Grab the widget  Get Widgets

Wednesday 21 June 2017

ब्लग (BLOG)


ब्लग के हो ? किन चाहिन्छ ? कसले लेख्छ ? कसले पढ्छ ? के फाइदा हुन्छ ? कसलाई चाहिन्छ? भन्ने खुल्दुली लागेकोले यस बारे अध्ययन गर्ने र जानेको कुरा अरुलाई पनि जानकारी गराउने आशयले यो लेख लेख्ने जमर्को गरेको छु | 

ब्लग के हो ?

हिजोका दिनमा “बोल्नेको पीठो बिक्छ” भनेझै आजको दिनमा र भोलिको दिनमा पनि उत्तिकै महत्व बोकेको जीवनको एउटा पाटो हो “ब्लग” | कतिपय अवस्थामा मेरो कुरा कसले सुन्छ र ? कसलाई भन्ने खै ? भनेर ठुसुक्क कुनामा बस्ने भन्दा मनमा लागेको कुरा खुरुखुरु लेख्नु भयो भने एउटा कथा तयार हुन्छ | अब तयार भएको कथा वा कुरा कसलाई सुनाउने ? भन्ने मनमा लागेको छ भने पनि पीर नमान्नुस् है | यसैको लागि बनेको छ एउटा चौतारी “ब्लग” |

किन चाहिन्छ ?

उहिले उहिले आफूलाई परेको घरायसी पीर मर्का मात्र होइन आफुले कुनै नया चीज बस्तु सेवा प्रयोगमा ल्याएको छ भने चौतारीमा जम्मा भएको साथीभाईहरुलाई सुनाउन जाने र छलफल गर्ने प्रचलन रहेको हामीलाई जानकारी नै छ | त्यो नै अहिलेको बिकसित रुप हो ब्लग | यस्तै चिज बस्तुहरुको साथै सेवा सुरक्षाको जानकारी गराउन चाहिने थलो हो “ब्लग”| फरक यत्ति मात्रै हो कि, यसलाई अहिलेको युगमा ब्यबसायकै रुपमै प्रयोग गर्न थालिएको छ|

ब्यबसायिक ब्लगले आफ्नो ब्यबसायको प्रचार प्रसार र इन्टरनेटको जालोमा सहज पहुँच पुर्र्याउन मद्दत गर्छ| हामीले ब्यबसायको प्रचार प्रसार गर्न बनाउने “वेबसाइट”मा भएका सामग्रीहरुको प्रचार प्रसार नगर्ने हो भने त्यो सेवा र सामाग्री किन्ने खरीदारहरु नआउन सक्छ| “वेबसाइट” पसल थापेर मात्र सामान बिक्रि हुदैन| यो पसलमा, यो सामान पाइन्छ, त्यो सामना पाइन्छ, यति सस्तो वा मुल्यमा पाइन्छ भनेर बोल्नै पर्छ| त्यसको लागि हल्ला गर्नु पर्छ| हल्ला गर्न अनेक उपाय अपनाउने गर्छन ब्यबसायीहरु| कुशल ब्यबसायीहरुले यो ब्लगको मजाले फाइदा उठाउने गर्छन| गुगलको सर्च इन्जिनमा छिट्टो आउन पनि ब्लगले निक्कै मद्दत गर्छ| कम पैसामा धेरै प्रचार प्रसार गर्न ब्लगको प्रयोग गर्नु उपयुक्त हुन्छ| ब्लग लेख्दा नया कन्टेन्ट हुने हुँदा ब्लगले गूगल लगायतका सर्च इन्जिनहरुमा राम्रो स्थान पाउँछ | गूगलले संधै नया र मौलिक सामाग्रीको खोजि गर्ने हुँदा ब्लगमा आफ्नो ब्यबसायिक वेबसाइटको लिंक राख्नु पनि राम्रो हुन्छ | यसले सर्च इन्जिन खोजिमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ | नेपालको सन्दर्भमा हेर्ने हो भने कयौं ब्यबसायीहरुले वेबसाइट बनाएको बर्सौं सम्म पनि अपडेट गर्ने गरेका छैनन्, न त प्रचार प्रसार गर्नु पर्छ भन्ने कुरामा नै ध्यान दिएका हुन्छन् | थोरै ब्यबसायिक घरानाहरुले भने कुस्त रकम खर्चेर वेब प्रमोसन गरेका छन् | जून राम्रो हो र गूगल लगायतका  सर्चमा पर्छन | तर धेरै रकम खर्च गर्न नचाहनेहरुले भने यो ब्लगको सहयोग लिन सक्छन |

