03 January 2026
26 December 2025
हर्के तीन धर्के
25 December 2025
Silent Divorce
15 December 2025
दाने दाने पे लिखता है खाने वालोंका नाम (God writes the names of the eaters on every grain)
07 December 2025
गुनासोको पोका (The Conplaint Bag)
संधै क्याईं क्याईं! क्याईं क्याईं ! गर्ने माइजुको गुनासो, ब्याट्री सकिन लागेको घण्टी जस्तै थियो, सधैँ बजिरहने, तर घरका परिवारका सदस्यहरुलाई भने बानी परिसकेपछि कसैले नसुन्ने। छु मतलब! "यस घरमा मेरो कुरा सुन्ने कोहि छैन," उहाँ भन्नुहुन्थ्यो। "सबैलाई खाना पकाइदिने, खुवाउने जिम्मा मेरो, कर्तब्य मेरो, तर मलाई 'खायौ कि नाइँ' भनेर सोध्ने कोही छैनन्। मतलबी जमात!"
मामालाई यो कुराले च्वास्स, घोच्यो। आखिर, उहाँ पनि त "मतलबी जमात" भित्रै पर्नुहुन्थ्यो। बिहानीको लामो ध्यान र योगाभ्यास सकिएपछी, एका बिहानै, मामाले एउटा क्रान्तिकारी कदम चाल्नुभयो।
"ए सुनिता!" मामाले भान्साकोठाको ढोकामा टाउको छिराउनुभयो, "आज तिमीले बिहान नास्ता खायौ कि नाइँ?"
माइजुले चुल्होमा कुकर बसाल्दै हुनुहुन्थ्यो। मामाको प्रश्न सुनेर उहाँ एक सेकेन्डका लागि चुप्प बस्नु भयो, मानौं कुनै अचम्म हुने र छ की क्या हो भनेर गम्नु भयो। कर्के नजरले मामालाई हेर्नु भयो |
"ओहो, आज त सूर्य पश्चिमबाट उदाएछ कि क्या हो?" माइजुले कुकर चुल्होमा राखेर दुवै हात कम्मरमा अड्याउनुभयो। "तिमीहरूले पकाएर दिन्छ र खाम्ला भनेको भए त, म कता पुगिसक्थें होला! कति हाई सन्चो हुन्थ्यो होला| अहिले सम्म, कहिले एक पटक पकाएर दिएका छौ? मैले नपकाई खानै नहुने तिमीहरूलाई, साँच्चै मेरो याद आएको हो र?" उहाँको आवाजमा वर्षौंको गुनासोको भण्डार थियो जुन एकैचोटि ढ्याम्म बाँध फुटे झैं फुट्यो।
मामा तीन कदम पछि हट्नुभयो, माइजुको शब्द बाणको प्रहारबाट जोगिन।
"हेर सुनिता," मामाले स्पष्टीकरण दिंदै हात हल्लाउनुभयो, "मैले तिमीलाई पकाएर खुवाम्ला भनेर सोधेकै हैन, तिमीले सधैं गुनासो गरिराख्छ्यौ, 'कसैले सोध्दैनन्' भनेर। त्यसैले, मैले आज 'सोधेको' मात्रै हो। तिम्रो मन राखी दिन खोजेको मात्रै हो| खाना नै पकाएर दिम्ला भनेर त, सोचेको पनि छैन, है ! मैले पकाउन थालें भने मेरो काम कसले गरिदिन्छ नि अफिसमा ?"
