन थालें भने मेरो काम कसले गरिदिन्छ नि अफिसमा ?"

​माइजु एकछिन अक्क न बक्क हुनुभयो। मामाले गुनासोको मूल कारणलाई हैन, केवल गुनासोको प्रक्रियालाई मात्रै  सम्बोधन गरेकोमा उहाँलाई अचम्म पनि लाग्यो।

​"मलाई सोध्नुभन्दा राम्रो त, दुई चार चम्चा चिनी हालेर चिया बनाइदिए हुने नि!" माइजुले हताश हुँदै भन्नुभयो।

​"अँहँ! सोध्ने काम सकियो," मामाले छड्के मुस्कान दिनुभयो। "अब तिम्रो 'कोही सोध्दैनन्' भन्ने गुनासोको कोटा सकियो, होला हगी? ल म हिँडे।" भनेर खुरुक्क निस्कनु भयो | अनि भन्नु भयो, वाक न प्वाक, तीन माना क्वाप! यस्तालाई गुनासो के गर्ने? अस्तु |

22 November 2025

रामदाईको अर्गानिक बुद्धि (Ram Dai's Organic Idea)

राम दाईको अर्गानिक बुद्धि

हाम्रा गाउँका रामदाइको एउटै सपना थियो, जसरी हुन्छ विदेश उड्ने र 'डलर' को रुख हल्लाउने। उनको कोठाको भित्तामा नेपालको नक्सा थिएन, बरु विश्वको नक्सा टाँसिएको थियो। गाउँको अर्गानिक दूध-दही देख्दा उनलाई वाकवाकी लाग्थ्यो, तर बजारको प्याकेटको चाउचाउ, पिज्जा र बर्गर देख्दा भने मुख रसाउँथ्यो।

"यो धुलो र हलो जोतेर केही हुनेवाला छैन, यो देशमा, (निराशा हुंदै )| म त जाने हो बिदेशां, सुखको स्वर्गमा!" भन्दै रामदाइले म्यानपावर धाइरहे। भिसाको चिन्ताले कपाल झरेर तालु भइसक्यो, तर भिसा आएन।

एक दिन निराश भएर उनी गाउँकै चौतारीमा टोलाउँदै थिए। अचानक एक हुल 'खैरे' (विदेशी पर्यटकहर) बसबाट ओर्लिए। ती पर्यटकहरू रामदाइको बाँझो बारीमा उम्रेको सिस्नो, झाँगिएको सखरखण्ड, लटरम्म फलेको बेलौटी (अम्बा) को रुख देखेर 'Oh My God! Organic Paradise!' भन्दै फोटो खिच्न थाले, सेल्फी हान्न थाले। अझ अचम्मको कुरा त के भने, ती पर्यटकले गाउँकै काकासँग मज्जाले पैसा तिरेर कोदोको ढिँडो र गुन्द्रुक चाख मानि-मानि खाए अनि दङ्ग परे । अनि कोहि कोहि दालभात पावर ट्वान्टी फोर आवर भन्दै रमाएका पनि थिए।


रामदाई को दिमागको 'फ्युज' त्यही बेला जोडियो। उसले सोच्यो, "ओहो ! म चाहिँ भाँडा माझ्न र ट्वाइलेट सफा गर्न विदेशिने भनेर मरिहत्ते गरिरहेको छु, तर यी 'गोरा' हरू चाहिँ मेरो बारीको माटो र गोबरको गन्ध सुँघ्न यहाँ डलर तिर्न आउँदा रहेछन्!"

भोलिपल्टैबाट रामदाइको बिचार फेरियो। पासपोर्ट थन्कियो, बाकस भित्र। हातमा लाग्यो कोदालो र फाली । उनले आफ्नो घरलाई चिटिक्क पारे, नाम राखे "रामदाईको अर्गानिक होमस्टे"

जो मान्छे हिंजो गाउँ र देश छोड्न खुट्टा उचाल्दै थिए, आज उनकै घर आँगनमा पाहुनाको लाइन छ। बारीमा फलेको बेलौटी (अम्बा), काँक्रो सखरखण्ड र घरको लोकल कुखुरा बेचेरै उनले पैसाको रुख उमार्न थाले। उनी हाँस्दै भन्छन्, "हैट! अर्काको देशमा 'यस सर' भन्नु भन्दा आफ्नै बारीमा 'नमस्ते सर' भन्नुमा बेग्लै मजा आउने रहेछ, यार! गाउँमा इज्जत छ, काम पनि दाम पनि छ!"

