Grab the widget  Get Widgets
Showing posts with label Issues. Show all posts
Showing posts with label Issues. Show all posts

21 June 2017

ब्लग (BLOG)


ब्लग के हो ? किन चाहिन्छ ? कसले लेख्छ ? कसले पढ्छ ? के फाइदा हुन्छ ? कसलाई चाहिन्छ? भन्ने खुल्दुली लागेकोले यस बारे अध्ययन गर्ने र जानेको कुरा अरुलाई पनि जानकारी गराउने आशयले यो लेख लेख्ने जमर्को गरेको छु | 

ब्लग के हो ?

हिजोका दिनमा “बोल्नेको पीठो बिक्छ” भनेझै आजको दिनमा र भोलिको दिनमा पनि उत्तिकै महत्व बोकेको जीवनको एउटा पाटो हो “ब्लग” | कतिपय अवस्थामा मेरो कुरा कसले सुन्छ र ? कसलाई भन्ने खै ? भनेर ठुसुक्क कुनामा बस्ने भन्दा मनमा लागेको कुरा खुरुखुरु लेख्नु भयो भने एउटा कथा तयार हुन्छ | अब तयार भएको कथा वा कुरा कसलाई सुनाउने ? भन्ने मनमा लागेको छ भने पनि पीर नमान्नुस् है | यसैको लागि बनेको छ एउटा चौतारी “ब्लग” |

किन चाहिन्छ ?

उहिले उहिले आफूलाई परेको घरायसी पीर मर्का मात्र होइन आफुले कुनै नया चीज बस्तु सेवा प्रयोगमा ल्याएको छ भने चौतारीमा जम्मा भएको साथीभाईहरुलाई सुनाउन जाने र छलफल गर्ने प्रचलन रहेको हामीलाई जानकारी नै छ | त्यो नै अहिलेको बिकसित रुप हो ब्लग | यस्तै चिज बस्तुहरुको साथै सेवा सुरक्षाको जानकारी गराउन चाहिने थलो हो “ब्लग”| फरक यत्ति मात्रै हो कि, यसलाई अहिलेको युगमा ब्यबसायकै रुपमै प्रयोग गर्न थालिएको छ|

ब्यबसायिक ब्लगले आफ्नो ब्यबसायको प्रचार प्रसार र इन्टरनेटको जालोमा सहज पहुँच पुर्र्याउन मद्दत गर्छ| हामीले ब्यबसायको प्रचार प्रसार गर्न बनाउने “वेबसाइट”मा भएका सामग्रीहरुको प्रचार प्रसार नगर्ने हो भने त्यो सेवा र सामाग्री किन्ने खरीदारहरु नआउन सक्छ| “वेबसाइट” पसल थापेर मात्र सामान बिक्रि हुदैन| यो पसलमा, यो सामान पाइन्छ, त्यो सामना पाइन्छ, यति सस्तो वा मुल्यमा पाइन्छ भनेर बोल्नै पर्छ| त्यसको लागि हल्ला गर्नु पर्छ| हल्ला गर्न अनेक उपाय अपनाउने गर्छन ब्यबसायीहरु| कुशल ब्यबसायीहरुले यो ब्लगको मजाले फाइदा उठाउने गर्छन| गुगलको सर्च इन्जिनमा छिट्टो आउन पनि ब्लगले निक्कै मद्दत गर्छ| कम पैसामा धेरै प्रचार प्रसार गर्न ब्लगको प्रयोग गर्नु उपयुक्त हुन्छ| ब्लग लेख्दा नया कन्टेन्ट हुने हुँदा ब्लगले गूगल लगायतका सर्च इन्जिनहरुमा राम्रो स्थान पाउँछ | गूगलले संधै नया र मौलिक सामाग्रीको खोजि गर्ने हुँदा ब्लगमा आफ्नो ब्यबसायिक वेबसाइटको लिंक राख्नु पनि राम्रो हुन्छ | यसले सर्च इन्जिन खोजिमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ | नेपालको सन्दर्भमा हेर्ने हो भने कयौं ब्यबसायीहरुले वेबसाइट बनाएको बर्सौं सम्म पनि अपडेट गर्ने गरेका छैनन्, न त प्रचार प्रसार गर्नु पर्छ भन्ने कुरामा नै ध्यान दिएका हुन्छन् | थोरै ब्यबसायिक घरानाहरुले भने कुस्त रकम खर्चेर वेब प्रमोसन गरेका छन् | जून राम्रो हो र गूगल लगायतका  सर्चमा पर्छन | तर धेरै रकम खर्च गर्न नचाहनेहरुले भने यो ब्लगको सहयोग लिन सक्छन |

