Grab the widget  Get Widgets

Saturday 17 April 2021

ब्रेकफास्ट

यो पर्यटनको दुनियाँमा बिहान बिहान खानेकुरालाई "ब्रेकफास्ट" भन्ने रेछ नि त गाँठे! हाम्ले त घर तिर गेडागुडीलाई भुटेर साटु बनाएर खाने गर्थेम। अनि त्यही साटुलाई कैले काहीं पानी हालेर घोलेर पिउने पनि गर्थेम। क्यानम, कैले काहीं घ्यू टन्न राखेर हलुवा बनाएर पनि खान्थेम। कैले लिटो बनाएर पनि खान्थेम। अनि खाजा भन्थेम।

तिम्रो त त्यो पीठोको कुरोथ्यो। आनी हाम्रो कुरो सुन! हाम्राँ त आलु चट्ट पोलेर घ्यू चट्ट हालेर ग्वाम ग्वाम खाइन्थ्यो। उस्तै परे उसिनेर, बोक्रा सोक्रा खोलेर, पच्याक पुचुक पारेर, धुलो पीठो हुने गरी मजाले मोलेर आलुको ढींडो पनि खाइन्थ्यो है!

एक दिन एउटा खैरे संग रेस्ट्राँमा गाको त त्यै ढींडोलाई म्यास्स पोट्याटो भन्दिरा भन्याँ। अनि ब्रेकफास्ट रे। कति पनि फास्ट थिएन हउ! त्यति जाबो आलु पच्याक पुचुक पार्न पनि धेरै नै ट्याम लाथ्यो। अनि के को फास्ट भन्नु नि बरु "ब्रेक ला" भनेको भे हुन्थ्यो।


तिमीहरूको भन्दा त मेरो ब्रेकफास्ट त झन रमाइलो छ बाबै! एक एकदिन मैले पनि खैरे त होइन, मंगोलियन पर्यटकहरु संग ब्रेकफास्ट खाने निम्तो मान्न गाथें। 

जिन्दगीमा पैला पटक ब्रेकफास्ट खाने भनेर बिहान सबेरै उठेर ठमेलको एउटा रेस्टुराँमा गएं है । त्यस्का बाजे ! ब्रेकफास्ट टेबुलमा त थाल भरी गोलभेडा नै गोलभेडा यार! त्यत्रो गोलभेडा त हाम्ले भ्याटल अचार बनाउंदा मात्रै लिन्थ्यौं। निस्तै त खान्नथेम। त्यो मोराहरुले त ग्वाम कि ग्वाम खाइ दियो, मरिच र नुन हालेर! खान नपाएकाहरुले खाए जस्तो, अनि मीठो मानी मानी खायो। राम राम! आफ्नो त आँखा रसायो, बारीस नै भयो नि गांठे! यस्तो पो "ब्रेकफास्ट" जिन्दगीमा नबिर्सने ब्रेकफास्ट

तै तै मकैलाई कर्न फ्लेक भन्दा रेछ्न, गहुँको च्युरालाई पोरिज रे, जौको चुरालाई ओट्स रे अनि खाजालाई ब्रेकफास्ट रे। अस्तु!

जिन्दगी

ओहो ! तिमी त कति सुखी छौ अनि खुशी पनि। कहिले कता? कहिले कता घुमेरै मस्त! घुमन्ते!

हो नि त! अब हेर, म आफैमा भुल्ने मान्छे परें। अनि अरुले के गर्‍यो? कसो गर्‍यो? कति कमायो? कति गुमायो? कति मस्ति गर्‍यो? कति मोज गर्‍यो? कस्को श्रीमती संग कस्को चक्कर चल्यो? कस्को श्रीमान संग कस्को के भयो? कति शेयर उथल पुथल भयो? सुनको भाउ कता पुग्यो? डलरको भाउ कता पुग्यो? उसले कति वटा घर बनायो? कति कुम्ल्यायो? उसको दोश्रो श्रीमती कुन बिल्डिङमा राखेको छ? उसले कति महंगो ब्याजमा पैसा लिन्छ अनि कति पैसा खाएर भाग्छ? उसले कुन मन्त्रीको चाकडी गरेर कुन काम फुत्कायो? कुन चैं ठेकेदार संग सांठगांठ गरेर त्यो नयाँ गाडी किन्यो? कस्लाई मुद्दा हालेर कति दुःख दियो? 