अहिले रामदाइले गाउँका युवाहरूलाई जम्मा पारेर आफ्नो रमाइलो अनुभब बयान गर्छन्  "केटा हो! यही माटोमा सुन फलाउन सकिन्छ। अलिकति बुद्धि र मिहेनत चाहिन्छ। यो मैले मात्र होइन, सबैले ब्यबहारमा प्रयोग गर्नु होस् | "आफै कमाउनुस, अनि स्वदेशमा नै रमाउनुस" | अस्तु |

28 September 2025

गालीको पींढी

लघुकथा: “गालीको पींढी”

रामे (रामबहादुर) सानैदेखि गाली खाएर हुर्किएको मान्छे। गाउँका छरछिमेक र बुढाबुढीले उनलाई “ए गधा!”, “ए मूर्ख!”, “ए लम्फु"  "ओए ग्वांग्रे" भन्ने शब्द बिहान देखि बेलुकी सम्म नै सुनेर हुर्केका थिए। त्यसैले रामेले आफ्नो बालबालिकालाई पनि यस्तै परिबेशका बोली नै प्रयोग गरेर बच्चाहरु हुर्काउन पर्छ भन्ने मनोभावना लिएका थिए।

अब रामेको बिहे भैसकेको थियो। मानिसहरुले अलि फरक नजरले हेर्न थाल्यो। सायद रामे सुध्रेर जान्छ भन्ने आशा गरेका थिए। अलि फरक पनि हुनै पर्‍यो। पारिवारिक जञ्जाल र सामाजिक परिबेश संगै घुलमिल हुनै पर्‍यो। समय अनुसार रामेको बच्चाहरु भयो। हुंर्कंदै गयो। कहिलेकाहीं आफ्नो बालपनमा भए गरेका कठिन समयको असर आफ्नो बालबच्चामा नपरोस भन्ने भावना पनि गर्थ्यो।

बच्चाहरू हुर्कंदै जांदा चुलबुल गर्दा घरका भांडाकुंदा टुट्ने फुट्ने हुंदा भने आफु बालक हुंदा खाएको गालीको सट्टा भर्ना लिने जस्तो व्यबहार गर्थ्यो। आफ्नै बालबच्चाहरुलाई ठूलो मान्छेलाई जस्तै गाली गरेर झपार्दी हाल्ने गर्थ्यो। बिचरा बच्चाहरु न त कुरा बुझ्ने उमेरमा थियो, न सम्झिन सक्ने। 


तर रामे बुबा भने बिहानैदेखि गाली बैंक जस्तै लाग्थ्यो "ए अल्छी! ओए ग्वांग्रे!”। बिचरा बच्चाहरुले जे गर्न खोज्दा पनि डराएर गरुंकि  नगरुं कन्फ्युज हुन्थ्यो। आर्काको बच्चाले यसो गर्छ, त्यस्सो गर्छ, तंइले यति जाबो काम पनि गर्न सक्दैनस् ? भनेर हरेक पटक रोक्ने टोक्ने गर्दथ्यो। यसो गर्दा बच्चाले पनि केही काम आफैले नगर्ने र गर्न पनि डराएर मात्रै गर्थ्यो।

आमा सीता त झन् वाक्क। आफ्नो सन्तानलाई हेरेर भन्थिन्, "यो हाम्रो बच्चा हो कि, त्यसका बाबुको गालीको लागि प्रयोगशाला?"

एक दिन टोलमा आएका बाल मनोवैज्ञानिक डाक्टर साबले यो दृश्य देखे। उहाँले रामबहादुरलाई सोधे, “दाइ, किन आफ्नै बालबच्चाहरुलाई यति धेरै गाली गर्नु हुन्छ?”

रामबहादुर हाँस्दै भने, “ किन र! मैले के गल्ती गरें र? मेरै बच्चाहरु हुन! म पनि त जिन्दगीभर गाली खाएरै हुर्केको मान्छे, त्यसैले बानी परेको हो। यति गाली गरेन भने त बच्चाहरुले भोलि मलाई टेर्दै टेर्दैन नि!”

