घर बिदा
एका बिहानै घाम नउदाउँदै तोरीलाउरेज्यू हतारिँदै कार्यालयतिर जान लागेका थिए। झोलामा टिफिन, हातमा फाईल, तर मुहारमा उदासी। कारण? श्रीमतीले बिहानै “तिम्रो त सम्पुर्ण जीवन नै अपिस हो कर, घर कहिल्यै सम्झदैनौ!” भन्दै बकबक सुरु गरिन। यो कुरो कोहि न कोहिलाई भनुम भनेर सोच्दै गर्दा ग्वांग्रे ठ्याक्कै अगाडि भेतियो र ग्वांग्रेलाई सुनाए।
कार्यालय आइपुग्दा सबै कर्मचारी सामान्य भए पनि तोरीलाउरेको अनुहारमा भने न्यास्रोपन देखिन्थ्यो। कालो चिया मगाउँदै उनले भने, “ग्वांग्रेदाइ, म त अब दुई दिनको बिदा लिन्छु, होला। श्रीमतीसँग ‘संवाद’ गर्नु पर्ने भयो!”
त्यसपछि उनले जीवनकै सबैभन्दा ऐतिहासिक निवेदन लेख्न थाले, जुन निवेदन पत्र भन्दा बढी ‘परिवारिक शान्ति सम्झौता’ जस्तो देखिन्थ्यो। निवेदन यस्तो थियो:
सिरिमान परमुख ज्यू,
बिषय: बिदा बारे।
महोदय,
प्रेमपूर्वक यो निवेदन पेस गर्न चाहन्छु कि धेरैजसो कर्मचारीज्यूहरू श्रीमतीसँग 'कचकच' भोग्दै गरेको खबरले मेरो मन पनि तरंगित भएको थियो। हुन त मेरी सिरिमतीजी कच कच मन पराउंदिनन्, तर म पनि आखिर पति नामको प्राणी नै परेँ। आज बिहान सखारै मेरो प्राण प्यारीले झगडाको संकेत गरेकी छिन्, मैले सिरिमतीजीलाई समय दिएनन् भनेर। तसर्थ म वैवाहिक संवादको विशेष मिशनका लागि २ दिनको बिदा लिन चाहन्छु। तदनुसार यो निबेदन प्रस्तुत गरेको छु।
मेरो बिदाको विवरण:
पहिलो दिन— “पत्नी पीडित साथीहरूसँग छलफल गर्ने र आफ्नो श्रीमती संग संबादको लागि रणनीति बनाउने”,
दोश्रो दिन— “श्रीमतीसँग सीधा वाक युद्ध र मुठभेड गर्ने।”
यदि उक्त अभियानमा श्रीमतीको भावना बिग्रेर तनावग्रस्त भएको अवस्थामा र तडप झडप भएको अवस्थामा, पानीको बोतल, डाडु, पन्यु, बेलन, तरकारी किन्न जाने झोलाले मेरो टाउकोमा प्रहार भएमा सामान्य क्षति हुन सक्ने संभावना देखिन्छ। तसर्थ, तेश्रो दिन कथंकदाचित म कार्यालय उपस्थित हुन नसकेमा, कृपया १ किलो स्याउ र १ दर्जन केरा लिएर मलाई घरमै स्वास्थ्य अवलोकन गर्न आउनु होला। चिया चमेना आफै लिएर आउनु होला र मेरी श्रीमतीलाई पनि खिलाउनु होला।
हजुरकै आज्ञाकारी,
तोरीलाउरे
(हाल 'पत्नी पीडित समूह' को सक्रिय सदस्य)
निवेदन पढेपछि प्रमुखज्यूको हांसो रोकिएन। अनि जवाफ लिखेर दिनु भयो।
"ल ठीक छ, तपाईंको दुई दिन बिदा स्वीकृत भयो। तर तेश्रो दिन त फलफूल लिएर आउन नपरोस्।"
तोरीलाउरे नम्र मुस्कान दिँदै फिस्स हाँसे—
"शायद त्यो दिन स्ट्रेेेचरमा मलाई अस्पताल लैजानुपर्ने दिन होला कि सर!"
निवेदन स्वीकृत भए पछि, तोरीलाउरेज्यू दुई दिन घर बिदामा बसे।
कार्यक्रम अनुसार पहिलो दिन पत्नी पीडित साथीहरू संग छलफल भयो र रणनीति तयार भयो। साथी घाईते भएको अवस्थामा जुन अस्पताल नजीक छ, त्यतै लैजाने निर्णय गरियो। भाउजुलाई कस्ले सम्झाउन जाने? भनेर हिम्मत गर्ने साथीलाई सुरक्षा कवचको ब्यबस्था समेत गर्नु पर्ने र बिमा गर्ने निर्णय भयो।
भोलि पल्ट बिहान देखि तोरीलाउरेले कचकच सुरु गर्यो। तर तोरीलाउरेको श्रीमतीले कचकच सुन्नै मानेन, तोरीको कुरा कस्ले पो वास्ता गर्ला भनेर बाल मतलब नै गरेन। तोरीले भयंकर कोशिश गर्यो। तर श्रीमतीजी को मिठासपूर्ण हांसोले कचकच नै भएन।
तेश्रो दिन उनी स्वस्थ र श्रीमतीले बनाएको अचार लिएर कार्यालय गए।
सन्देश:
“कहिलेकाहीँ श्रीमतीसँग कचकच गर्न खोज्दा पनि श्रीमती शान्त रह्यो भने घरमा शान्ति आउंंछ। यो कुरो पतिलाई पनि लागु हुन्छ।"
No comments:
Post a Comment