यस्ता वाहियात कुरा मलाई मन पनि पर्दैन, वास्ता पनि छैन। बिहान बेलुकी दुई छाक टरेको छ। घुमघाम भएकै छ। बस जिन्दगी चलिरा छ। एक सफरमा हिंडेको मान्छे जस्तै हिंडेको छु। गन्तव्य तिर लम्केरै गएको छु। तिम्रो जस्तो ठूलो कारोबार पनि छैन, टेन्सन पनि छैन, राती सुत्ने बेलामा निन्द्रा लाग्दैन भनेर स्लीपिङ ट्याब्लेट खानु परेको छैन, प्रेसर बड्यो भनेर अस्पताल गैराख्नु पर्दैन, मुटु हल्लिएको छैन, मृगौलाले काम गरेकै छ, फोक्सोले काम दिएकै छ, पेटले खाना मागेको बेलामा भोक मेटाएकै छु। इन्सुलिन बोकेर हिंड्नु परेको छैन। बस, यस्तै छ घुमन्ते जिन्दगी। अस्तु!

Thursday 8 April 2021

खोपको लाईन!

कोरोनाको खोप लगाउने भनेर बिहान देखि चुर फुर गर्दै गंगालाल अस्पताल बांसबारीमा ढुक्कसँग गएं। चहल पहल नदेख्दा आज देखि हो कि भोलि पर्सि देखि हो भनेर फेरि एकपल्ट फेसबुक पल्टाएर हेरें। अस्पतालको नाम त छ। हिजो देखिनै हो रेछ त!

अस्पतालमा तयारी पनि छ। ठाउँ ठाउँमा संकेत चिन्ह पनि छ। आज खाली रहेछ। ठिक्क समयमा आइएछ। हुल मुल पनि छैन, आरामले खोप पाइने भयो भनेर दंग पर्दै संकेत अनुसार अस्पतालको कोठामा हेर्दा त छक्क पो पर्न पर्‍यो। खोप लगाइदिने स्टाफ र स्वयंसेवक सेवकहरु भने कोहि छैनन्। न त खोप लगाउन आउनेहरुको लाइन छ। सुनसान, चकमन्न छ। सुरक्षा गार्ड खोज्दै हिंडें। 

अनि कोहि नभेटिए पछि, आर्को कोठामा रिसेप्सन रहेछ, त्यतै गएर सोधेको त अस्पतालमा खबर नै छैन रे। रिसेप्सनिष्टले " हाम्ले पनि लाएको छैन, हाम्लाई खबर पनि छैन।" भन्दिरा !

अब, आज त लाउने नै हो भनेर फेरि त्रि. बि. शिक्षण अस्पताल दौडेर पुगें। यतिबेला १२:४५ बजि सकेको थियो। आम्मामा मोटरसाइकल र गाडीको लाइन कति हो कति? पार्किङ नपाएर दिमाग खराब!

होइन ए पाले दाजु! आज त के हो? पार्किङ गर्न ठाउँ नै छैन? 

के हुनु नि हजुर! त्यो कोरोना कि सोरोनाको खोप लाउनेहरुको भिड पनि थपियो नि। संधै भन्दा यो खोप लाउने दिनमा त झन भिड हुन्छ। उ त्याँ निर खाली हुन लाइरा छ, त्यतै घुसाइ दिनुस।

पार्किङ गरे पछि, फटाफट कोरोनाको ब्यानर खोज्दै डौदेर गएको त लाइन त आम्मामा खत्रा लामो रहेछ। पाले दाईलाई सोध्ने बाहेक सोधपुछ गर्ने थलो भेटिएन। अनि पाले दाई नै सर्बेसर्बा जस्तो देखिएकोले, पाले दाइ! यो लाइनमा बस्नेहरुले आज खोप लाउन पाउंछ? भनेर सोध्दा, बिहान १० देखि ४ बजे सम्म लेखेको ब्यानरमा आँखा पर्‍यो। अनि खुरुक्क लाइनमा बस्न गएँ। 
नाम लेखाउन पाए पछि खोप पाइन्छ भनेर पाले दाइले आश्वासन पनि दियो। यतिबेला, लाइनमा म अन्तिम मनुवा थिएँ। दिउँसोको एक बजेको टन्टलापुर घामलाई छलेर छायाँ खोज्दै लामबद्द भएर बसें। सबैजना मास्क लगाएता पनि, लाइनमा भने ठेलमठेल गर्नै पर्ने हाम्रो बानी त्यता पनि थियो। एकछिन पछि मेरा पछिल्तिर पनि जनताहरु लामबद्द हुँदै गयो।