डाक्टर साब मुस्कुराउँदै उत्तर दिए, “त्यसैले त तपाईं अझै पनि रिसाहा  हुनु हुन्छ। गालीले बच्चाको आत्मा नै सुक्छ, डर मात्र बढ्छ। आत्मबल हराउंछ। आफुले आफुलाई बिश्वास गर्न सक्दैन। सायद! तपाईंको आफ्नो बालापनमा तपाइले धेरै गाली खाएको होला, अनि तपाईँमा यो चिडचिडापन अझै आएको हो। नत्र तपाईं यस्तो मान्छे हुन नपर्ने हो। घर ब्यबसाय राम्रै छ। तर तपाईंको बोली भने गोली जस्तो छ। 

आफ्नो सन्तान प्रति तपाईंले दुश्मनको जस्तो व्यवहार गर्दै हुनुहुन्छ। अनि आफ्नो सन्तानबाट तपाईंले सकारात्मक व्यवहार खोजेर आउँछ? प्रेमको बोलीले पो आत्मबल जगाउने गर्छ।  "मेरो छोरा" "मेरो ज्ञानी बाबु", भन्ने शब्द सुन्दा बालक मुस्कुराएर भनेको मान्ने हुन्छ र व्यबहार पनि फरक पर्छ। कमसेकम प्रयास त गर्नुस्!”

रामबहादुर अचम्ममा परे, “गाली बिना पनि बच्चा हुर्कन्छ त?”

डाक्टर साहबले हाँस्दै भने, “गालीले त जिन्दगी नै ध्वस्त बनाउंछ, मायाले मात्र ब्यबहारिक हुन्छ। बच्चालाई हरेक दिन साना–साना कुरामा निरुत्साहित गर्नुको साटो प्रोत्साहनका शब्द दिनुस्। ‘तिमी सक्छौ’, ‘तिमी राम्रो गरिराछौ’। यस्तै यस्तै! मीठो बोली वचनले नै सन्तानको मनोबल अकाशिन्छ।”

त्यस दिनदेखि रामबहादुरले गालीको पसल बन्द गरे। अब छोरालाई देख्नेबित्तिकै भन्थे, “ए मेरो बाबा, आउ त, कति ज्ञानी छोरा।”

सीता हाँस्दै भनिन्, “अब भने सांच्चै राम बहादुर हाम्रो घरमा आएको छ। धन्यवाद डाक्टर साहब! अब हाम्रो घर गालीको कारखाना होइन, मायाको बगैँचा बनेको छ।” अस्तु।

10 May 2025

राम नारान बाजेको "इज्जत"

गाउँको चौतारीमा बसेर गफ हाँक्नु राम नारान बाजेको नित्यकर्म जस्तै थियो। उनको गफको मुख्य विषय हुन्थ्यो – "आफ्नी स्वास्नीलाई कसरी तह लगाउने?" उनी छाती फुलाउँदै भन्थे, "मेरी बुढी त मेरो अगाडि चुँसम्म बोल्न सक्दिन। अलि अटेर गर्न खोजी भने दुई लाठी बजाईदिन्छु, अनि सिधा हुन्छे। लोग्नेमान्छेको रवाफ त हुनैपर्छ नि हैन! स्वास्नीले टाउकोमा टेक्ने बित्तिकै भुईमा ल्याई हाल्नु पर्छ हैन!" सुन्नेहरु कोही मुसुमुसु हाँस्थे, कोही टाउको हल्लाउँथे, तर कसैले पनि मुख फर्काएर प्रतिवाद गर्दैनथ्यो।

किन भने प्रतिबाद गर्‍यो भने प्रतिबाद गर्ने माथि नै जाइलाग्ने राम नारान बाजेको खत्तम बानी थियो। बिरोधिको कुरा कैले नसुन्ने र तुरुन्त जाई लाग्ने बानी भएकोले कसैले प्रतिबाद पनि गर्दैनाथ्यो अनि मतलब पनि गर्दैन थियो। तर गफ सुन्नेहरुले त्यो गफाडी बाजेको कथा सुन्न जांदा फोकटको सितन सहित जांड रक्सी पनि खान पाउने भएकोले मन नलागे पनि हो मा हो मिलाइ दिन्थ्यो। राम नारान बाजे मख्ख पर्थ्यो। आफ्नो इज्जतको कुरो थियो|

घरमा भने उनकी श्रीमती, सुन्तली बज्यै, दिनरात काममा जोतिन्थिन्। उनको जिउमा र अनुहारमा कहिलेकाहीँ देखिने नीला डाम र सुन्निएको आँखाले राम नारान बाजेको "रवाफ"को साक्षी दिन्थ्यो। तर उनी कसैलाई केही भन्दैनथिन्, चुपचाप आफ्नो पीडा सहेर बस्थिन्।


एकदिन चौतारीमा यस्तै गफ चलिरहेको थियो। राम नारान बाजे हौसिएर भन्दै थिए, "हिजो दालमा नुन चर्को भएछ। त्यही निहुँमा चार वचन सुनाएर एक झापड दिएँ। आँखा त नील्लै भएछ बुढीको, अब हेर्नुहोला, एक हप्तासम्म चुं पनि गर्ने छैन, तिमीहरुको बजैले! नाती खेलाएर कुनामा बस्दैछे|"


