Grab the widget  Get Widgets

Sunday 27 August 2023

वाहियात

उ एउटा अचम्मको जिन्दगी जिउंदै छ। कहिले पनि सन्तोष लाग्दैन उस्लाई। संधै यो भए, त्यो भएन भनेर कम्ल्पेनको पोको बोकेर हिंडेको हुन्छ। उस्को हाकिमलाई यो अफिस बसेको घर भएन, यो गाडी भएन, उस्को श्रीमान लाई छोरा छोरीको लागि त्यो स्कुल भएन, संधै पसलबाट सामान किनेर ल्याउंदा पनि यो गतिलो भएन भन्छ। अनि हुन्छ चैं के?

हुंदैन र भएन भनेर मात्रै के गर्नु पर्छ त? भन्यो भने अलि राम्रो हुनु पर्‍यो, अलि मिलाउन पर्‍यो भन्छ। के मिलाउने? राम्रो भनेको मापदण्ड के हो? अलि राम्रो भनेको कति राम्रो? नाप जोख गर्न मिल्छ? 

अहं! त्यस्तो त केही छैन तर उस्लाई सन्तोष पार्न सक्ने मान्छे अहिले सम्म जन्मिन पनि सकेन कि क्या हो कुन्नि? भनेर उस्कै शाखा सन्तानहरुले समेत भनिरा सुन्छु।

यस्तो सायद रोग पनि हुन सक्छ होला, संधै अरुको मात्रै राम्रो देख्ने आफ्नो भएको सरसम्पत्ति नपुगेको जस्तो लाग्ने। आफ्नो औकात के हो भनेर नहेरी आर्काको सम्पत्ति र सम्पन्नता हेरेर डाहा गरेर बांच्नु त नचाहिने तनाव बोक्नु जस्तो भएन र? वाहियात!

Tuesday 22 August 2023

घरमा अफिस

साथी मनोजले घरमा नै अफिस राख्दा सजिलो हुन्छ, परिवार पनि संगै हुन्छ, घरको रेखदेख पनि हुन्छ, अनि आनन्द हुन्छ भनेर अफिस घरमा नै राख्यो। घरमा राखेको अफिसको धुमधाम संग उदघाटन पनि गर्‍यो। पाहुना पासाहरुले सबैले राम्रो गर्‍यो पनि भन्यो। राम्रै हुने भो भनेर मनोज दंग पर्‍यो।

घरमा बिजुली बत्ति गयो, आमाले ए मनोज! बत्ती गयो, हेर त फ्युज गाको हो कि? बाहिरबाटै गाको हो? भनेर चिच्याउनु भयो। अफिसको कर्मचारीहरु दंग परो। सर घरमा अफिस राख्दा फाइदा नै हुंदो रैछ। आमाले कति ख्याल गर्नु हुंदो रैछ।

फेरि धारामा पानी आयो। ए मनोज! धारामा पानी आएछ, हेर त बल्ल बल्ल १० दिन पछि पानी आएछ, माथि तान्देउ त! कर्मचारी दंग पर्दै, सरको मेसिन कता छ? म गएर तान्दिम? भनिछे। 

तर तिमीलाई पाइप कता कता जोड्नु पर्छ थाहा हुन्न नि त। भैगो! मै जोड्छु, मै तान्दिन्छु। 

आमा: ए मनोज! ज्वाईंसाब आउनु भाछ, यस्सो मिठाई सिठाई लेराउनु त। मेजमानी मान्नु परो नि।
मनोजको अफिसमा हुने काम भन्दा धेरै त घरको काम ज्यादा देखे पछि मनोजका कर्मचारीहरुले अफिस कतै सार्न मिल्दैन र सर, भन्न थालेछन। अस्तु।

Monday 21 August 2023

लाज

ओहो पासा! के हो? आज अफिस आउँदा आउंदै बिहानै मुख अँध्यारो छ त? फेरि पर्‍यो कि क्या हो? आज को संग पर्‍यो नि पासा? घरमा कि? बाटामा कि? अफिस पुग्दा पुग्दै? अस्मिताले अरुणलाई जिस्काउंदै सोध्यो। 