पाले दाई फटाफट आएर मेरा पछिल्तिरको मान्छेलाई अब तपाईंको पछाडी मान्छेहरु नराख्नुस है भनेर सुचना दियो। त्यही बिचमा एक जना अनुहार भद्र देखिने मान्छे साथीहरूको बीचमा घुसेर लाइन मिच्यो। पहिला त सबै जना चुपचाप नै थियो। तर जब पालेदाइको सुचना कानमा पर्‍यो, अनि बिचमा घुस्नेहरुको खोजि सुरु भयो।

साथीहरूको बिचमा घुस्ने भद्रले पहिला खाना खान गएथें भनेर झुठो बोल्यो, बिचराले घडि हेर्न बिर्सेछ, २:३० बजिसकेको बिर्सेछ। अनि खाना र खाजा मै कन्फ्युज भाको भद्रले सरी मैले गल्ती गरें म मर्छु बरु! तर आज खोप लाउन्न भनेर लाईनबाट बाहिरियो।

आफुले लाउन नपाउने भएपछि, त्यो भद्र देखिने ले अभद्र व्यबहार देखाइ हाल्यो। यो चाइनिज खोप, त्यति गतिलो चैं हैन भन्छ, हिजो अस्ति लाको मान्छेहरु पनि गतिलो चैं भाको छैन। आज तपाईंहरुले लाउनुस, तपाइँहरुलाई केही भएन भने भोलि पर्सि म नि लाउंला भनेर फ्याट्ट कालो बोली बोलेर गयो।

कस्तो मुर्दार रेछ! आफुले लाउन नपाउने भयो भन्दैमा त्यसरी भन्न मिल्छ? त्यो त बांदर नै रेछ। हो त्यो त कुलंघार नै रेछ। हो नि कस्तो गधा रेछ। त्यो त मूर्ख नै रेछ। 

बिचरा! आज लाइन बस्न नपाउंदा त यस्तो छ, भोलि खोप नै पाएन भने त बौलाहा नै हुन्छ होला। अनि सरकारलाई गाली गर्ने।

अब हाम्रो पालो आउला भनेको त एउटी नर्सले एक मुठ्ठा पासपोर्ट र आइडी कार्ड लिएर आएर त्यो लाइनमा बस्नेहरुलाई कुराएर आफ्नो मान्छेहरुको नाम धमाधम घुसाएछ। अगाडि पुगेको मान्छे त्वाँ ...! 

एकछिन पछि त आजको कोटा सकियो! भोलि आउनुस भनेर हाम्रो पालो मिच्दियो। ए बा! अनि अस्पतालमा पनि चिनेको मान्छे चाहिने रेछ। कुन चैं पार्टीको मान्छे भयो भने जे गरे नि हुने रहेछ भन्ने लाग्यो। हामी जनता चाहिँ दुई तीन घण्टा लाइन बसे पनि कोटा सकियो भनेर घर पठाइ दिने? अनि चिनजानका आएमा, भै हाल्छ नि हजूर भनेर चाकडी गर्ने चलन, कैले जाला?

हाम्रो समय खेर जांदाको क्षतिपूर्ति कस्ले तिर्छ? सरकार! भनेर भनुम भने यो देशमा सरकार नै छ कि छैन? भनेर खोज्न जान पर्ने भयो। हामी कहिले नागरिक बन्ने? जुनसुकै सरकार आए पनि हामी रैतिको रैति। जवाफको खोजीमा ! त्यो नर्सले मनोमानी गर्दा आज हाम्ले खोप लाउन पाएनौं! तलमाथि भयो भने जिम्मेवार को? गैर जिम्मेवारीको पनि हद हुन्छ नि! अस्तु!