त्यहीबेला, शहरबाट छुट्टीमा घर आएका, गाउँकै पढेलेखेका नवयुवक रमेशले बाजेको गफ सुने। उसलाई बाजेको कुरा पटक्कै मन परेन। उसले नम्र तर दृढ स्वरमा भन्यो, "बाजे, माफ गर्नुहोला, सानो मुख, ठूलो कुरो नभन्नुस है, तर तपाईंले यो कुन बहादुरीको कुरा गर्नुभएको? आफ्नो शारीरिक शक्ति आफूभन्दा कमजोर, त्यसमाथि जीवनभर साथ दिने आफ्नै श्रीमतीमाथि प्रयोग गर्नु त कायरता हो नि। यसरी कुटेर, पिटेर तपाईंले कस्तो इज्जत कमाउनुभयो?" थुक्क कायर बुढा! भनेर खुरुक्क हिंड्यो।

रमेशको कुराले चौतारीमा सन्नाटा छायो। राम नारान बाजेको हावाले फुलेको छाती खुम्चियो। उनको अनुहार नीलो कालो भयो। उनले केही बोल्न खोजे तर शब्द निस्किएन। अरु दिन बाजेको कुरामा हाँस्नेहरु पनि आज चुपचाप थिए, कतिपयको अनुहारमा लाज मिसिएको देखिन्थ्यो। अनि बिस्तारै जांड रक्सी स्वात्त पार्दै केही नभनी गफ सुन्ने फोकटका हरि लट्ठकहरु सबैले चौतारी नै खाली हुने गरी राम नारान बाजेलाई छाडेर हिंडे। बाजेको मनमा चसक्क भयो।


त्यसदिनदेखि राम नारान बाजेको चौतारीको गफ सुन्ने र फोकटमा खाने श्रोताहरु पनि कम भयो। गाउँलेहरूले पनि बुझे, श्रीमतीलाई कुटेर पिटेर फुर्ति लगाउनेहरू वास्तवमा भित्रदेखि खोक्रा र कायर हुन्छन्। समाजमा त्यस्ता व्यक्तिहरूको साँचो इज्जत हुँदैन, बरु उनीहरू हाँसो र घृणाका पात्र बन्छन्। साँचो सम्मान र इज्जत त प्रेम, सद्भाव र आपसी समझदारीबाट मात्र कमाइन्छ, घरेलु हिंसाबाट कदापि होइन। अस्तु।


19 February 2025

रातको पैसा

रातको पैसा

पार्टीको माहोल रंगिएको थियो, तर मेरो जिन्दगी झन् रंगीन भयो, जब एक अपरिचित महिलाले मेरो अगाडि उभिएर हल्का मुस्कानका साथ उनले भनिन्,“तपाईंलाई फेरि भेट्न पाउँदा कति खुसी लाग्यो! अघिल्लो शनिबार पोखरामा बिताएका ती मधुर क्षणहरू सम्झनुभएको छ?”

मेरो मन भित्र चसक्क भएको महसुस गरेँ। पोखरा? कहिले? किन? र कोसँग?

अनि पोखराको सरांगकोटमा हामी दुई जना बसेको बिर्सियो? रातभर मलाई सुत्न नदिएर! हल्ला गरेर!

मेरो टालु सुक्यो? टाउको भाउन्न भयो। मेरी श्रीमतीले गोलभेंडा जस्तो रातो आँखा पारेर आँखा तर्‍यो। 

"ह्याँ! तिमी पोखरा गएका थियौ? कहिले? 

त्यो महिलाले भनिन, अस्ति शनिबार। श्रीमती तिर हेर्दै, अनि उहाँ को नि? मैले त चिनिन नि!

मैले भनेँ, "चिन्न त मैले पनि तपाईंलाई चिनिन नि, उहाँ चैं मेरी अर्धाङ्गीनी। माफ गर्नु होला अस्ति शनिबार म पोखरा गएको छैन। म त मेरै श्रीमती संग घरमै थिएँ।"

अब त्यो महिलाले निधार खुम्च्याउँदै भनिन्, “ओहो! तर तपाईं जस्तै देखिने एक जना सज्जनले मलाई पैसा दिएर सहयोग गर्छु भन्नु भएको थियो, आजको भोजमा। मैले त उहाँ नै सम्झेर कुरा गर्न आएको। माफ गर्नुस है!”