प्राय लफडा गरेकै हुन्छ अरुणले, कहिँ न कहिँ, लफडा नगरे सम्म खाएकै नपच्ने जस्तो उस्को स्वभाव छ। अस्ति एक जनाले साडी कार्गो गरेर पठाउंदा पाउने ले नपाए पछि हराएको कम्प्लेन गर्न आएको रैछ।

अरुणले यति लामो कथा भन्दियो कि त्यो मान्छेले हराएको कम्प्लेन नै गर्न सकेन। अनि त्यस्तै लफडामा परि रहने भएकोले उस्लाई जस्ले नि जिस्काउने र जिस्काउंदा पनि नरिसाउने उसको राम्रो बानी छ। आज बिहानै उस्को अँध्यारो मुख लाए पछि पक्का लफडा भएछ भनेर अनुमान लगाउन अस्मितालाई गार्‍हो भएन।

अरुण: आज त बिहान बिहान श्रीमती संग लफडा पर्‍यो नि पासा! के गर्ने, छोरोको अगाडि नै लफडा भयो नि। खासमा छोराछोरीको अगाडि लफडा गर्नु हुन्न भनेर आफु चुप्प लाग्नु पर्ने बाध्यता परो नि। नत्र यस्तो रिस उठेको थियो! के गर्ने? भन्न नहुने ब्यथा सार्‍हो भो पासा!
अस्मिता: श्रीमती चैं कस्को नि पासा?

अरुण: आर्काको श्रीमती नि, त्यै भएर त कै गर्न मिलेन नि। आफ्नी त त्यस्ती हकार्ने खाल कि पनि छैन। मेरी श्रीमती त गाई हो गाई! अति सोझिछे। बाङ्गो तिङ्गो कुरा पनि गर्दैन, छोराछोरीको अगाडि पनि कराउन्न। लाज पो भो त पासा छोराको अगाडि ! त्यस्ती स्वास्नीमान्छेले भन्नु नभन्नु भने नि छोराको अगाडि। खासमा मेरो गल्ती पनि थिएन। क्यार्ने? गाली गरि त सकि, मलाई नै औंला देखाएर। फर्काउन मन पनि लागेन बाबै! के लाई चलायो दुर्गन्ध भने झैं आफैलाई लाज। अस्तु।

Sunday 13 August 2023

ग्वांग्रे फंसेछ।

एक जना बेपारीले अस्तिन फुर्ति फार्ती गरेर ग्वांग्रे संग काम लियो। पैसाको चिन्ता नगर्नुस। तपाईंको पैसा कम्पनीले दिएन भने मेरो खल्तिबाटै दिन्छु भन्यो। ग्वांग्रे न थहरियो, पत्याइ दियो। चार महिना मरिमेटी काम गर्दियो। काम फत्ते भयो। अनि अब पारिश्रमिक दिनु परो साउजी भनेर कुरा निकाल्दा अलिक दिन पर्खनुस भन्यो।

ग्वांग्रेले पनि पैसा दिई हाल्छ नि भनेर बीच बीचमा पैसाको कुरा पनि गरेन। काम सकेर एक महिना बित्यो, पैसा आएन, दुई महिना बित्यो पैसा आएन। अनि साउजीलाई सम्झाउन फोन गर्‍यो, अलिक समस्या परेको छ। तपाईको पैसा कहाँ जान्छ र भन्यो। ग्वांग्रेले पत्यायो। 

अब त अति नै भयो, अनि तनाब भयो भनेर ग्वांग्रेल फोन गर्न थाल्यो, फोनको जवाफ आएन, बिस्तारै बिस्तारै फोन उठ्न छाड्यो। फुर्ती फार्ती लगाउने साउजीले त्यति जाबो पैसाको लागि रात दिन फोन किन गर्छ होला। त्यस्को पैसा खाएर भाग्छु र मेरो काठमाडौंमा यत्रो सम्पत्ति छ। हैरान पार्छ भनेर अझै अरुलाई फुर्ती लाउंदै हिंडेको छ भन्ने ग्वांग्रेले थाहा पाए पनि के गर्ने र गन गन गर्ने त हो नि भनेर च्या पसलमा ग्राहकहरुलाई सुनाउंदै रैछ। काँ फसेछ ग्वांग्रे? अहिले टाउको समातेर बसेछ रे!