माइजु एकछिन अक्क न बक्क हुनुभयो। मामाले गुनासोको मूल कारणलाई हैन, केवल गुनासोको प्रक्रियालाई मात्रै सम्बोधन गरेकोमा उहाँलाई अचम्म पनि लाग्यो।
"मलाई सोध्नुभन्दा राम्रो त, दुई चार चम्चा चिनी हालेर चिया बनाइदिए हुने नि!" माइजुले हताश हुँदै भन्नुभयो।
"अँहँ! सोध्ने काम सकियो," मामाले छड्के मुस्कान दिनुभयो। "अब तिम्रो 'कोही सोध्दैनन्' भन्ने गुनासोको कोटा सकियो, होला हगी? ल म हिँडे।" भनेर खुरुक्क निस्कनु भयो | अनि भन्नु भयो, वाक न प्वाक, तीन माना क्वाप! यस्तालाई गुनासो के गर्ने? अस्तु |
19 October 2025
"एक्लोपनाको घर"
11 October 2025
अभागी बुढा
कालुको दिनचर्या सधैं एकनासको थियो। बिहान उठ्नेबित्तिकै गोठमा गाईवस्तुलाई दाना दिन्थ्यो, त्यसपछि तीन धाराबाट घरको लागि पानी भर्ने उसको मुख्य काम हुन्थ्यो। खानपिन सकेर दिउँसो घाँस र दाउराको जोहो गर्न जंगलतिर लाग्थ्यो।
साँझमा डोकोभरि घाँस र सुकेका दाउरा लिएर फर्किएपछि बेलुकीको खाना पकाउन चुल्होमा दाउरा मिलाउँथ्यो। घरपरिवारको लागि उसले मरिहत्ते गर्थ्यो, तर उसलाई भने पानी पिउन मन लाग्दा जगमा पानी हुन्नथ्यो, भोक लाग्दा थालमा खानेकुरा हुन्नथ्यो। ऊ आफूलाई सधैँ अभागी ठान्थ्यो। घरमा कसैलाई पनि उसको महत्त्व याद थिएन।
एकदिन अचानक कालुलाई मुटुको व्यथाले समात्यो र केही घण्टामै देहत्याग गर्यो।लाश उठाउने बेला भयो। घरपरिवारका सदस्यहरूले अन्तिम श्रद्धाका लागि उनको मुखमा जल हाल्न खोजे। तर, घरभरि कतै पानीको थोपा पनि भेटिएन। जग र गाग्री सबै रित्ता थिए।
त्यसपछि मात्र सबैले बल्ल भेउ पाए, "बिचरा बाले नै घरभरि पानीको बन्दोबस्त गर्नुहुँदो रहेछ। आज बालाई मृत्युपछि जल चढाउने बेलामा घरमा एक थोपो पानी छैन रहेछ।"
घरका एक सदस्यले बोले, "बाले पूर्वजन्ममा धेरै पाप गर्नुभएको रहेछ, हाम्रा बा ले। यस्तो छ कर्मको फल। लौ हेर, मृत्युपश्चात् पनि उहाँले पानीको व्यवस्था आफैले नगरेकाले जल चढाउन पाइएन।"
यो मार्मिक घटनाले हामी सबैलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ, घरको काम कुनै एक व्यक्तिको मात्र जिम्मेवारी होइन। घरको हरेक काममा सबैले मिलेर हात बटाउनु पर्छ र एकअर्काको श्रमको कदर गर्नुपर्छ। कसैको महत्त्व उसले यो संसार छोडेर गएपछि मात्र थाहा पाउनु ठूलो भूल हो। समय छँदै हरेक सदस्यको योगदानको सम्मान गरौं र जिम्मेवारी बाँडौं, ताकि कसैले पनि कालुले जस्तो नियति भोग्न नपरोस्। अस्तु!
09 October 2025
धर्मात्मा बजै
छाँयादेवी बजैको बोली त सर्पको टोकाइभन्दा पनि कडा। मन्दिरमा गएर ठूलठूला दान गर्छिन्, हर हप्ता सत्संगमा गएर 'जय माता दि' भन्छिन्। तर छाँयादेवी बजैको दिनचर्या भने बिहान उठ्ने बित्तिकै गाउँका मान्छेको कुरा काटेर मात्र सुरु हुन्छ। 'यसको यस्तो, उसको उस्तो' भन्दै नुन, तेल, खुर्सानी सबै हालेर कुरा नबनाएसम्म उहाँलाई खाना नै नपच्ने!