श्रीमतीले गहिरो सास फेर्दै मेरो कानतिर झुकेर भनिन्, "धन्न बूढो! अस्तिको शनिबार पोखरा गाको भए तिमी त खत्तम हुने रैछौ, हगी?" अस्तु।

23 November 2024

बिर्सने बानी

दर्शन बुढा आज भान्साकोठाबाट उठेर आफ्नो कोठामा गएका थिए। तर उनी किन कोठामा गएका हुन् भन्ने कुरो सम्झनै सकेनन्। सामान लिन गएका हुन् कि अर्थोक नै कुनै काम? के सोच्दै गएका थिए कुन्नि? घरीघरी आफैंसँग प्रश्न गर्थे, तर उत्तर फेला पर्थेन। कोठामा केही बेर अनकनाएर उभिए। फेरि त्यहाँ केही भेटिएला कि भन्ने आशामा पल्लोबाट ओल्लो कोठामा गए। तर त्यो कोठामा पुगेपछि पनि उनले किन त्यहाँ गएका हुन् भन्ने कुरा सम्झन सकेनन्।

आफ्नो कमजोर स्मरणशक्तिबाट हैरान भएका दर्शन बुढाले अन्ततः "ए बुढी, सुन त!" भनेर बोलाए।
भान्साकोठाबाट हात पुछ्दै आएकी बुढीले सोधिन्, "हजूर, किन बोलाइस्या?"
दर्शन बुढाले टोपी फुकालेर निधार कन्याउँदै भने, "किन बोलाएको हो, मलाई नै थाहा छैन, हत्तेरिका!"
बुढी मुसुक्क हाँसिन्। "हजूर, सठिया लागेछ, यो बुढेसकाल हो। यस्तो त हुँदै जान्छ। चिन्ता नगर्नुस्। भुल्नु पनि जिन्दगीको एउटा भाग हो।"

छेउमै बसेकी नातिले यो दृश्य हेरिरहेको थियो। उसले हजुरआमाको कुरा सुनेर हाँस्दै भनिन्, "हजुरबुबाको बिर्सने बानी त कति रमाइलो लाग्छ, बाबै! तर अब हामीले हजुरलाई झर्किने होइन, सघाउनुपर्छ हैन र, हजूरआमा?"

दर्शन बुढाले हाँस्दै भने, "हो, यही त हो जिन्दगी। आखिर सारा कुरा सम्झिनै पर्ने कहाँ छ र! केही भुल्नु पनि राम्रो हो, नत्र जिन्दगी कति गाह्रो हुन्थ्यो।"

बुढेसकालमा सम्झने र बिर्सने बानी आउनु सामान्य कुरा हो। यस अवस्थामा छोराछोरीले र परिवारले झर्किने होइन, सहयोग गर्ने र बुढाबुढीलाई सहज वातावरण सिर्जना गरिदिनुपर्छ। समयले पुराना कुरा भुलाउने भए पनि माया र साथ कहिल्यै भुल्न हुँदैन। अस्तु।

#लघुकथा

14 September 2017

चौतारी

#चौतारी
हाकुचा: ए सत नाराण, ल भन् ट ! ट्यो आचार संहित्ता भनेक के हो?
सत्य नारायण: अरे बापरे ! तपाईंलाई तति पनि था छैन? अचार सन्हिता भ...
बाउचा: का ! अचार भनेक पनि ठा नपाको हाकुचा ! ठुईक्क !
___________________________

पृष्ठभुमि: #चौतारी को #चियापसल ।

भुसतिघ्रे: ए केटा हो ! आज जानू पर्छ है ?
मुन्द्रे: कता ? के छ ?
बाङ्ग्रे: कस्तो केटा रैछ ? आज जुलुस जाने होईन भन्या?
मुन्द्रे: कुन पार्टीको ?
भुसतिघ्रे: जुनसुकै पार्टीको भए पनि जाने होइन र ? हाम्लाई केको टन्टा पार्टी न सार्ती ?
बाङ्ग्रे: म त जाने हो खाने हो, पाए पिउने हो, अनि भुडी पल्टाएर फर्किने हो।
मुन्द्रे: ल ल म पनि जाने हो, खाने हो । बरु पैसा पो दिन्छन् कि दिन्नन?
बाङ्ग्रे: पाए त झन मज्जा नै भो नि ।
भुसतिघ्रे: ल साउजी आज बेलुकी तपाइको चियाको पैसा तिरिन्छ है ।
सबैले उधारो मै चिया रित्तै पारेर गए।