ए पैसावाला साउजी! ग्वांग्रेको कामको पैसा त दिनु परो नि! अस्तु।

Saturday 12 August 2023

ठिक कि बेठीक ?

गज्जब लाग्छ, किन होला मैले गर्ने कामहरु संधै गलत हुन्छ? गौरवले गुनासो गर्दैथ्यो। 

रंजिता: किन र? के भो आज फेरि?

गौरव: हेर न हिंजो बिहानै मैले बारीमा काम गर्न जान लागेको थिएँ। आमा आएर अहिले बिहान बिहान किन बारीमा जानु पर्‍यो? लामखुट्टेले टोक्छ, भन्नुभो। अनि, आज मज्जाले सुतेर बसेँ। आमा आएर, अहिले सम्म सुतेर बस्छ्स? बारीमा यत्रो काम छ, भन्नुभो। 

रंजिता: हे! यस्तो कुरा त मलाई संधै हुन्छ। आखिरमा आमा त आमा नै हो नि! हिजो तिम्रो स्वास्थ्य ठिक थिएन जस्तो लाग्यो होला, डेङ्गु लाग्छ भन्ने भो होला आमालाई, आज तिम्रो फुर्सद छ, अनि धेरै सुते जस्तो लाग्यो होला, आज छोरा अल्छि भयो जस्तो ठान्नु भो होला। आमाको मन न हो। छोरालाई स्वस्थ्य र स्फुर्त राख्नु पर्छ भन्ने भाको होला। 

गौरव: होला, होला! मैले आमाको मनको कुरो नबुझेको होला। सायद आमाको मुटुको टुक्रा भएर होला।😂

Friday 11 August 2023

यो कस्तो नाता?

जस्मीन: हैन तिमीलाई कति भन्ने यार! चिनी भाको कुरा नखाउ भनेर, तिम्रो श्रीमतीले रोक्दैन? आफ्नो स्वास्थ्यको त ख्याल गर्नु पर्छ नि यार! खोइ ल्याउ, छाड त्यो लालमोन। अनि त्यो पेग पनि छाडिहाल त!

हप्टन: के भन्छ यो केटी! तिमी त यार मेरी बुढी भन्दा नि चर्को रोकतोक गर्छौ यार! मेरी बुढीले कैले काहिँ खाए हुन्छ भन्छ। तिमीले त कैले पनि खानै दिन्नौ यार! तिम्रो बुढालाई पनि यस्तै गर्छौ?

जस्मीन: मेरो श्रीमान त मैले भनेको ठ्याक्कै मान्छ, तिमी जस्तो अटेरी छैन, यार! 

जस्मीन र हप्टन दुबैजना मास्टर डिग्री गरिरहेका दुई देशका नागरिक हुन। दुबै जना बिबाहित पनि हुन। दुबैका दुई दुई सन्तान पनि छ्न। तर आफ्नो डिग्री पढने बेलामा यिनीहरु असाध्यै मिल्ने साथी हुन। कतिले त यिनीहरूलाई श्रीमान श्रीमती पनि भन्दा रैछ्न। तर दुबै जना बिन्दास आ आफ्नो तालमा रमाएर पढदै छन्। कस्ले के भन्छ भन्ने कुरामा मतलव पनि गर्दैनन। 

एक आपसमा अन्तरंग कुराहरु शेयर गरेर मरिमरी हांसेको देख्दा यिनीहरुका बीचमा केहि सम्बन्ध त पक्कै छ जस्तो लाग्छ, जुन कुरा हामीले अनुमान मात्रै लगाउंदा पनि पाप लाग्छ जस्तो भान हुन्छ। यति मिलेका सम्बन्धलाई के नाम दिन मिल्छ? होला मैले त अनुमान लगाउन सकिन। पाठकबृन्दले नै नामाकरण गर्दिनुस है। अस्तु।

