Grab the widget  Get Widgets

Thursday 20 January 2022

Vianet प्रयोगकर्ता

नमस्ते VIANET को साहुजी!
रिस उठ्दा त नमस्ते पनि भन्न मन लाग्दैन हो! तपाइँको अफिसको स्टाफहरु बडा कडा रहेछन् । साहुजीको एक्स्टेन्सन नम्बर दिनुस न म सिधै कुरा गर्छु भन्दा नि दिन्नन। अनि हाम्रो कम्लेन नि तपाईंको कान सम्म पुर्‍याई दिन्नन। कति तर्साएको होला बिचरा कर्मचारीहरुलाई! साहु हो कि राहु! नरिसाउनुस है! चित्त नबुझेको कुरो लेख्नै पर्ने भो। क्यार्ने! तपाईं सम्म पुग्न चन्द्रमामा पुग्ने जस्तै रहेछ! यो साहुजी संग चिनजान भएकाहरुको आँखा सम्म पुग्यो भने साहुजीको दृष्टि सम्म पुगिएला कि भन्ने आशा छ।

साहुजीले सायद! यति सानो काम पनि सल्टाउन सक्दैनस भन्नु हुन्छ होला, हुंदैन भन्दे जा भन्नु हुन्छ होला। अथवा त्यो त आफै सल्टाउनु, त्यस्ता साना तिना कुराहरु मैले गर्ने हो भने तिमीहरूको के काम भन्नु हुन्छ होला। यस्तै समस्याको लागि तिमीहरू जस्ता कर्मचारीलाई तलब ख्वाएर राखेको भन्नु हुन्छ होला। समस्या सल्टाउन नसक्ने भए जागीर छाडेर जा! तं गए आर्को आउँछ, भन्नु हुन्छ होला। बेस्सरी तर्साएको जस्तो लाग्यो। बिचराहरु यो कोरोनाको बेलामा मरीमरी काम गरेर पनि जस पाईन्न भन्दा हुन। हामी जस्ता कम्लेनकारीलाई आतंककारी नै सम्झिंदा हुन् ।

मेरो ईन्टरनेट चलेको छैन हेरि दिनुस न! भनेर कम्लेन दर्ज गरेको थिएँ। तपाईंको कर्मचारीले तपाइँको कम्लेन हाकिम सम्म पुर्‍याइ दिएं अब हाकिमको तजबीज भन्नु भयो। यस्ता कम्लेन त कति आए कति गए भनेर सुन्नु चैं भयो होला र घाममा सुकाइ दिने प्लान गर्नु भयो जस्तो लाग्यो। तर समाधान चैं भएन है। 
उल्टै मरम्मत खर्च भनेर मलाई नै डाम्नु भयो। मेरो घर भित्र मेरो कारणले बिग्रेको भए त ठिकै हो भनेर मैले रकम तिर्ने। तपाईंको कम्पनी Vianet को तार सडकमा लन्ड्र्ङ्ग लत्रीने गरेर राख्ने अनि ट्रकले बसले तानेर लग्यो भनेर हामीलाई रकम तिराउने? तपाईं त खत्राको बेपारी रैछ। माने साहुजी माने!

बिजुलीको एउटा खम्बाबाट आर्को खम्बा सम्म तार लैजाँदा कति उचाईमा राखेको हुनु पर्छ? भनेर तपाईइलाई थाहा छैन? हरेक पटक गाडीहरूले तपाईंले लट्राएर ल्याएको तारलाई छोएर चुडेको रकम हामी जस्तो ग्राहकहरुबाट असुल्ने? 

तपाईको नियत माथी नै शंका छ मेरो। तपाईंले यो तारलाई गाडीले भेट्ने गरी झुण्ड्याएर हामीहरुबाट मरम्मत खर्चको नाममा अनियमित तरिकाले रकम असुलेको हामीलाई मन परेन। हामी मर्कामा परेकाछौं। 

पाठकबृन्द! यस्तो समस्याले म मात्रै पीडित हो कि तपाईलाई पनि भएको छ? कमेन्टमा लेख्नुस है। 

सम्बन्धित ईन्टरनेट प्रदायकले समाधान तर्फ ध्यान दिएर हामीहरुको समस्या समाधान गर्नु हुनेछ। तार झुन्ड्याउने ढंग आफुले नपुर्‍याउने अनि हामीलाई ढाड सेक्ने गरी पैसा असुल्ने काम बन्द गर्नु होला। चेतना भया!

विनय शाक्य
हाल #Vianet प्रयोगकर्ता: मर्ता क्या नहिं कर्ता

Friday 7 January 2022

मेरो सरकारको कार्यालय!

मेरो सरकारको कार्यालय!
जय होस! मेरो सरकारको कार्यालय! एउटा कामको सिलसिलामा मेरो सरकारको कार्यालय धाएको थिएं। एउटा कामको लागि दस पटक बोलायो। यो सरकारको जागिरे हाकिम साबहरुलाई मज्जा आउँछ कि क्या हो?

