Grab the widget  Get Widgets

Monday 13 January 2014

बाउ हुन त्यसै सजिलो छ ?

आज बिहान सबेरै छिमेकीको बच्चा बिरामी भएकोले ईशान बाल अस्पतालमा लगें । साढे चार बजेको थियो, अस्पताल पुग्दा। आकस्मिक कक्षमा हामी पुग्दा डाक्टर, सिस्टर, पाले सबै सुकुला हुनुहुन्थ्यो। धन्न लामो हा….ई  काढेर पाले दाईले ग्रिल रेलिङ्ग खोल्नु भयो। सिस्टरलाई उठाउनु भयो। सिस्टरले  डाक्टर साब को निन्द्रा खलबली होला भनेर पहिले डिग्री लगाउदै प्रेसर नाप्नु भयो बच्चा अचेत नै थियो। बल्ल डाक्टर साबलाई उठाउनु भयो। आँखा मिच्दै बिचरा डाक्टर साब निस्कनु भयो। बच्चाले गल्तीले छालामा लगाउने क्रिम खाएको कुरा बच्चाको आमाले बतायो। एकछिनमा नाडी छामिसके पछि बच्चा जुरुक्क उठेर ट्वाल्ल परेर हेर्यो र बच्चा झसंग झसंग तर्सिरहेको थियो।  

साधारणतया यस्तो केसलाई पोइजनिङ्ग भन्ने रहेछ।  बिचरा डाक्टरले यस्तो केस "मैले देखेको नै छैन" भनेर टिचिंगमा लैजान भन्यो। नजिकैको अस्पतालमा गएको बेकार भयो। बच्चाको आमा आत्तिएर किन फर्काएको होला भनेर चिन्तित भयो।  तर के गर्ने डाक्टरले नै लैजाउ भने पछि लैजानुनै पर्यो।  

पाँच बजे बिहानी पख हामी टिचिंग पुग्दा आकस्मिक कक्षमा बेड त के कुनै कुर्ची पनि बाँकी थिएन। बिरामीहरु एउटा खाटमा दुइ तीन जना बिरामी पनि खचाखच। नाम दर्ता गरे पछि मात्रै डाक्टर साबले सोध खोज गर्नु भयो।  बाल कक्ष तिर रिफर भए पछि बल्ल शान्त भयो।  बच्चाले एक पटक उल्टी गरे पछि सायद बच्चालाई आराम मिल्यो।  कुरा गर्न थाल्यो।  आमा चै ले बल्ल लामो श्वास फेर्यो र दङ्ग पर्यो। 

संगैको बेडमा पखाला लागेको सानो बच्चीलाई (सायद पहिलो) बा आमा मिलेर न्यापिले सरसफाई गर्दै थियो। बच्ची टाइम टाइममा पीडाले छत्पटाउने गर्थी। दुवैले आफ्नो कर्तब्य सम्झेर मिलेर न्यापी सफा गर्दा आमाले छोरीलाई काखमा राखेर बाउले मल मुत्र सफाई गरेको देख्दा जोडी अच्छा रहेछ भन्ने आभास भयो। सायद हाम्रा आमा बा ले पनि यस्तै गरे होलान भन्ने मनमा लाग्यो। यसै बेला बच्चीलाई खोकीको साथै पेट पनि दुखेछ। जोडले चिच्याई बुरुक्क उफ्रिंदा फ्वारात्त फोहरा झैँ निस्क्यो।  बाउको ज्याकेट पहेंलो रंग लगाएको जस्तो भयो।  धन्न मायाको चिनोलाई बाउले घिन नमानी सकार्यो दायाँ बायाँ हेर्यो।  मैले नदेखे झैँ गरें। सिस्टरले पनि नदेखे झैँ गरेर मुख छोपेर हाँस्यो।  सायद मनमनै भन्यो बाउ हुन त्यसै सजिलो छ ? अस्तु। 

Friday 10 January 2014

सेक्रेटरीसंगको अफएर (Affair with secretary)