Thursday 10 August 2023

त्रिगर

यो "त्रिगर" भन्ने पनि अचम्म नै रैछ। मलाई चित्त नबुझेको बेलामा कसैले पेट दुख्यो मात्रै भन्यो भने पनि "त्रिगर" हुन्छ यार! के भा को होला? ट्रेकिङ हिंडिरहेको केटोले आफ्नो पदयात्री सहयात्रीलाई सुनायो।

सहयात्री: यो त मलाई पनि हुन्छ। कैले काहिँ, मेरा बाले यसो नगर, त्यसो गर भने पनि "त्रिगर" हुन्छ मलाई त। सायद सबैलाई हुन्छ होला चित्त बुझेन भने।

केटो: खोइ! के हो? के हो? एकै छिन रिस उठेर, साम्य भए त हुने हो। मलाई त दिनभर नै एउटा "त्रिगर" ले दिमाग खराब गर्छ यार!
अनि टाउको दुखेर हैरान नै हुन्छ। आज बिहान त्यो खाजा खाने ठाउँमा साहुनीले याँ त बार्गेन गर्न पाउन्न सार! भन्यो। मलाई त्यो साहुनीको कुरोले अहिले सम्म "त्रिगर" भैराछ। कति हेपेको होला जस्तो पो भा छ त हो! 

सहयात्री: हैट! त्यस्तो सानो सानो कुरालाई पनि "त्रिगर" मान्न थाल्यो भने त तिमीले दु:ख दिन्छौ कि क्या हो पासा? यही भीरबाट हाम्फालम कि जस्तो त हुन्न?

केटो: कस्तो ठ्याक्कै मेरो मनको कुरो भनेको पासा! मलाई अहिले नै यस्तै भैराछ। 

सहयात्री: ओहो! हेर पासा! यस्तो पहाडमा हामी घुमीरा छम। यस्तो सुन्दर प्रकृति नजीक आ छम। तिम्रो "त्रिगर" लाई यहीँ छाडेर जाम। जिन्दगीमा धेरै हेर्नु छ, अ थाहा काम गर्नु छ, मरेर समस्या समाधान हुने हैन क्यारे! मरिलानु के छ र यार? यस्तो "त्रिगर" सिगरलाई परित्याग गरेर स्वच्छ जीवन बांच्नु पर्छ, अरुको मात्रै गल्ति देखेर हुन्न नि पासा! तिम्रो कस्ले, के बिगारेको छ र "त्रिगर" हुनलाई?

केटो: हो पासा! हो! तिम्ले वास्तविक कुरा भन्यौ। तिमी संग ट्रेकिङ आएको पनि फाइदै भो। वास्तवमा मेरो घरमा कुरा बुझ्दिने मान्छे नै छैन जस्तो लाग्थ्यो, मलाई! जैले नि सान्सानो कुरामा "त्रिगर" भै रहन्थ्यो। अब मैले आफैलाई बुझ्दैछु। यो पदयात्रामा देखेका कुरा र भोगेका परिश्रमहरुले मेरो मनको बोझ हल्का हुंदैछ। अनि तिम्रो साथले झन मेरो मन चंगा भएको छ।

पदयात्राले मानसिक तनावलाई हटाउन र परिश्रम गर्न सिकाउंछ भन्ने अनुभवमा आधारित यो कथा तपाईंहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। अस्तु।

Tuesday 8 August 2023

ल्वांदे दाईलाई सापटी

ग्वांग्रेको गुनासो, त्यो मेरो ल्वांदे दाईलाई जति भने नि कुरै सुन्दैन। खत्तम छ! उहिले ए ग्वांग्रे! अलिकति पैसा ले न, खांच्चै भो, तंलाई भोलि नै फर्काउँछु भन्यो। अनि बिचरा दाईलाई निकै अप्ठेरो परेको रैछ, भनेर स्वास्नीलाई थाहै नदिई पैसा ल्याम्म दिई हालेँ। 

त्यो मोरो दाईको भोलि अहिले सम्म आएन। जैले नि तेरो पैसा खाएर मर्दिन, त्यति जाबो पैसा नि भनेर अझै उल्टो फुर्ति लाउन छाडेको छैन। अस्ति देखि त मेरो फोन पनि बलक हान्देको जस्तो पो छ त यार!

