Grab the widget  Get Widgets

26 April 2026

पर्यटन: अनुभुती (Tourism as an experience)

“ए विनय दाइ ! घुम्न जाँदा के रमाइलो लाग्छ तपाईंलाई ?”

“रमाइलो त हुन्छ नि बाबु ! तर असली मज्जा कहाँ हुन्छ थाहा छ?”

हामी प्रायः सोच्छौं, घुम्न जानु भनेको फोटो खिच्नु, दायाँबायाँको दृश्य हेर्नु, अनि फर्केर आएर अरूलाई कथा सुनाउनु हो। तर साँचो कुरा के हो भने, तपाईं घुम्न जाँदा कथा सुन्ने मात्रै होइन क्या ! कथाको पात्र आफै बन्न जानु हो ।

“कथा बन्नु भनेको मतलब ?”
“हो नि, सोच्नुस् त। सरांगकोट पुगेर सूर्योदय हेर्नु मात्रै कथा हो र? बिहान बिहान सबेरै ४ बजे उठ्दा निद्राले आँखा नै खोल्न नसक्ने त्यो समय पनि त कथा होइन र ?”

घुमघामको असली मजा त्यहीँ हुन्छ जहाँ तपाईं आफै सहभागी हुनुहुन्छ। उकालो चढ्दा हाफ हाफ गर्नु, स्थानीयसँग गफ गर्न पाउनु, नयाँ खाना खाँदा “आम्म्मा यो के हो?” भनेर सोध्नु, यी सबै तपाईंको आफ्नै कथाका सीनहरु होइन र ?

“तर दाइ, हाम्रो त खासै केही हुँदैन जस्तो लाग्छ।”
“त्यही त मजा हो! एउटै ठाउँमा गएका साथीहरूलाई सोध्नुस् त !  पाँच जनाको पाँच फरक अनुभव हुन्छ।”

एकजना भन्छ, “प्रकृति स्वर्ग जस्तो थियो, आहा सुर्योदय ।”
अर्को भन्छ, “खाना चाहिँ बिर्सनै नसकिने, गज्जब ।”
तेस्रो चाहिँ सिधै भन्छ, “वाईफाई थिएन, दुःख पाइयो, बोर भयो नि !" 
चौथो भन्छ, "म उठ्दा त सुर्य नै गायब |"
पाँचौं भन्छ, "तोइट ! मलाई त खम्बा नै मस्त एडभेन्चर भयो यार |"

 

अब भन्नुस्, कथा भएन त?

नेपाल त झन् यस्तो देश हो जहाँ हरेक यात्रामा नयाँ कथा पाइन्छ। हिमाल, पहाड, तराई, संस्कृति, खाना, मानिस, सबैले तपाईंलाई कथाको पात्र बनाइदिन्छन्।

“अनि अब के गर्ने त?”
“सिधा कुरा, अब घुम्न जाँदा केवल हेर्ने मात्रै होइन, स्थानीय संग रमाउने, अनुभुति गर्ने, सिक्ने र प्राकृतिक जीवन शैलीमा बाँच्ने। फोटो मात्र होइन, अनुभव बटुल्ने।”

किनकि अन्त्यमा, साथीहरूलाई सुनाउने सबैभन्दा रमाइलो कथा भनेको तपाईंको आफ्नै हुन्छ।

“अनि दाइ, म पनि कथाको हिरो हो त?”
“पक्का हो नि  ! बस, अब यात्रा सुरु गर।” अस्तु |

14 March 2026

बाख्रा र घण्टी (Goat & the Bell)

मध्यरातमा आकाशभरि टल्किरहेका ताराहरू हेर्दै ऊ घरबाट निस्कियो। मनमा ठूलो योजना थियो, आज बजार पुगेर बाख्रा बेच्ने।

बिहानको घाम झुल्किन नपाउँदै गाउँको खेतको बाटोमा पुगेपछि उसले एउटा रुखमुनि बाख्रा बाँधेर अलिकति विश्राम गर्न बस्यो।
बाख्राको घाँटीमा झुन्डिएको घण्टी भने निकै सुन्दर थियो। बाख्रा जता हिँड्यो, घण्टी टनटन बज्थ्यो।
त्यही बेला बाटो हिँड्दै आएका एक जना मान्छेले वरिपरि हेरे। “बाख्रा छ भने मान्छे पनि कतै नजिकै होला नि,” भन्दै दायाँबायाँ नजर घुमाए। केही पर एउटा केटो झोक्राएर बसेको देखे।

“के भो बाबु? किन यस्तो उदास?” उनले सोधे।

केटोले लामो सास फेरेर भन्यो, “बाबै, यो बाख्राले मलाई ठूलो तनाब दियो।”

“किन र?”

