Grab the widget  Get Widgets

09 October 2025

धर्मात्मा बजै

​छाँयादेवी बजैको बोली त सर्पको टोकाइभन्दा पनि कडा। मन्दिरमा गएर ठूलठूला दान गर्छिन्, हर हप्ता सत्संगमा गएर 'जय माता दि' भन्छिन्। तर छाँयादेवी बजैको दिनचर्या भने बिहान उठ्ने बित्तिकै गाउँका मान्छेको कुरा काटेर मात्र सुरु हुन्छ। 'यसको यस्तो, उसको उस्तो' भन्दै नुन, तेल, खुर्सानी सबै हालेर कुरा नबनाएसम्म उहाँलाई खाना नै नपच्ने!

​घर परिवारको कुरा के गर्नु? उनको यो 'मिठो' बानीले गर्दा छोराछोरी, बुहारी सबैले वाक्क भएर घर छोडे। विचरा श्रीमान पनि कति दिन सहनु, बुढो भए पनि शान्तिको खोजीमा एक्लै बस्न थाले। बजै भने बाहिरबाट 'म कति धर्मात्मा!' भनेर गाउँभरि फुर्किन्छिन्, तर घरभित्रको सन्नाटाले उनको दिमागमा कत्ति पनि घोचेको छैन।

​कसैले हिम्मत गरेर "बजै, अलि बोली सुधार्नुस् न" भन्यो भने आम्मामा! उल्टै 'तँ को होस मलाई सिकाउने?' भन्दै यस्तो गाली गर्छिन् कि राम-राम! सम्झाउने मान्छेको मुखै रातो हुने गरी टालिदिने। त्यसैले आजकाल गाउँलेहरू बजैलाई देख्नेबित्तिकै बाटो फेर्छन्। कोही पनि उनीसँग बात मार्न चाहँदैनन्।

​"हे भगवान्, यी बजैको बुद्धि कहिले फर्किने होला?" भनेर गाउँलेहरू भगवानलाई गुहार्छन्।

​यी बजैलाई सम्झाउनु भनेको साँढेको अगाडि बाँसुरी बजाउनु जस्तै हो। तर एउटा उपाय छ भन्दै गाउंलेहरु मिलेर यसो गरे कसो होला भनेर सल्लाह गरे।

'जस्तालाई त्यस्तै' थेरापी: अब गाउँका कसैले पनि बजैको कुरा नसुन्ने। उहाँले कसैको कुरा काट्न थाल्नेबित्तिकै सबैले मुख बिगारेर हिँड्ने वा उल्टै उहाँकै बानी 'दान र बोलीको भिन्नता' माथि ब्यङ्ग्य गर्ने। जस्तै: "आहा! बजै, तपाईंको बोली त सत्संगको प्रसाद जस्तै मीठो छ! आज कसको कुराको भोग लगाउनुभयो?" यसरी उनलाई लाजले छुनुपर्छ।

​मन्दिरमा पर्चा टांस्ने: सबैले देख्ने गरी मन्दिरको भित्तामा वा सत्संग हुने ठाउँमा ठूलो अक्षरमा लेखेर टाँसिदिने: "जसको बोली मीठो छैन, उसको दान र धर्म केवल देखावटी हो।" सायद, धर्मको डरले उनलाई चेत आउँछ कि!

​अन्त्यमा, छांयादेबी बजैको बुद्धि कहिले फर्कला? कमेन्टमा लेख्नु होला है। अस्तु।

No comments:

Post a Comment