घर परिवारको कुरा के गर्नु? उनको यो 'मिठो' बानीले गर्दा छोराछोरी, बुहारी सबैले वाक्क भएर घर छोडे। विचरा श्रीमान पनि कति दिन सहनु, बुढो भए पनि शान्तिको खोजीमा एक्लै बस्न थाले। बजै भने बाहिरबाट 'म कति धर्मात्मा!' भनेर गाउँभरि फुर्किन्छिन्, तर घरभित्रको सन्नाटाले उनको दिमागमा कत्ति पनि घोचेको छैन।कसैले हिम्मत गरेर "बजै, अलि बोली सुधार्नुस् न" भन्यो भने आम्मामा! उल्टै 'तँ को होस मलाई सिकाउने?' भन्दै यस्तो गाली गर्छिन् कि राम-राम! सम्झाउने मान्छेको मुखै रातो हुने गरी टालिदिने। त्यसैले आजकाल गाउँलेहरू बजैलाई देख्नेबित्तिकै बाटो फेर्छन्। कोही पनि उनीसँग बात मार्न चाहँदैनन्।
"हे भगवान्, यी बजैको बुद्धि कहिले फर्किने होला?" भनेर गाउँलेहरू भगवानलाई गुहार्छन्।
यी बजैलाई सम्झाउनु भनेको साँढेको अगाडि बाँसुरी बजाउनु जस्तै हो। तर एउटा उपाय छ भन्दै गाउंलेहरु मिलेर यसो गरे कसो होला भनेर सल्लाह गरे।
'जस्तालाई त्यस्तै' थेरापी: अब गाउँका कसैले पनि बजैको कुरा नसुन्ने। उहाँले कसैको कुरा काट्न थाल्नेबित्तिकै सबैले मुख बिगारेर हिँड्ने वा उल्टै उहाँकै बानी 'दान र बोलीको भिन्नता' माथि ब्यङ्ग्य गर्ने। जस्तै: "आहा! बजै, तपाईंको बोली त सत्संगको प्रसाद जस्तै मीठो छ! आज कसको कुराको भोग लगाउनुभयो?" यसरी उनलाई लाजले छुनुपर्छ।
मन्दिरमा पर्चा टांस्ने: सबैले देख्ने गरी मन्दिरको भित्तामा वा सत्संग हुने ठाउँमा ठूलो अक्षरमा लेखेर टाँसिदिने: "जसको बोली मीठो छैन, उसको दान र धर्म केवल देखावटी हो।" सायद, धर्मको डरले उनलाई चेत आउँछ कि!
अन्त्यमा, छांयादेबी बजैको बुद्धि कहिले फर्कला? कमेन्टमा लेख्नु होला है। अस्तु।
07 October 2025
कालेको मनगढन्ते तनाव
06 October 2025
सासुमा
05 October 2025
रिस
आज घरमा दाजु-भाउजूको बिहानैदेखि नोकझोंक चलेको रहेछ। मान्छे न हो, मलाई दाजु- भाउजूको झगडा तगडा हुन्छ भनेर बिरालाको चालामा भान्साको ढोकाबाट यस्सो चिहाएर हेर्दै थिएं, भाउजूको आँखा त आम्मामा आगो जस्तै, बोलाइ त क्या खत्रा, अहिले नै खाउंला जस्तो, झ्याप्पै झपार्दी हाल्ने! दाजु पनि चुप लाग्ने मान्छे कहाँ हुनु त, उनले पनि दुईचार शब्द तेस्र्याएछन्। त्यसपछि गाउँमा हुने मेलाको झैँ घमासान वाकयुद्ध सुरु भो।
म त "बिरालो झैँ बिस्तारै भित्र पसुँ कि" भन्ने सोच्दै थिएँ, एक्कासी भाउजूले दाजुको खाना खाने प्लेटै समातेर "स्वाईंट्ट" गर्दै फ्याँकिदिनु भयो। त्यो प्लेट त झण्डै मेरो टाउको निर आयो। धन्नै मैले ढोका समाएर शरीर टाउको बटारेर छलें। आँखै अगाडिबाट त्यो प्लेट उडन तस्तरी उडेको झैं देख्दा त थरर भएँ।
प्लेट उडेर सीधै छिमेकीको पर्खालमा "ढयाम्म" गर्दै ठोक्कियो। प्लेटको आवाजै सुन्दा पनि लाग्थ्यो, मानौँ मान्छे नै पछारिएको हो कि जस्तो। छिमेकी आमा त आँगनबाटै चिहाउँदै, "आम्मामा! के भयो नि यो?" भनेर कराउनुभयो। मैले नदेखे जस्तो गरि ताप कसें।दाजु र भाउजू भने अझै रोकिएनन्। भाउजूको हातमा त अरु भाँडा नपरोस् भनेर दाजु चुप लागेझैँ देखिए। म भने मनमनै सोचें, मेरो पनि बुढीसंग यस्तो भयो भने पहिले नै ताप कस्छु, यी बुढाबुढीको जस्तो रिसको झोंकमा आफ्नै प्लेट चैं छिमेकीको घर सम्म पुग्ने गरि फ्यांक्दिन। रिसको झोंकमा आफ्नै अगाडि भाँडा उड्छ, मन त के न उड्ला?
त्यसै बेला बुबाले भनेको कुरा सम्झिएँ, "घरको आगो छिमेकीलाई देखिन्न तर धुवाँ चाहिँ सबैतिर पुग्छ।" यो घटना देखेपछि त त्यो भनाइ झन् पक्का लाग्यो। अस्तु।
.png)