Grab the widget  Get Widgets

Friday 7 January 2022

मेरो सरकारको कार्यालय!

मेरो सरकारको कार्यालय!
जय होस! मेरो सरकारको कार्यालय! एउटा कामको सिलसिलामा मेरो सरकारको कार्यालय धाएको थिएं। एउटा कामको लागि दस पटक बोलायो। यो सरकारको जागिरे हाकिम साबहरुलाई मज्जा आउँछ कि क्या हो?

कामको कुरो बताएं। एउटा निबेदन लेख भन्यो, लेखियो, तोक आदेश लगाएर ल्याउ भन्यो, त्यो पनि ल्याइयो, अनि दश रुप्पेको हुलाक टिकट राखेर दर्ता गर भन्यो, दर्ता पनि गरियो। त्यो १०/- रुप्पेको टिकट के का लागि राखेका हुन मैले कहिले पनि बुझेन। पाठकहरुलाई थाहा छ भने कमेन्ट बक्समा लेखिदिनुस है। 

अब कामको कुरो गरौं भनेर कार्यालयको फाँटका हाकिमको कोठामा पुगेको, हाकिम त बेपत्ता! कता जानु भएको छ भनेर सोध्दा उहाँको श्रीमतीको फोन आएर जानु भयो। अब आर्को दिन आउनुस!

आर्को दिन!
नमस्कार सर! हिंजो अलिकति समयले भेट भएन सर! अँ! घरमा कुकुर पर्खाल चढेर हाम्फालेछ। मेरी श्रीमती त्यो कुकुरको पछि लाग्दा झण्डै खुट्टा भांचेका! अस्पताल पुर्‍याउन पर्‍यो तेसैले चाँडो निस्कन पर्‍यो। 

मलाई खुल्दुली लाग्यो, खुट्टा कुकुरको कि म्याडमको हजुर! भने। एहे कुकुरको नि! खोइ ल्याउनुस त फाइल! मान्छे पनि, कस्ता कस्ता आउंछ्न भने! फाइल दिइयो। 

ए ! हजूरको फाइलमा त एउटा डकुमेन्ट पुगेन नि त्यो राखेर ल्याउनुस है अनि काम हुन्छ है। भनेर मेरो सरकारको हाकिम साब त उता तिर पो फर्कनु भयो।

त्यो डकुमेन्ट लिन म १५ किलोमीटर टाढा सम्म हिंडेर वा बसमा गुडेर जानु पर्छ। हिंजोको हाकिमले केही भन्नू भएन। आज तपाईंले किन भन्नु भयो? भनेर सोध्न जांदा त, हिजो र आज मान्छे नै फरक अनि त्यस्तै छुटपुट हुन सक्छ भनेर त सरकारले हामीलाई सेवा गर्ने अवसर दिएको नि! सरकारको नुनको सोझो त गर्नै परो! कि कसो? त्यो डकुमेन्ट नभई तपाईंको काम नै हुंदैन है, भनेसी म त्यहाँ बसेर काम भएन।

त्यत्रो लामो बाटो धन्न बस चढ्न पाइयो। अनि अफिस पुगेर बेलीबिस्तार लगाएको त! आफ्नो अफिसको हाकिम साबले, त्यति काम पनि गर्न सकेनस? यसो भनसुन गरे भै हाल्छ नि। नभए यसो चिया खर्च सर्च दिएको भए पनि हुन्थ्यो नि! कस्तो लठुवा रैछ। भनेर घोचो सुनाउनु हुन्छ। जो होचो उसैलाई घोचो भनेको यस्तो पो रेछ गांठे! राम राम! 

अस्तिन, सरकारको हाकिमलाई चिया सिया खिलाउन पर्ला जस्तो छ भनेर आफ्नो हाकिम साबलाई कानमा खुसुक्क भन्दा खेरि चैं, सरकारको हाकिमलाई घुस खुवाउने कुरै नगर। घुस लिन्या दिन्या सबै दोषी हुन। कानुनी कार्बाही हुन्छ भनेर चिया खर्च पनि दिएन। आज त्यै मेरै हाकिमले यस्सो चिया चमेना दिएको भए काम बन्थ्यो नि भनेर बोल्नु हुन्छ। आखिराँ! जाँ को भए नि हाकिम ईज अल्वेज राइट पो हुंदो रेछ। थुक्क जागिर! 

फेरि आर्को दिन! 
हिजो र अस्तिको सरकारको हाकिमको फांटबाट आर्को फांटमा भेरिफिकेसनको लागि फाइल पठाउन पर्ने पिउन आएनछ। आर्को मान्छे पनि छैन अनि मैले नै लान्छु नि भनेको त बाहिरीया सेवाग्राहीलाई सरकारी फाइल छुन दिन हुन्न पो भन्छ बा! अब आफ्नो फाइल आफैलाई हेरिराछ। एउटा कोठाबाट आर्को कोठामा आफैले लैजान्छु भन्दा नि नहुने! ए सरकार! तिमीले कस्तो नियम बनाएको? मेरो काम यस्तै यस्तै वाहियात नियमले ढीला हुन गएको छ। तिम्रो घैंटोमा कैले घाम लाग्ने? भनेर सोधेको त आजकाल घैंटो नै छैन अनि यो जाडोमा घाम लाग्नेवाला छैन पो भन्छ बा! 

लौ! आज पनि दिन भरी कुराई मात्रै हुने भो। उता आफ्नो अफिसाँ फेरि यो मान्छे कता घुमेर खाएछ भनेर तारन्तार फोन हानिरा छ। मिस्कल मात्रै कति धेरै भैसकेछ। ह्या ! आज त धर्ना दिएर भएनी काम सकाउन पर्ला भनेको बल्ल तल्ल एउटी दिदी आइन र हाम्रो फाइल लगिन। आज शुक्रबार अब आइतबार आउनुस आजको अफिस समय सक्यो। यो फाइल त दराजमा राख्न लगेको हो पो भन्दिरा।

लौ मेरो सरकार! यस्तो तालले हाम्रो देश कैले अगारी बढ्ने? अस्तु!

No comments:

Post a Comment