कसले लेख्छ ?

ब्लग ब्यबसायिक रुपमा लेख्ने व्यक्तिलाई “ब्लगर” भनिन्छ| त्यसो भन्दैमा “ब्लगर” पत्रकार भने होइन| तर पत्रकार जस्तै लेख, रचना र समाचारहरु लेखेर संसार नै तरंगित पनि गर्न सक्छन ब्लगरले| पर्यटन ब्यबसायमा ब्लगरको सकारात्मक एबम नकारात्मक दुवै भूमिका रहन्छ| साना साना ब्यबसाय गर्नेहरुले ठुल्ठुला बिज्ञापन गर्न ठुलै रकम खर्चिन सक्दैनन् तर यस्ता ब्यबसायलाई भने ब्लगरहरुले प्रचार प्रसारमा प्रत्यक्ष सहयोग गर्न सक्छन |

जीबन संग नजीकबाट अनुभब गरेका कुराहरुलाई समाजमा उजागर गर्न लेख, रचना, कथाहरु लेख्छन ब्लगरहरु| समाजबाट प्रभावित भएर आफुले प्रत्यक्ष देखेका, भोगेका र अनुभब गरेका वास्तविक कुराहरु तत्काल समाजकै अन्य सदस्यहरुलाई सुसुचित गर्ने काम ब्लगरले गर्छ| यसरी लेखिने कहानीहरुलाई “ब्लगिंग” भनिन्छ| यो सकारात्मक र नकारात्मक दुवै हुन सक्छ| सेवा प्रदायकहरुले गर्ने सेवा राम्रो भए सकारात्मक र  नराम्रो भए नकारात्मक लेख रचना लेखिने हुँदा यसमा संयमित हुन पनि जरुरी छ| नकारात्मक कुराहरु चाडै नै भाइरल हुने हुँदा ब्लग लेख्ने ब्लगरले सनसनीपूर्ण समाचारहरुको नापतौल गरेर मात्र प्रसारण गर्नु पर्छ र गर्छन पनि|

केहि लेख्ने सूर भएका, धैर्य भएका, जो कोहिले पनि ब्लग लेख्न सक्छन| तर लगन भने चाहिन्छ नै| यो निरन्तर प्रक्रिया हो | निरन्तरता रहेन भने ब्लगको पाठकहरु पनि घट्दै जान्छ र अन्तत: प्रभाब पनि घट्दै जान्छ| मानिसहरु लेख रचनामा बिस्वास गर्छन| फलानो ठाउँमा पढेको, देखेको भनेर उल्लेख गर्छन| त्यसैले ब्लग एउटा सुद्द विश्वास दिलाउने थलो पनि हो| ब्लगरले सत्य तथ्य कुराहरुलाई मात्रै प्राथमिकता दिएर लेख्ने गर्नाले नै ब्लगको विश्वास बढेको हो|

कसले पढ्छ ?

