Grab the widget  Get Widgets
Showing posts with label Kids. Show all posts
Showing posts with label Kids. Show all posts

20 October 2024

नातिको चर्तिकला

छोरी र ज्वाईं अस्पतालमा थिए। छोरीको चेकजाँचको लागि ज्वाईं पनि केही दिन कुरुवा नै बस्नुपर्ने भयो, र नातिलाई हेरबिचार गर्न घरमा राख्न बाजे-बजैलाई जिम्मा दिए। बाजे-बजैले उत्साहपूर्वक नातिलाई स्याहार्ने जिम्मा लिए। "मेरो नाति, तिमीलाई हामीसँग बस्दा कत्ति रमाइलो हुन्छ है!" बाजेले मुस्कानसहित भने।

साँझको खाना खाएर बाजे-बजैले नातिलाई आंगनमा डुलाउन थाले। नातिले पहिला बाबा मामा भनेर खोज्यो। बाजेले फकाउंदै शान्त बनाउन कोशिश गर्‍यो। नाति त चञ्चले! सधैं उफ्रिरहने, कहिले साइकल दौडाउने त कहिले प्लास्टिकको बल हान्ने। "अब खेल्ने त समय सकियो नि नाति! अब सुते हुन्छ है!" बजैले फकाउंदै भनिन्।
तर नाति कहाँ मान्थ्यो र! "घुम्न जान्छु! खेल्न मन छ अझै!" भनेर झनै उफ्रन थाल्यो। बाजे-बजै हाँस्दै सम्झाउन खोज्थे, "भो, अब सुत्नुपर्छ नानी, भोलि फेरि खेल्न पाइन्छ।" तर नातिको उत्साह बिस्तारै उनको सहनशक्तिको परीक्षा बन्न थाल्यो।

बाजेले नातिलाई कथाहरु सुनाएर सुताउने प्रयास गरे। एकपछि अर्को कथा, बाघको, स्यालको, तर नातिको आँखा अझै चम्किरहेकै थियो। कहिले सिरकमा लुकी घुम्न खोज्ने, कहिले कोठाभरि दौडिने। बाजे, बजै थाकिसकेका थिए, अनि बाजेको आंखा निद्राले भारी हुन थालेको थियो।

रात बित्दै गयो, नातिले एकछिन पनि सुत्ने नाम लिएन। बजै थकाइले आँखा मिच्दै भनिन्, "बाबै, यो त रातभर खेल्ने नै मूडमा छ, हाम्रा छोराछोरीले त यस्तो कहिल्यै गरेको थिएन!"

बिहान उज्यालो हुने बेला तिर मात्रै नाति बल्ल सुते, त्यो पनि बाजे-बजैको बीचमा। "हाम्रा बालबच्चाहरु त यति चञ्चल थिएनन्, बाबै!"

तर नातिको मुहारमा निद्राको सुकून देखेर उनीहरू सन्तुष्ट थिए, थाकेका भए पनि मन सन्तुष्ट थियो। अस्तु।