“हेर्नुस् न, यो बाख्रा अलि हिँड्यो कि घण्टी टनटन बज्छ। घण्टी बज्नासाथ गाउँका मान्छेहरू दौडिँदै आउँछन्। सबै भन्छन् ‘आहा, कस्तो मिठो घण्टी बज्छ!’”

त्यो मान्छेले हाँस्दै सोध्यो, “अनि बाख्रा किन्न आएनन्?”

केटो झन् निराश हुँदै भन्यो, “त्यही त समस्या! सबैले घण्टी मात्रै किन्न चाहन्छन्, बाख्रा चाहिँ कसैलाई चाहिँदैन।”

त्यो सुनेर बाटो हिँड्ने मान्छे पनि हाँस्न थाल्यो। अनि मजाक गर्दै भन्यो, “बाबु, तिमी त बाख्रा बेच्न होइन, घण्टीको प्रचार गर्न निस्केको रहेछौ जस्तो छ।”

15 January 2026

माघे संक्रान्तिको शुभकामना

तरुल, सखरखण्ड,
तिलको लड्डू, घ्यू र चाकुको स्वाद,
माघे संक्रान्तिको सबैलाई आशीर्वाद! 
​मिठो खाऔं, स्वस्थ रहौं। 
माघे संक्रान्तिको धेरै धेरै शुभकामना!
                               - विनय शाक्य

14 January 2026

विश्व शान्तिको लागि पदयात्रा (Travel for World Peace)

अहिले अमेरिकामा केही बौद्ध भिक्षुहरु विश्व शान्तिको सन्देश बोकेर मौन पदयात्रामा निस्किएका छन्। यो यात्रा कुनै राजनीतिक आन्दोलन, प्रचार अभियान वा शक्ति प्रदर्शन होइन। यो करुणा, अहिंसा र आत्मचिन्तनको अभ्यास हो। उनीहरु विभिन्न राज्य र सहर हुँदै निरन्तर हिँडिरहेका छन्, तर न भाषण छन्, न नारा, न जुलुस। मौनतामै शान्तिको गहिरो सन्देश समेटिएको छ।

यस पदयात्राको अर्को विशेष पक्ष भनेको एउटा कुकुर आलोक पनि भिक्षुहरुसँगै संगसंगै हिँडिरहेको छ। आलोकलाई अहिले धेरैले “Peace Dog” भनेर चिन्ने गरेका छन्। उसले कुनै शब्द बोल्दैन, कुनै माग राख्दैन, तर उसको उपस्थितिले नै मानिसहरुको ध्यान तानिरहेको छ। भिक्षुहरु र आलोकबीचको आत्मीय सम्बन्धले मानव र प्रकृतिबीचको सहअस्तित्व र करुणाको सन्देशलाई अझ जीवन्त बनाएको छ।

आजको विश्व युद्ध, हिंसा, घृणा र विभाजनले ग्रस्त छ। यस्तो समयमा बौद्ध भिक्षुहरुको यो मौन पदयात्राले फरक किसिमको चेतना फैलाइरहेको छ। उनीहरुको विश्वास छ कि शान्ति बाहिर खोज्नु अघि मनभित्र स्थापित हुनुपर्छ। मौन हिँडाइले मानिसलाई रोकिएर सोच्न बाध्य बनाउँछ। शब्दविनाको सन्देशले आत्मपरीक्षणको ढोका खोल्छ।