फेसबुक, ट्वीटर, लिंक्डइन जस्ता सामाजिक संजालमा ब्लगको लिंक पठाउने चलन रहेकोले ब्लगको पाठक संसारभर नै भेटिन्छ| समाजमा भएका दैनिक समाचार पत्रको नजरमा नपरेका घटना, दुर्घटना, कथा, ब्यथा, रितिरिवाज, परम्परा, संस्कृतिहरु ब्लगरको नजरमा पुग्छन| हरेक पाठकले नौलो कुराको खोजि गरिरहेकै हुन्छ| तपाईले पनि केहि नौलो कुरा भेटिन्छ कि भनेर यो लेख पढ्दै हुनुहुन्छ नि होइन र ? तपाई हामी जस्तै नौलो रचनाको खोजि गरेर पढ्ने पाठक नै ब्लगको पाठक हो| त्यसैले ब्लगमा तपाई हामीले पाठकको रोजाई अनुसारकै लेख रचनाहरु आकर्षक रुपमा प्रस्तुत गरेर आफ्नो ब्यबसायको पनि प्रचार प्रसार गर्न सक्छौं |

के फाइदा हुन्छ ?

ब्यबसायिक ब्लगरको पाठकको रुची बढ्दै गयो भने गूगल बिज्ञापनको फाइदा लिन सकिन्छ| साथै स्थानीय बिज्ञापन पाउने सम्भावना हुन्छ| तर ब्लग लेख्दा गूगलले मान्यता दिएको कुनै एउटा भाषामा मात्रै लेख्नु पर्छ| स्थानीय भाषामा लेख्ने भए आफैले प्रायोजक खोज्नु उपयुक्त हुन्छ |

आफ्नो ब्यबसायको मात्रै प्रचार प्रसार गर्न पनि ब्लग प्रयोग गर्न सकिन्छ| आफ्नो ब्यबसायलाई गूगल इन्जिनको सर्च इन्जिनमा परि रहोस भन्ने उदेश्यले लेख्ने र लेखाउने प्रचलन पनि पाइन्छ| जसको वेबसाइट छैन र बजेट पनि छैन त्यस्तो ब्यबसायी वा व्यक्तिले पनि ब्लग सुरु गर्न सक्छन| यसको लागि सित्तैमा ब्लग लेख्न सकिने वेबसाइटहरु पाइन्छन् |

कसलाई चाहिन्छ ?

ब्यबसायीहरुले वेबसाइटमा राखेको सेवा, सुबिधा, सामाग्रीहरुको बारेमा प्रचुर मात्रामा सूचना प्रबाह गर्न सकेन भने खरिदारहरुको अभाब हुन सक्छ| यसलाई निरन्तर रुपमा पाठक र खरिदारको निगाहमा पुर्र्याउन, सु-सुचित गर्न, अपडेट गर्न नै ब्लगको आवश्यक रहन्छ| वेबसाइट बनाउन बजेट नहुनेहरुले समेत यो ब्लगको फाइदा लिन सक्छन| आफ्नो सेवा सुबिधा र सामानको बारेमा प्रचार प्रसार गर्न खास्साको स्थल हो यो ब्लग | ब्यबसाय संग निरन्तर अन्तर्क्रिया गर्न गराउन पनि ब्लगले महत्वपूर्ण भूमिका निर्बाह गर्छ| पाठकको प्रतिक्रियाहरुको नियमित अध्ययनले आफ्नो सेवा सुबिधाको सुधार गर्न पनि ब्लग चाहिन्छ| आफ्नो कमि कमजोरीहरुको सुधार गर्न चाहने जो कोहिलाई यो सेवा चाहिन्छ र उपयोग गर्न सक्छन| फ्रेस कन्टेन्ट लेख्ने र लेखाउनेहरुको लागि ब्लग अत्यन्त महत्वपूर्ण र उपयोगी औजार हो|


अन्तमा, तपाइले पनि ब्लग सुरु गर्ने होइन ? मेरो पनि शुभकामना छ |  धन्यवाद | अस्तु |

विनय शाक्य 
ब्लगर, ट्राभल कन्सल्ट्यांन्ट, त्रिपिटक होलिडेज प्रा.लि.