कसले लेख्छ ?

ब्लग ब्यबसायिक रुपमा लेख्ने व्यक्तिलाई “ब्लगर” भनिन्छ| त्यसो भन्दैमा “ब्लगर” पत्रकार भने होइन| तर पत्रकार जस्तै लेख, रचना र समाचारहरु लेखेर संसार नै तरंगित पनि गर्न सक्छन ब्लगरले| पर्यटन ब्यबसायमा ब्लगरको सकारात्मक एबम नकारात्मक दुवै भूमिका रहन्छ| साना साना ब्यबसाय गर्नेहरुले ठुल्ठुला बिज्ञापन गर्न ठुलै रकम खर्चिन सक्दैनन् तर यस्ता ब्यबसायलाई भने ब्लगरहरुले प्रचार प्रसारमा प्रत्यक्ष सहयोग गर्न सक्छन |

जीबन संग नजीकबाट अनुभब गरेका कुराहरुलाई समाजमा उजागर गर्न लेख, रचना, कथाहरु लेख्छन ब्लगरहरु| समाजबाट प्रभावित भएर आफुले प्रत्यक्ष देखेका, भोगेका र अनुभब गरेका वास्तविक कुराहरु तत्काल समाजकै अन्य सदस्यहरुलाई सुसुचित गर्ने काम ब्लगरले गर्छ| यसरी लेखिने कहानीहरुलाई “ब्लगिंग” भनिन्छ| यो सकारात्मक र नकारात्मक दुवै हुन सक्छ| सेवा प्रदायकहरुले गर्ने सेवा राम्रो भए सकारात्मक र  नराम्रो भए नकारात्मक लेख रचना लेखिने हुँदा यसमा संयमित हुन पनि जरुरी छ| नकारात्मक कुराहरु चाडै नै भाइरल हुने हुँदा ब्लग लेख्ने ब्लगरले सनसनीपूर्ण समाचारहरुको नापतौल गरेर मात्र प्रसारण गर्नु पर्छ र गर्छन पनि|

केहि लेख्ने सूर भएका, धैर्य भएका, जो कोहिले पनि ब्लग लेख्न सक्छन| तर लगन भने चाहिन्छ नै| यो निरन्तर प्रक्रिया हो | निरन्तरता रहेन भने ब्लगको पाठकहरु पनि घट्दै जान्छ र अन्तत: प्रभाब पनि घट्दै जान्छ| मानिसहरु लेख रचनामा बिस्वास गर्छन| फलानो ठाउँमा पढेको, देखेको भनेर उल्लेख गर्छन| त्यसैले ब्लग एउटा सुद्द विश्वास दिलाउने थलो पनि हो| ब्लगरले सत्य तथ्य कुराहरुलाई मात्रै प्राथमिकता दिएर लेख्ने गर्नाले नै ब्लगको विश्वास बढेको हो|

कसले पढ्छ ?