Wednesday 7 April 2021

चुम्बन

सरासर अगाडि आएर ओहो सर! मु...हा !मु...हा! कत्ति भो हजुरलाई नभेटेको हगि? भन्दै झ्याप्प चुम्बन गरि। बैँस गैसकेको दांत फुक्लिसकेको चाउरी परेको बृद्ध अकमक्क परेर बस्नु भयो। 

नानी! तिमिले मलाई के भनेर के गरेको? यस्तो उमेरमा! धन्न मेरी श्रीमतीले देखिनन। नत्र! मेरो जात्रा नै देख्थ्यौ। 

सर! म्याडमले देखे पनि दंग नै पर्नु हुन्थ्यो। जति सुकै उमेर भए पनि सर कत्तिको रोमान्टिक हुनु हुंदो रहेछ भनेर! दांत फुक्लेको अवस्थामा त यति ह्यान्डसम हुनु हुन्छ। उ बेला कति ह्यान्ड्सम हुनुहुन्थ्यो होला? म्याडम कति भाग्यमानी! हाम्ले सरलाई भेट्दा पनि हाम्लाई कस्तो ईर्ष्या लाग्थ्यो तर त्यो बेला सर स्ट्रीक्ट हुनु भएर पो! क्लासमा पनि सरलाई नै हेर्न मात्रै आउंथ्यौं त्यसैले पढाई गोल भनेर हजुर संग फेरि फेरि पढन आउन पाउंथ्यौं त! बिर्सनु भयो?

हैन ए नानी! म त कैले पनि कलेजमा गएको छैन, मेरो एउटा पसल मात्रै छ। त्यै पसलमा बसेर मेरो जवानी गयो, बाल बच्चाहरु हुर्काएं।अनि तिमिलाई मैले यो जुनीमा कैले भेटेको पनि छैन। तै तै तिमिले को भनेर चुम्बन गरेको हो अब फिर्ता गर। म चाहिँ तिमिले सोचेको सर होइन है। मेरो यो चाउरी परेको गाला त्यस्सै जुठो पार्‍यौ। लौ तुरुन्तै फिर्ता गर। मलाई आर्काको चुम्बन चाहिएन।

आम्मा! हजुर मेरो सर होइन? सांच्चै कस्तो अनुहार मिलेको, उस्तै, उस्तै छ त! सरी बाजे! माफ पाउँ है! अब मैले हजुरलाई कसरी चुम्बन फिर्ता गर्ने त? 

जसरी अघि तिमिले चुम्बन गरेथ्यौ त्यसरी नै! मलाई आर्काको चुम्बन चाइएन। लौ अहिले नै फिर्ता गर! 

युवती अप्ठेरो मान्यो। अब के गर्ने ? यो पात्तेको बुढो पो परेछ। भाग्नु पर्ला, फेरि बुढा बा लाई के चित्त दुखाउने! मनमनै गुन्दै, लौ फिर्ता गरें है बा भनेर आर्को गालामा च्वाप्प म्वाई खाइ दियो। बा! माफ गर्दिनुस है! 

बा, मख्ख परेर! लौ अब ठिक भो! तिम्ले मलाई जो भनेर चुम्बन गरे पनि त्यो चाहिँ म होइन है। त्यसैले, जिन्दगीमा आत्तिनु पनि हुन्न, मात्तिनु पनि हुन्न है नानी! अस्तु! 
( यो कथा कसै संग मिल्न गएमा संयोग मात्रै हुनेछ।)


Tuesday 6 April 2021

अटेरी

ह्या! कस्तो अटेरी रेछ। जति भने नि नहुने, जति सम्झाए नि नबुझ्ने, भनेको पनि सुनेको हो कि नसुनेको? कक्षामा बस्दा नि मोबाइल खेलेर बस्ने, मेसेज मै रमाउने। यस्ता अटेरी पनि मान्छे हुंदा रहेछन्।वाक्क लागि सक्यो। मास्टर साब मुर्मुरिंदै हेडमास्टरलाई गुनासो गर्दै रहेछ।

के गर्ने? मास्टर साब! सबै हाम्रै समाजका केटाकेटीहरु हुन। अभिभावकहरुले कति मिहेनत गरेर पैसा जोहो गरेर आफ्ना सन्तानहरुलाई कलेज पठाएका छन् । आफ्नो छोराछोरीहरु कलेज गएका छन् भनी दंग परेका छन् । भोलि पर्सि ठुलो ब्यापारी हुनेछन् , सरकारी सेवामा ठुला हाकिम हुनेछन् भनेर आशा गरेरै हाम्रो कलेजमा पढाउन पठाउंछन् । कतिले त हाम्रो कलेजका पूर्ब बिद्यार्थीहरु मन्त्री सन्त्री भैसकेको देखेर पनि यतै पढाउन पठाउंछन। हाम्रो साख छ नि। 

