Grab the widget  Get Widgets

Saturday 12 June 2021

मनका कुरा

बैराग लाग्छ रे बाजेलाई! 
किन र? भनेर सोधेको त तंलाई किन चाहियो? तैंले के गर्न सक्छस र भनेर हपारेर पो पठाउनु भयो। सक्न न मैले के गर्न सक्छु र तै पनि मैले तपाईंको कुरा सुन्न सक्छु नि! कम्सेकम तपाईंको मन हल्का हुन्छ नि बाजे! भनेर बल्ल बल्ल सम्झाउन थाले पछि, बाजेले आफ्ना मनका कुरा खोल्नु भयो। 
बाजेको कान्छी छोरीको बिहे भएको पनि धेरै भाको रैनछ। कान्छी श्रीमतीकी कान्छी छोरीलाई कहिले पनि केही कमी नहुने गरेर हुर्काएकी रे! बाजेले गहभरी आँसु राखेर भन्नु भयो। मेरी कान्छीलाई मैले कहिले पनि गाली गरेन, न त मैले केहि कमी नै गरें। अरु छोरा छोरी भन्दा अझ बढी मायाँ पाई। 

यीनकी आमा मलाई असाध्यै मन परेकोले जिम्दारलाई फकाएर ल्याएको। अलि अतितका रोमान्स सम्झंदै बाजेले मस्केर भन्नुभयो। कान्छी श्रीमती जिम्दारकी कान्छी छोरी नै रहिछे। बैंसमा आँखा देखिनन अनि म बुढो संग सल्केकी भन्न भ्याउनु भयो बाजेले। अलि मन्द मुस्कान मा निर्धक्क भएर अनि खुलेर पनि।

तर के गर्नु बाबु! (फेरि कान्छी छोरीको कुरो सम्झेर) कान्छीको कर्म! हेरन! अहिले कति गाहारो भएछ बिचरीलाई! परीवार सम्पन्न नै छ। घरमा धेरै काम पनि गर्नु पर्दैन रे! तर कान्छी.....! बाजेले कुरा अगाडि बढाउन सक्नु भएन। आँसु झारेर भैगो! जाउ बाबु! के भन्नु र! फेरि उता कुरो पुग्यो भने मेरी कान्छीले अनेक कुरो सुन्नु पर्ला। जे होला मेरी कान्छिले नै सम्हालेर लैजाला। अब पाको भै सकेकी छे। समयले कस्ति मान्छे कस्ति भइछे। अहिले आफैले कुरा सिकाउंछे रे! 

मैले त कुरा पनि गर्न सक्दिन। मलाई गार्‍हो होला भनेर, सबै ठिक छ भन्छे। ठिकै होला नि! अब मेरी कान्छी मेरो घरमा होइन उनकै घरमा रमाउन पर्छ रे भन्छे। मैले समय मै औषधि खायो खाएन भनेर संधै सोधी रहन्छिन। अरु छोरा छोरीहरु सबै आ आफ्नै घरजम गरेर बसिसकेकाछ्न। अरुको मलाई चिन्ता लाग्दैन। यहि कान्छीको अलि बढी मायाँ लाग्छ। 

ए बाबु! तिमी को हौ? अनि मेरो कुरो किन खोतलेको? खैर! तिमी संग कुरा गरेपछि मेरो मन हल्का चैं भयो है। धन्यबाद बाबु!

वाहियात चियो चर्चा

समय कसरी कटाउने?
संधै बिहान देखि नै काम खोज्न जानु पर्ने भएकोले मेरो छिमेकमा को आए, को गए, थाहा हुन्नथ्यो, न त फुर्सद नै!