अस्तिनै, मेरी आफ्नै स्वास्नीले त्यो दाईको हालत खराब छ, पैसा सैसा नदिनु है भन्दैथ्यो, अनि हालत खराब भा बेला मै त सहयोग चाहिने हो नि भनेर स्वास्नी थर्काएको अहिले झल झल याद आउँछ। अहिले स्वास्नीले, मलाई किन नसोधेको भनेर दिन रात हकारेर होन्द्रो मच्चाएर हैरान छ।

त्यो ल्वांदे दाईलाई फोन गरेर मात्रै भएन, अब घर गएर नै माग्नु परो भनेर हिजो घर गएको त त्यो मोरो दाईले घर बेचेर पो गईसकेछ। घर बेचे पछि त अलिकति भे नि पैसा दिन्छ होला भनेको त सम्पर्क बिहिन भा छ। फोन पनि लाग्दैन, अनि कता गयो, गयो। 

अहिले सम्म सम्पर्कमा पनि आएन, मेरो ल्वांदे दाई। हरे! पैसाको  कारोबारले नाता तोडिन्छ भन्थे, के बुद्दिले सहयोग गरेको? अहिले आफै तनावमा छ, ग्वांग्रे! अस्तु।

Monday 7 August 2023

साइको बाजे

पुन्टेको बाजे असाध्यै शंकालु छ। अनि अलि बढी नै साइको पनि रेछ। अस्ति पुन्टेको बाजेले रातभरि खोक्दै थियो। राति पुन्टेले अस्पतालमा जाने कि बाजे? भन्यो। 
बाजे: पर्दैन, अलि चिसो लागेको छ। कफ आइरा छ। म संग भाको बैधको ओखती खाएर सुतुम्ला। ठिक भै हाल्छ।

पुन्टे: लौ त लौ! जे भए पनि भोलि अस्पतालमा जानु पर्छ है बाजे!

बाजे: तेरो दिदीले ओखती जानेको छ, किनेर ल्या न! किन अस्पतालमा जानु पर्ने? 

पुन्टे: तेसो होइन! मैले नाम लेखाम्ला, भोलि त अस्पतालमा नै जाने हो।

बाजे: ल तंलाई जे मन लाग्छ गर!

भोलि पल्ट
अस्पतालमा डाक्टर जचाउंदा बाजेलाई निमोनियां भएको समाचार मात्रै के भनेको थियो, बाजेलाई ज्वरो आउन थाल्यो।

पुन्टे: बाजे लापरबाही नगर्नुस है, तपाईंलाई निमोनियाँ भाको छ।

बाजे: ए..! त्यै त मलाई ज्वरो आएको जस्तो भा छ। थकाइ पनि लाइरा छ। जाडो जाडो भाछ।

बाजेले स्विटर अनि ज्याकेट लगाएर बस्नुभो। पुन्टे छ्क्क परो।

पुन्टे: बाजे ! निमोनियाँ भन्ने बित्तिकै ज्वरो त आउंदैन नि। अस्ति भएको रे, अनि आज ज्वरो आउँछ? अनि डाक्टरले एन्टिबायोटिक चलाइ सके पछि त ज्वरो स्वरो आउंदैन भन्थ्यो त।

बाजे: भनेर हुन्छ, मलाई ज्वरो आको जस्तो भा छ।

पुन्टे: तेसो भए थर्मामिटर राखेर हेर्नुस त? 