कुनामा बसेका आर्को अधबैंसे मास्टर साब बोले: तो त हो ! उ बेलाका लास्ट बेन्चमा बस्ने सबै नेता भा का छन् । हाम्ले पढाएको भनेर गर्ब गर्छ्म क्यारे। के गर्ने ? यस्तै हो ! समयले सबैलाई सिकाइ हाल्छन अनि बल्ल हाम्लाई सम्झन्छन् । त्यति भए पुग्यो हाम्लाई! कम्सेकम कृतज्ञता ज्ञापन त गर्लान नि।

मास्टर साब: खोइ मलाई त चित्तै बुझ्दैन भने! हाम्रा विद्यार्थीहरुले भबिष्यमा केहि उत्पात नै गरेको देख्न चाहन्छु। कम्सेकम आफ्नो फिल्डमा नाम कमाओस भन्ने आशा मात्रै लिन पाए नि हुन्थ्यो। यस्ता अटेरीहरुबाट के आश गर्नु। 

मास्टर साब लामो सास लिंदै: तर सबै अटेरी चै हैनन। कति त अचम्म कै आइदिया बाज पनि छन् । त्यो आइदिया बाजहरुले चै पक्कै आफ्नो आईडेन्टिटि बनाउने छन् । यस्तोबाट भने नसोचेको उपलब्धि देखिने छ। 

हेड्मास्टर: अब त्यस्तै आइदिया बाजहरुबाट हुने कामलाई सन्तोष मान्ने नि सर किन चिन्ता लिएर बस्नु हुन्छ?

अधबैंसे मास्टर साब: हो सर! चिन्ता नलिनुस। सबै जना आ आफ्नै तालका हुन्छन् । समयले परिवर्तन गर्नेनै छ। 

मास्टर साब: अटेरीहरुको सदबुद्दी पलाओस। अस्तु।

Monday 5 April 2021

How to deal with exam fever?

अपजसे!

तैंले गरेरै मेरो काम बिग्रेको हो। तँ हिजो नै आएको भए आज यस्तो हुने थिएन। केहि गरि हिंजो आएर आज काम बिग्रेको भए, फेरि यस्तो बचन हुने थियो। तँ हिंजोको सट्टा आज आएको भए पनि त हुन्थ्यो नि! जान्ने भएर आइस आज मेरो काम बिग्रीयो। तंइले त्यो ल्याइ देलास जस्तो लागेको थियो। ल्याइ दिएनस अनि यो काम बिग्रीयो। 

हे मेरा भगवान् ! मैले के गर्ने? ल्यायो, किन ल्याइस भन्छ, ल्याएन, किन ल्याइनस भन्छ, गर्‍यो, किन गरिस भन्छ, नगरे के हेरेर बसिस भन्छ, खाए, किन खाइस ? भन्छ, एकछिन कुर्न सक्दैनस, भातमारा भन्छ, नखाइकन कुरेर बसे, के देखाउन परेको नि, कत्ति न बलिदान नै दिएको जस्तो गरेर लोकाचार पारेको भन्छ। 

लुगा धोइ दिए, किन धोएको? भन्छ, एक दिइ दिन मात्रै लाएको त हो नि भन्छ। नधोए, तेरो आँखा फुटेछ? आंखा हो कि गुच्चा? देखेनस लुगा मैलो भएको भन्छ। फुलबारीमा पानी हाल्दिए, किन हालेको सोध्नु पर्दैन भन्छ, न हाले, तेरो आँखा छैन, हेर फूल सुकेको भन्छ। 

यस्तो मान्छे हो कि जन्तु हो? यस्तो अपजसे मान्छे पनि हुंदो रहेछ। हे भगवान् ! गज्जब छ बा! अस्तु।

Thursday 1 April 2021

हाकिम साब

संधै यो गरेन, यो भएन, त्यो भएन, काम गर्ने ढंग छैन भनेर आफ्नो कर्मचारीलाई कतै तपाईंले हतोत्साहित त गर्नु भएको छैन? छ भने यो कथा तपाईले नपढे पनि हुन्छ है।

कर्मचारीहरुलाई कामचोर बनाउने हाकिमले नै यस्तो बोली बोल्ने गरेका छन् । एक अनुसन्धानमा के देखियो भने, जुन हाकिमले काम बिगार्ने कर्मचारीलाई गाली मात्रै गर्ने, काम गर्न जानेन, निकम्मा, कामचोर, तलबभत्ता मात्रै पचाउन आएको भनेर कर्मचारीलाई नीच देखाउन खोज्छ त्यस्तो हाकिमको हैकमवादी लाई Bossism भन्दो रहेछ। आफु मात्रै जानेको अरु सबै बेबकुफ! भन्थान्दो रेछ त्यस्तो हाकिमले।