फेसबुक, ट्वीटर, लिंक्डइन जस्ता सामाजिक संजालमा ब्लगको लिंक पठाउने चलन रहेकोले ब्लगको पाठक संसारभर नै भेटिन्छ| समाजमा भएका दैनिक समाचार पत्रको नजरमा नपरेका घटना, दुर्घटना, कथा, ब्यथा, रितिरिवाज, परम्परा, संस्कृतिहरु ब्लगरको नजरमा पुग्छन| हरेक पाठकले नौलो कुराको खोजि गरिरहेकै हुन्छ| तपाईले पनि केहि नौलो कुरा भेटिन्छ कि भनेर यो लेख पढ्दै हुनुहुन्छ नि होइन र ? तपाई हामी जस्तै नौलो रचनाको खोजि गरेर पढ्ने पाठक नै ब्लगको पाठक हो| त्यसैले ब्लगमा तपाई हामीले पाठकको रोजाई अनुसारकै लेख रचनाहरु आकर्षक रुपमा प्रस्तुत गरेर आफ्नो ब्यबसायको पनि प्रचार प्रसार गर्न सक्छौं |

के फाइदा हुन्छ ?

ब्यबसायिक ब्लगरको पाठकको रुची बढ्दै गयो भने गूगल बिज्ञापनको फाइदा लिन सकिन्छ| साथै स्थानीय बिज्ञापन पाउने सम्भावना हुन्छ| तर ब्लग लेख्दा गूगलले मान्यता दिएको कुनै एउटा भाषामा मात्रै लेख्नु पर्छ| स्थानीय भाषामा लेख्ने भए आफैले प्रायोजक खोज्नु उपयुक्त हुन्छ |

आफ्नो ब्यबसायको मात्रै प्रचार प्रसार गर्न पनि ब्लग प्रयोग गर्न सकिन्छ| आफ्नो ब्यबसायलाई गूगल इन्जिनको सर्च इन्जिनमा परि रहोस भन्ने उदेश्यले लेख्ने र लेखाउने प्रचलन पनि पाइन्छ| जसको वेबसाइट छैन र बजेट पनि छैन त्यस्तो ब्यबसायी वा व्यक्तिले पनि ब्लग सुरु गर्न सक्छन| यसको लागि सित्तैमा ब्लग लेख्न सकिने वेबसाइटहरु पाइन्छन् |

कसलाई चाहिन्छ ?

ब्यबसायीहरुले वेबसाइटमा राखेको सेवा, सुबिधा, सामाग्रीहरुको बारेमा प्रचुर मात्रामा सूचना प्रबाह गर्न सकेन भने खरिदारहरुको अभाब हुन सक्छ| यसलाई निरन्तर रुपमा पाठक र खरिदारको निगाहमा पुर्र्याउन, सु-सुचित गर्न, अपडेट गर्न नै ब्लगको आवश्यक रहन्छ| वेबसाइट बनाउन बजेट नहुनेहरुले समेत यो ब्लगको फाइदा लिन सक्छन| आफ्नो सेवा सुबिधा र सामानको बारेमा प्रचार प्रसार गर्न खास्साको स्थल हो यो ब्लग | ब्यबसाय संग निरन्तर अन्तर्क्रिया गर्न गराउन पनि ब्लगले महत्वपूर्ण भूमिका निर्बाह गर्छ| पाठकको प्रतिक्रियाहरुको नियमित अध्ययनले आफ्नो सेवा सुबिधाको सुधार गर्न पनि ब्लग चाहिन्छ| आफ्नो कमि कमजोरीहरुको सुधार गर्न चाहने जो कोहिलाई यो सेवा चाहिन्छ र उपयोग गर्न सक्छन| फ्रेस कन्टेन्ट लेख्ने र लेखाउनेहरुको लागि ब्लग अत्यन्त महत्वपूर्ण र उपयोगी औजार हो|


अन्तमा, तपाइले पनि ब्लग सुरु गर्ने होइन ? मेरो पनि शुभकामना छ |  धन्यवाद | अस्तु |

विनय शाक्य 
ब्लगर, ट्राभल कन्सल्ट्यांन्ट, त्रिपिटक होलिडेज प्रा.लि.

Vinaya Shakya
Blogger, Travel Consultant