ज्वरो नापेर हेर्दा ९८° मात्रै रेछ। बाजेले थर्मामिटर नै पो बिग्रेको होला भन्नुभो। अस्तु।

Sunday 6 August 2023

चुपचाप दादा

दादा आजकाल चुपचाप बस्नु हुन्छ। संधै हंसी मजाक गर्नु पर्ने दादालाई आजकाल के भयो कुन्नि? बोल्न छाड्नु भएको छ। के भो भनेर सोध्दा, झर्केर बोल्नु हुन्छ, केहि भएको छैन। तैंले के गर्न सक्छस र भन्नु हुन्छ।

उता भाउजुलाई सोध्यो भने, खोई तपाईंको दादालाई के भा हो कुन्नि? मैले बोल्यो कि झर्किनु हुन्छ। बोल्नै नहुने भाको छ। मैले जे भन्यो सबै उल्टो बुझ्नु हुन्छ। 

बिहान देखि मैले सेवा नै गरेको छु, तपाईंको दादालाई! अफिस जाने एउटा काम त हो नि! अरु के नै गर्नु हुन्छ र! घरको एउटा सिन्का भांच्ने होइन क्यारे! सारा घर धन्दा मैले नै सम्हालेको छु। 

बिहान बिहान दूध, तरकारी किन्न जाने देखि खाना पकाएर अफिस पठाउने सबै काम मैले नै गर्देको छु। अझै रिसाएर नै बसेका हुन्छन्। झोक्राएर बसेका हुन्छन्। के भो भनेर सोध्यो भने तंलाई के मतलब? भन्नु हुन्छ। घरमा आएका पाहुनाहरुलाई यस्सो हेर्ने पनि गर्दैनन्। 
म त कायल नै भएको छु बाबु!  

के भाको? के भाको। मैले त बुझ्नै सकिन यो बुढेसकालमा, तपाईंको दादालाई। पहिले त यस्तो हुनुहुन्थेन। निकै रोमान्टिक पो थियो, तपाईंको दादा!

देवर: हो भाउजु ! पहिले त्यस्तो रोमान्टिक दादा आजकाल सुनसान भो भनेर नै चिन्ता हो। सबै काम भाउजुले नै गर्नु हुंदो रैछ। दादा त जाबो एउटा अफिसमा जाने रैछ। दिनभर अफिसमा आराम गरेर आउंदा पनि घरको सिन्को नभांच्ने दादा कामै नलाग्ने भाको पो रैछ।

जे होस! भाउजुले नै सबैथोक सम्हालेकाले अहिले सम्म यो परिवार धानिएको रछ, बुझें भाउजु ! बुझेँ ! दादा किन नबोलेको भनेर। बिचरा दादा!

Wednesday 2 August 2023

कति आनन्द !

कुरुवा: डाक्टर साब! मेरो बिरामीलाई अपरेसन गर्नु पर्छ कि नाईं ?
डाक्टर: १०-२० लाख खर्च गर्‍यो भने अपरेसन हुन्छ, तर बिरामी निको नै हुन्छ भन्ने ग्यारेन्टी चैं दिन सकिन्न। अनि होस आउँछ नै भन्ने पनि हुन्न। रिस्क तपाईंहरुले नै लिने हो, हामीले त अपरेसन गरेर कोशिस सम्म गर्ने हो। 
कुरुवा: ट्वाल्ल परिरा अवस्था। खोइ के बुझ्ने? के गर्ने? १०-२० लाख भनेको कताबाट जुराउने? डाक्टरलाई कति आनन्द! भन्दियो पुगो।

अनर्थ

केटी: ओहो ! लाम्खुट्टेले टोकेको ठाउँमा कस्तो चिलाएको?
केटा: ए.. ! त्यसो भए त्यो किरा मार्ने ब्याटले हिर्काउ न !
केटी: ओहो! के बोलेको? आफुलाई कस्तो भैराछ, त्यसमाथि मलाई करेन्ट लगाउने?
केटा: हैन हो ! तिमीलाई चिलाएको ठाउँमा करेन्ट लगाउने भनेको होइन नि, लाम्खुट्टेलाई मार्न पो ब्याटले हिर्काउनु भनेको !

(मैले किरा मार्न भन्दैछु, तिमी आफुलाई भन्दैछौ, के अनर्थ लायौ ! हरे ! मैले के बिराएं ! सरकार ! मैले बोलेको, सबै के बोलेको ? भन्छौ ! हरेक पटक अनर्थ नै लाउंछौ, सरकार!)