कामको कुरो बताएं। एउटा निबेदन लेख भन्यो, लेखियो, तोक आदेश लगाएर ल्याउ भन्यो, त्यो पनि ल्याइयो, अनि दश रुप्पेको हुलाक टिकट राखेर दर्ता गर भन्यो, दर्ता पनि गरियो। त्यो १०/- रुप्पेको टिकट के का लागि राखेका हुन मैले कहिले पनि बुझेन। पाठकहरुलाई थाहा छ भने कमेन्ट बक्समा लेखिदिनुस है। 

अब कामको कुरो गरौं भनेर कार्यालयको फाँटका हाकिमको कोठामा पुगेको, हाकिम त बेपत्ता! कता जानु भएको छ भनेर सोध्दा उहाँको श्रीमतीको फोन आएर जानु भयो। अब आर्को दिन आउनुस!

आर्को दिन!
नमस्कार सर! हिंजो अलिकति समयले भेट भएन सर! अँ! घरमा कुकुर पर्खाल चढेर हाम्फालेछ। मेरी श्रीमती त्यो कुकुरको पछि लाग्दा झण्डै खुट्टा भांचेका! अस्पताल पुर्‍याउन पर्‍यो तेसैले चाँडो निस्कन पर्‍यो। 

मलाई खुल्दुली लाग्यो, खुट्टा कुकुरको कि म्याडमको हजुर! भने। एहे कुकुरको नि! खोइ ल्याउनुस त फाइल! मान्छे पनि, कस्ता कस्ता आउंछ्न भने! फाइल दिइयो। 

ए ! हजूरको फाइलमा त एउटा डकुमेन्ट पुगेन नि त्यो राखेर ल्याउनुस है अनि काम हुन्छ है। भनेर मेरो सरकारको हाकिम साब त उता तिर पो फर्कनु भयो।

त्यो डकुमेन्ट लिन म १५ किलोमीटर टाढा सम्म हिंडेर वा बसमा गुडेर जानु पर्छ। हिंजोको हाकिमले केही भन्नू भएन। आज तपाईंले किन भन्नु भयो? भनेर सोध्न जांदा त, हिजो र आज मान्छे नै फरक अनि त्यस्तै छुटपुट हुन सक्छ भनेर त सरकारले हामीलाई सेवा गर्ने अवसर दिएको नि! सरकारको नुनको सोझो त गर्नै परो! कि कसो? त्यो डकुमेन्ट नभई तपाईंको काम नै हुंदैन है, भनेसी म त्यहाँ बसेर काम भएन।

त्यत्रो लामो बाटो धन्न बस चढ्न पाइयो। अनि अफिस पुगेर बेलीबिस्तार लगाएको त! आफ्नो अफिसको हाकिम साबले, त्यति काम पनि गर्न सकेनस? यसो भनसुन गरे भै हाल्छ नि। नभए यसो चिया खर्च सर्च दिएको भए पनि हुन्थ्यो नि! कस्तो लठुवा रैछ। भनेर घोचो सुनाउनु हुन्छ। जो होचो उसैलाई घोचो भनेको यस्तो पो रेछ गांठे! राम राम! 

अस्तिन, सरकारको हाकिमलाई चिया सिया खिलाउन पर्ला जस्तो छ भनेर आफ्नो हाकिम साबलाई कानमा खुसुक्क भन्दा खेरि चैं, सरकारको हाकिमलाई घुस खुवाउने कुरै नगर। घुस लिन्या दिन्या सबै दोषी हुन। कानुनी कार्बाही हुन्छ भनेर चिया खर्च पनि दिएन। आज त्यै मेरै हाकिमले यस्सो चिया चमेना दिएको भए काम बन्थ्यो नि भनेर बोल्नु हुन्छ। आखिराँ! जाँ को भए नि हाकिम ईज अल्वेज राइट पो हुंदो रेछ। थुक्क जागिर! 

फेरि आर्को दिन! 
हिजो र अस्तिको सरकारको हाकिमको फांटबाट आर्को फांटमा भेरिफिकेसनको लागि फाइल पठाउन पर्ने पिउन आएनछ। आर्को मान्छे पनि छैन अनि मैले नै लान्छु नि भनेको त बाहिरीया सेवाग्राहीलाई सरकारी फाइल छुन दिन हुन्न पो भन्छ बा! अब आफ्नो फाइल आफैलाई हेरिराछ। एउटा कोठाबाट आर्को कोठामा आफैले लैजान्छु भन्दा नि नहुने! ए सरकार! तिमीले कस्तो नियम बनाएको? मेरो काम यस्तै यस्तै वाहियात नियमले ढीला हुन गएको छ। तिम्रो घैंटोमा कैले घाम लाग्ने? भनेर सोधेको त आजकाल घैंटो नै छैन अनि यो जाडोमा घाम लाग्नेवाला छैन पो भन्छ बा! 

लौ! आज पनि दिन भरी कुराई मात्रै हुने भो। उता आफ्नो अफिसाँ फेरि यो मान्छे कता घुमेर खाएछ भनेर तारन्तार फोन हानिरा छ। मिस्कल मात्रै कति धेरै भैसकेछ। ह्या ! आज त धर्ना दिएर भएनी काम सकाउन पर्ला भनेको बल्ल तल्ल एउटी दिदी आइन र हाम्रो फाइल लगिन। आज शुक्रबार अब आइतबार आउनुस आजको अफिस समय सक्यो। यो फाइल त दराजमा राख्न लगेको हो पो भन्दिरा।

लौ मेरो सरकार! यस्तो तालले हाम्रो देश कैले अगारी बढ्ने? अस्तु!