तर यस्पाली कडा लकडाउन भएसी ठेकेदारले पनि काममा नआउ डेरामै बस भनेपछि, उपाय केही लागेन। कहिँ कतैबाट काममा बोलायो भने नि डेराबाट बाहिर जान लाग्यो भने घरबेटी बाले अनेक कुरा सोधेर दिमाग खराब गर्दिन्छ। बल्ल बल्ल छ्लेर सडकसम्म पुगें भने ट्राफिक प्रहरीले केरकार गरि हाल्छ। नक्कली पास लिएर फटाईं गर्ने आँट यसपाली आएन। 

आफुले चिनेका नातेदार, संगै हिंडेका साथीहरूले यो संसार धमाधम छाडेर गएको आफ्नै आँखाले देखे पछि र सुने पछि बाहिर बरालिने कुरै भएन र यसपालि म डेरामै थन्किएको छु। 

अब दिन भर पाइपसंग खेलेर प्लम्बिङको काम गरेर हिंड्ने मान्छे मलाई समय कटाउन सुरुसुरुमा निकै गार्‍हो भयो। ठुला बडाहरु त मोबाइलमा ईन्टरनेटमा नै रमाएर बस्दो रहेछ। घरबेटी बा का छोरा छोरी नाति नातिनाहरु कोही पनि हल्ला गर्दैनन्। एक आपसमा बोलेको पनि सुनिंदैन।

मेरो कोठा अलि पर्तिरको कटेरामा छ। त्यति धेरै मानिस बसेको घरमा कहिलेकाहीं मात्रै आवाज आउँछ। बिहान र बेलुकी घरबेटी आमाले पुजा गर्दा र आरति दिनु भएको बेलामा मात्रै शंख र घण्टी। अनि बिजुली गएको बेलामा। खाना खाने समयमा पनि सबै मोबाइलमा नै झुन्डिएको देख्छु। के रहेछ कुन्नी त्यो मोबाइलमा? आफ्नोमा त कुरा गर्न मात्रै मिल्छ।

अब रह्यो मेरो समय कसरी कटाउने?

छिमेकी भाउजु र छिमेकी काका
लोभि आँखा पापी मन, घराँ राम्री स्वास्नी भएनी आर्काकी श्रीमतीलाई आँखा लाउने मेरो छिमेकी काकाको प्रेम प्रसंग यसपालीको लकडाउनमा मेरो समय कटाउने मेसो बन्यो।

अनि मेरो ध्यान त्यो छिमेकी काकाको आनी बानी चियो चर्चा गरेर रमाइलो हेर्न मन लाग्यो। गज्जबको सिनेमा लाईभ देख्न पाइयो। वल्लो घरको अधबैंसे काका र पल्लो घरको भाउजू। के कुरा हुन्छ त्यो त थाहा भएन! मेरो कोठाको झ्यालबाट भने त्यो दुइटा घरमा हुने प्रेम प्रसंग चाहिँ प्रष्ट देखिन्छ। 
काकाले के संकेत गर्दा हुन, छिमेकी भाउजु पनि ट्याक्क समयमा निस्कनु हुन्छ। भाउजु बार्दलीबाट र काका झ्यालबाट निक्कैबेर मच्ची मच्ची कुरा गर्छन्। कैले काहिँ काका आत्तिएर कोठामा जान्छ्न भने कैले भाउजु स्वात्त भान्छामा दौडेर जानु हुन्छ।
काकी नराम्री पनि हैनन। यता भाउजुको श्रीमान कालेदाइ अलि काले भएनी बानी ब्यहोरा र राम्रै छ। तैपनी यस्तो! सायद, मैले सोचेको जस्तो नभएको पनि हुन सक्छ, सायद भाउजु फरासिली पनि हुनुपर्छ।

हैट, म पनि के भएको? त्यो भाउजु र त्यो काका न मेरो आमा पट्टीको न मेरो बाबा पट्टीको! किन टाउको दुखाउने? किन शंका उप शंका गरेर बस्ने? वाहियात चियो चर्चा! यसरी समय कटाउने मेसो बनेको छ। 

त्रिङ त्रिङ मेरो मोबाइलको घण्टी बज्यो! ठेकेदारले के चाहियो? खाना ल्याइ दिने हो? भनेर पो सोधेको रहेछ। धन्य! मेरो अन्नदाता! अस्तु।