यो अभियानले स्पष्ट रुपमा देखाएको छ कि क्रान्ति सधैं आवाज र भीडबाट मात्र हुँदैन। कहिलेकाहीँ मौनता नै सबैभन्दा शक्तिशाली माध्यम हुन्छ। बिना भाषण पनि सन्देश पुग्न सक्छ। बिना नारा पनि परिवर्तन सम्भव छ। भिक्षुहरुको अनुशासित जीवन र आलोक “Peace Dog” को सरल साथले शान्ति एउटा अभ्यास हो भन्ने सन्देश दिइरहेको छ।

अमेरिकाजस्तो व्यस्त समाजमा यो शान्त पदयात्राले धेरै मानिसलाई छोएको छ। यो अभियान नेपाली जनसमुदायका लागि पनि प्रेरणादायी छ। शान्ति साना व्यवहार, मौनता र करुणाबाट सुरु हुन्छ भन्ने कुरा यस पदयात्राले विश्वसामु राखेको छ। अस्तु।

विश्व शान्तिको लागि पदयात्रा

अहिले अमेरिकामा केही बौद्ध भिक्षुहरु विश्व शान्तिको सन्देश बोकेर मौन पदयात्रामा निस्किएका छन्। यो यात्रा कुनै राजनीतिक आन्दोलन, प्रचार अभियान वा शक्ति प्रदर्शन होइन। यो करुणा, अहिंसा र आत्मचिन्तनको अभ्यास हो। उनीहरु विभिन्न राज्य र सहर हुँदै निरन्तर हिँडिरहेका छन्, तर न भाषण छन्, न नारा, न जुलुस। मौनतामै शान्तिको गहिरो सन्देश समेटिएको छ।

२६ अक्टोबर २०२५ मा टेक्सासबाट सुरु भएको यस पदयात्राको अर्को विशेष पक्ष भनेको एउटा कुकुर "आलोक" पनि भिक्षुहरुसँगै संगसंगै हिँडिरहेको छ। आलोकलाई अहिले धेरैले “Peace Dog” भनेर चिन्ने गरेका छन्। उसले कुनै शब्द बोल्दैन, कुनै माग राख्दैन, तर उसको उपस्थितिले नै मानिसहरुको ध्यान तानिरहेको छ। भिक्षुहरु र आलोकबीचको आत्मीय सम्बन्धले मानव र प्राणी तथा प्रकृतिबीचको सहअस्तित्व र करुणाको सन्देशलाई अझ जीवन्त बनाएको छ।
PC: #WalkforPeace 
आजको विश्व युद्ध, हिंसा, घृणा र जातपात, धर्म संस्कृति, उंच निच, धनी, गरीब, रंग भेद आदिको विभाजनले ग्रस्त छ। यस्तो समयमा बौद्ध भिक्षुहरुको यो मौन पदयात्राले फरक किसिमको चेतना फैलाइरहेको छ। उनीहरुको विश्वास छ कि "शान्ति" बाहिर खोज्नु अघि मनभित्र स्थापित हुनुपर्छ। मौन हिँडाइले मानिसलाई एकपटक रोकिएर सोच्न बाध्य बनाउँछ। शब्दविना पनि सन्देश दिन मिल्छ भन्ने यो अभियान गज्जबको छ।

यो अभियानले स्पष्ट रुपमा देखाएको छ कि क्रान्ति सधैं आवाज र भीडबाट मात्र हुँदैन। कहिलेकाहीँ मौनता नै सबैभन्दा शक्तिशाली माध्यम हुन्छ। बिना भाषण पनि सन्देश पुग्न सक्छ। बिना नारा पनि परिवर्तन सम्भव छ। भिक्षुहरुको अनुशासित जीवन र आलोक “Peace Dog” को सरल साथले शान्ति एउटा अभ्यास हो भन्ने सन्देश दिइरहेको छ।

अमेरिकाजस्तो व्यस्त समाजमा यो शान्त पदयात्राले धेरै मानिसलाई मन भित्र सम्म छोएको छ। यो अभियान विश्वका सम्पूर्ण बौद्ध लगायत नेपाली जनसमुदायका लागि पनि प्रेरणादायी छ। शान्ति साना व्यवहार, मौनता र करुणाबाट सुरु हुन्छ भन्ने कुरा यस पदयात्राले विश्वसामु राखेको छ। अस्तु।