लाजिम्पाट, काठमाडौंको रेस्टुराँमा एकदिन एक्लै म एकजना पर्यटक मित्रलाई कुरेर बसिरहेको थिएँ। रेस्टुराँको अगाडी पट्टिको बारमा तीनजना युवाहरु एक एक पेग ह्विस्की लिएर म संगैको टेबुलमा बसे। ह्विस्कीको साथ दिन को लागि चिकन ललि, मटन सेकुवा, बफ मम, फ्रेन्च फ्राई, आलु साँधेको अर्डर गरे। यस्सो हेर्दा ब्यापारी खानदानको सन्तान देखिने ती युबाहरुको बार्तालाप सुन्दा मेरो ध्यान भंग भयो।

युवा १: होइन यो सेक्रेटरी भन्ने कस्तो हुने रहेछ ? (ह्विस्की को चुस्की लिंदै) 
युवा २: किन र यार तँ पनि फंसिस कि क्या हो ? (ह्विस्कीको ग्लासमा आइस राख्दै)
युवा ३: हा हा …। (चुरोटको धुवाँ बुङ्ग उडाउदै, खरानी एस्त्रेमा झार्दै)

युवा १: म होइन नि मेरो बाउ पो फंसे जस्तो छ। जहिले पनि जता गए पनि त्यहि सेक्रेटरीसंग मिटिंगमा जानुहुन्छ। फर्कने बेलामा पुरा झल्लु भएर आउनुहुन्छ अनि मम् संग ठाकठुक सुरु भै हाल्छ। अफिसको कुरा गर्यो कि त्यहि केटीको बयान सुरु, मम् लाई जियोलस फिल हुन्छ क्यारे! त्यसपछि फेरी रडाको सुरु हुन्छ यार। यो उमेरमा आमा बाउको झगडा सुल्झाउन मै व्यस्त हुनु परेको छ। आफुले लब गरेर हिंड्ने बेलामा बाउले पो गर्ल फ्रेन्ड बनाए जस्तो छ यार। दिक्क लाग्छ।

युवा २: (ग्लासमा रहेको ह्विस्कीको चुस्की लिंदै) हेर साथि ! यो कर्पोरेट ओर्ल्डमा यस्तो अफएर भन्ने नर्मल हो जस्तो लाग्छ। दुइ, तीन जना कम्पनीका मालिकहरुको सेक्रेटरीसंग अफएर भएर अपार्टमेन्ट तिर राखेको छ भन्ने सुनेको हो। तेरो बाउले पनि कतै फ्ल्याटमा त राखेको छैन? होस् गर है ! (आगो मा घिउ थपि दियो) तेरो आमाले संका गर्नु ठिकै त हो नि। केप्ट राखे पछि कुन चाहिं आइमाईले सहन्छ?

युवा ३: (अरु दुइ भन्दा उमेरले जेठो देखिने युवा, चुरोटलाई देब्रे हातका औलाले ओंठको बायाँ पट्टि चेप्दै मज्जाले तान्दै) हेर साथि हो। जेनेरल्ली स्वास्नीसंग भन्दा पनि धेरै समय सेक्रेटरीसंग बिताईने हुन्छ कर्पोरेट ओर्ल्डमा। सेक्रेटरीले हरेक बिजिनेसमा इन्पुट दिई राखेको हुन्छ। स्वास्नीले चाहिं संधै कच् कच् र संका। अनि रिलेसन हुनुमा के टाइम लाग्छ ? दुबैमा अन्डरस्त्यांदिंग छ भने रिलेसन भएपनि सेक्रेटरीले पार्ट अफ दि जब नै ठान्छ। बोसलाई टेन्सनबाट मुक्त गर्न।कत्तिलाई यस्तो रिलेसन भनेको रिफ्रेस्मेंट जस्तै हो। दे डन्ट टेक इत सिरियस्ली। जस्त फर फन एण्ड इन्टरतेन्मेन्त। यही सम्बन्ध अगाडी बढ्दै गयो भने घर बिग्रिन्छ।