तर यस्को ठिक उल्टो, जुन हाकिमले काम बिगारेका कर्मचारीहरुलाई काम गर्ने तरीका सिकाउने र फेरि फेरि गल्ती गर्न नहुने उपाय सिकाउंछ, त्यस्तो हाकिमलाई अनन्तकाल सम्म सम्झी रहने र गुरुको रुपमा नै मान्ने गरेको देखिएको छ। त्यस्तो हाकिमले कर्मचारीहरुलाई सहयात्रीको रुपमा हेर्ने गरेको देखिएको छ। कामलाई सम्मान गर्न सके कम्पनीको पनि उत्तरोत्तर प्रगति भएको देखिएको प्रमाणहरु प्रसस्त देखिन्छ। व्यवसायिक सफलताको लागि कर्मचारीलाई सम्मानका साथ व्यबहार गर्नु पर्छ, न कि कामचोर। यस्ता हाकिमलाई Leader भन्दो रहेछ। 

तपाईं कुन बर्गमा पर्नु भयो? आफै अनुमान लगाउनुस है हाकिम साब! अस्तु!


घुमन्ते

सानै देखि डुलेर हिंड्ने भएकोले डुकु लन्ठक, हरी लठ्ठक भनेर काम नभएको "घुमन्ते" भनेर समाजले दिएको "उपनाम" नै मेरो लागि संधै प्रेरणा भई रह्यो। समाजले के भन्छ, कसो भन्छ त्यो कुराको पछि लागेको भए सायद आज म घुमन्ते नामले परिचित हुने थिएन। अहिले पो बुझियो, यो त मेरो प्यासन रहेछ। मेरो रहर, दृढता, परिश्रम, मन, धन, अनि तन सबै नै घुम्ने नै रहेछ। 

मलाई कसैले कस्तो बेकामे घुमन्ते भन्यो भनेर चित्त दुखाउनु छैन। यस्ताले के गर्ला भनेर आक्षेप लगायो भने पनि बाल मतलब छैन। म मस्तले हिंडेको, डुलेको देखेर आरिस गर्नेहरु देखेर पनि मलाई खुशी लाग्दैन। तर मलाई यसमै आनन्द लाग्छ। देश बिदेशका मानिसहरु संग भेट हुंदा मेरो डुलाई देख्दा मेरो हिंडाइ देख्दा मख्ख पर्छन। तर मेरो समाजले मलाई हेर्ने आँखा फरक छ। 

फलानोको छोरा छोरीले यति कमायो, उति कमायो, घर बनायो,  सम्पति बनायो, तर यो घुमन्तेले अहिले सम्म केही कमाएन! यस्तो जिन्दगी पनि खत्तम नै रहेछ। कहिले जिउन सिक्ला? कति भन्ने? भनेको मान्ने भए पो भन्ने? यसरी घुमेर पनि जिन्दगी चल्छ र?

अनि कमाएर बसेकाहरुले मलाई भन्छन, तेरो जिन्दगी पो जिन्दगी यार! घुम्न पनि पाउने, टेन्सन पनि नहुने, सम्पति चोरेर लैजाला भनेर चिन्ता पनि लिन नपर्ने, अंशबन्दा पनि गर्न नपर्ने। वाह! क्या मज्जा! जिन्दगी जिएकै छस!

अहिले मेरो घुमाई बेचेर खाएको छु। मेरो अनुभवको लागि पैसा तिर्छन् । कथा, घट्ना, दुर्घटनाबाट सिक्छ्न, मैले सिकाउंदा र कथा भन्दा एकचित्त भएर ध्यान दिएर सुनेको देख्दा अझ आनन्द लाग्छ। कस्ले कति कमाए, कति गुमाए संग मतलब भएन, न त उनीहरुको सम्पति संग दांजेर बसेर मन दुखाउनु छ। म त मस्त छु ! आनन्दित छु ! सबै भन्दा ठूलो कुरो शान्त छु, बेफिक्री छु। म घुमन्ते! अस्तु!
(यो कथा कसैसंग मिल्न गए संयोग हुन सक्छ)