Vinaya Shakya
Blogger, Travel Consultant

23 August 2016

पर्यटनका सनसनी समाचार

नेपालका पर्यटन समाचारहरुले संसारमा कति सम्म असर गर्छ भन्ने हेक्का समेत नराखी सनसनी पूर्ण समाचार सम्प्रेषण गर्ने सम्बन्धित पत्रकारहरुलाई सम्बोधन गर्ने लक्ष्य लिएर यो लेख लेख्ने जमर्को गरेको छु | हुन त मैले कुनै पत्रकारिता सम्बन्धित तालिम लिएको छैन तर पर्यटनको मर्म भने बुझेको छु है साथीहरु ! कृपया माइण्ड नगर्नु होला |

पर्यटनको मर्म नबुझीकन पर्यटन पत्रकार भनेर हिड्ने पत्रकारहरुले पीत पत्रकारिता नगरोस भन्ने भावनालाई मध्यनजर गरेर मैले जाने बुझेका कुराहरु शेयर गर्न खोजेको मात्रै हो |

कतिपय पत्रकारहरुले हट न्यूज ब्रेक गर्ने नाममा वास्तविकता नै नबुझी झ्याप्पै समाचार फ्लास गरि दिने गर्नाले पर्यटन ब्यबसायमा नराम्रो संग असर गरेको मैले बिगत देखि नै अनुभव गरेको छु | बिगतमा कतिपय व्यावसायिक घरानाहरु संग आबद्धता भएको बेलामा मैल खुलेर बिरोध गर्न नमिल्ने हुँदा चुपचाप बस्न परेको बाध्यता पनि थियो | अहिले परिस्थिति फरक परेको छ |

प्राबिधिक कुराको ज्ञान पटक्कै नहुनाले र अध्ययनमा चासो पनि राख्न नसकेका पत्रुकारहरुले गर्दा नै बास्तबिक पर्यटन पत्रकारहरु समेतलाई बद्नाम हुन परेको छ | भर्खरको उदाहरण यस्तो छ:
हालै एउटा केबलकार प्राबिधिक कारणले केहि समय रोकिन गएको समाचार आयो | यति सनसनी पूर्ण थियो कि मानौ त्यो केबलकार कामै नलाग्ने, संचालकहरु सबै ठग, निकम्मा, ज्यानमारा जस्तै नै गरेर चित्रण गरियो |

म आफै त त्यो स्थानमा थिएन | तर नेपालको एक विशिष्ट पर्यटन संस्था नेपाल एस्सोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष मधुसुदन आचार्य चाहिं हुनु हुदो रहेछ | पर्यटनमा मेरो पनि सरोकार रहेकोले त्यो समाचारलाई मैले पनि शेयर गरेको थिएं | संचालकहरुको पनि ध्यान जाओस र सिघ्र सुधार गरोस भन्ने शुद्ध मनसायले |

तर NATTA का अध्यक्षज्यूले मेरो शेयरमा त्यो समाचार अतिशयोक्ति रुपले प्रेषित गरीएको भन्ने खबर बुझ्दा, समाचारदाता प्रति खेद प्रकट गर्न मन लाग्यो र दिक्क पनि लाग्यो | समाचार लेख्ने पत्रकारले खबरिवालाको मात्र हवाला दिएर लेखे जस्तो लाग्यो | कमसेकम ब्यबस्थापनको भनाइ पनि सकारात्मंक हिसाबमा राम्ररी महत्वका साथ लेखि दिएको भए राम्रो हुन्थ्यो | एकोहोरो ग्राहकको मात्रै कुरा लेखेर सनसनी फैलाउदा एकछिन त मजा आउला तर कालान्तर सम्म त्यो प्रडक्टमा असर हुनुको साथै त्यसको बिश्वसनियतामा मात्र होइन खबर छाप्ने पत्रिका माथि पनि प्रश्न मात्र उठ्छ | समाधान भने हुँदैन | एक पटकको डर संधैको डर भई प्रकट हुन्छ | त्यसैले समस्या मात्र होइन समाधानका उपाय पनि लेखेर पर्यटनको मर्म र पत्रकारिता धर्म निभाउन पनि प्रयास गर्ने कि?

जय पर्यटन !

भवतु सब्ब मङ्गलम | अस्तु |