……. त्रिङ्ग… । त्रिङ्ग ……। मेरो मोबिलको घन्टी बज्यो।  मेरो साथि आउन नसक्ने खबर आयो म पनि जुरुक्क उठेर आएँ।  बाटो भरि मैले सुनेको बार्तालाप मेरो मस्तिष्कमा सिनेमा झैं झल् झल् बल्झी रह्यो। जमाना कता तिर लाग्दै छ ? अस्तु। 



Friday 3 January 2014

बस यात्रा

शनिबारको दिन पिकनिक मनाएर फर्कने बेलामा बानेश्वरबाट नेपाल यातायातको बस यात्रा गर्न मनलाग्यो। साँझपखको चिसो हावा खाँदै केहिबेरको हिंडाईपछी संसद भवनको पश्चिम पट्टि नेपाल यातायातको बस बिसौनीमा पुगेर कुर्दा टनाटन भरेको बस आइपुग्यो। चड्ने कि न चड्ने दोमन भए पनि बस चड्ने नै निधो गरें र ठेलमठेल गरेर भित्र हुल्यो कन्डक्टर साबले।

ओ अंकल अलि पछाडी पछाडी जानुस है भने पछी जानै पर्यो र अरुलाई पनि ठेल्दै ठेल्दै भित्र भित्रै गएँ। दुई हातले बसको माथि तिरको डण्डी समाए। अपांग र महिलाका लागि छुट्याइएको सिटमा धम्मरधस् गरेर लाजै नमानी धुर्मुस पुरुष सज्जनबृन्दहरु बसेका थिए। बिचरा महिलाबृन्दहरु भने म जस्तै बसको डण्डी समाएर उभिएका थिए।  

बानेश्वरबाट बस बिस्तारै आफ्नो सुरमा अगाडी बढ्यो। थापा गाउं आउन्जेल चिसो बढी सकेको थियो। एक जना सज्जनले कुन चाहिं ग्याँस छादेछ कुन्नि ? गुम्म परेको बसमा तुरुन्तै टिएर ग्यांस जस्तै फैलियो। संगैकी आमाले नाक छोप्दै बिस्तारै बोलि फुटाइ " कस्तो कुहिएको चा…. रहेछ थुक्क !" आर्किले थपिन् " तेस्तो होइन बरु के सारो कुहिएको खाएर आ का रहेछन कुन्नि ? "

एकजना बुढा बा ले थपे " कस्तो दुर्गन्ध हो ? अलिकति त ख्याल गर्नु पर्छ नि सार्बजनिक यातायातमा लाजै नमानी यति सारो गर्न त भएन नि, जसले भए पनि अब चाहिं  न छाड्नु है। मेरो नम्र निबेदन छ।"

"हनुमान थान, हनुमान थान, झर्ने कोइ छ छिट्टो अगाडी आई हाल्नुस है।" कन्डक्टर साबले कर्कस आवाज मा चिच्च्याए। 

एक जना महिला यात्री "कस्तो मोरो रहेछ भर्खर भित्र भित्र जा भनेर कोच्ने अहिले झट्टै आइजे भन्ने। तेरो बाउको गाडी रोक अनि मात्रै आउंछु। नरोकी सुक्ख ?"

कन्डक्टर साब "ए आन्टी न रिसाउनुस न।  मेरो पनि त कामै हो अलिकति पैसा पाइन्छ कि भनेर अनुरोध त गर्न पाइन्छ नि हउ।" आन्टी ओर्लनु भयो। अरु यात्रु हरु पनि ओर्लनु भयो। 

अनाम नगर पुग्न नपाउंदै फेरी आर्को बिस्फोट भयो। कुन चाहिंले फेरी नाक फोदुवा बम फाद्यो । "ओहो अहिले भने कुहिएको गुन्द्रुक नै खा का र छन् कि क्या हो ? एस्तो त भएन नि। जो जसले हो कृपया अहिले नै झरिदिनु भएमा बस भाडा बरु मै तिरी दिन्थें। " 

मलाई चक्रपथ सम्म कहिले आई पुगौंला  जस्तो भाको थियो दिक्क लाग्दो बस यात्रा भन्दा बरु ओर्लेर हिंड्नु पर्यो भनेर बीच बाटैमा ओर्लेर खुला हावा खाँदै हिडेर घर पुगें। अस्तु।