Grab the widget  Get Widgets

Friday 16 June 2023

तोरी हाकिम

आज च्या पसलाँ एकजना हाकिमले कर्मचारीलाई गुनासो गर्दैथ्यो |

हाकिम: (च्याको चुस्की लिंदै) तपाईंलाई लेख्न नै आउंदैन रैछ, तपाईले लेखेकै मिलेन भन्यो। 

कर्मचारी: (जुंगामा ताउ दिंदै भन्यो), त्यसो भए आफै मिलाएर लेख्नुस न सर!

हाकिम: मलाई लेख्न आको भए तपाईंलाई असिस्टेन्ट राख्ने नै थिएन नि।

ग्वांग्रेलाई मज्जा आयो रे यस्तो तोरी हाकिम देखेर। 
#ग्वांग्रेकोगफ #वाक्कदिक्कहाक्कथुक्क

Monday 12 June 2023

बाठी बुढी

बुढी: खोइ के? खोइ के! नमिलेको! के हो यस्तो बुढा? कामबाट फर्किंदै गर्दा तरकारी सरकारी ल्याउनु पर्दैन? के खाने आज? यस्सो, तरकारी बजारबाट ताजा ताजा तरकारी ल्याए पो मैले बनाई दिन्थें। केहि नल्याउने अनि मैले के पकाई दिम त?

बुढा: हुन त हो क्यारे, बुढी! म अफिसमा सुट्न जान्छु नि! काम त सबै भौमानले गर्दिन्छ, क्यारे! हाकिम पनि भौमान नै छन् । कै काम लाउंदैनन। सुति सुति खा! घरमा तेरो बुढीले कच कच गरेर बसि खान दिन्न भन्ने कुरो म बुझ्छु भन्छ्न। अनि तंलाई सुतेर खान नै भौमानले जन्म दिएको हो, सुतेरै खा, भन्छन।

बुढी: तेसो भन्न खोजेको काँ हो र बुढा! अफिस र बाहिरबाट घर फर्कंदा तरकारी पसलाँ यस्सो कै कै किनेर ल्याए हुन्थ्यो। मेरो पनि त काम हुन्छ नि! दिम्सो अलि अलि सिरियल हेर्नै परो क्यारे! नत्र, तेत्रो पैसा तिरेको असुलउपर नै नहुने भो भनेर अस्ति तिम्ले नै भनेका हैनौ? अनि तिम्रो पैसा असुल्न टेलिभिजन हेर्दिने गर्दिरा नै छु क्यारे! नत्र त त्यो टेलिभिजन किनेको के सार भो र! कत्तिले टेलिभिजन हेर्दिने मान्छे नै छैन आजकाल घरमा भनिरा सुनिराछु। कम्सेकम तिम्रो घरमा त मैले टेलिभिजन हेरेर सदुपयोग गर्दिरा छु नि।
बुढा: हो है, बुढी! तिमीले टेलिभिजन हेर्दिएन भने मेरो पैसा असुल उपर नै नहुने रैछ। त्यो त काईदाको फाईदा भो। अनि तरकारी पसलमा गएर तिमीले किन्न गयो भने पैसा खर्च हुन्छ भनेर पनि बचाई दिएकै छौ क्यारे! मैले पनि किनेर ल्याएँ भने खर्च मात्रै हुने त हो नि भनेर पसलमा यस्सो हेर्दिने काम मात्रै गर्देको छु। मैले पनि बचत गर्न त जानेकै छु। आखिरमा कस्को बुढो? टेलिभिजन हेर्दिएर पैसा असुल गर्दिने श्रीमतीको बुढो हो नि म पनि! कम्ताको बाठी छे मेरी श्रीमती? त्यस्ताकी त बुढो म! अस्तु।

Tuesday 6 June 2023

कसरी टोक्यो त कुकुरले?

आमा: लौ हेर हेर! तेरो दाइ त! कुकुरले टोकाएर बसेछ। अनि कुकुरले कसरी टोक्यो त?

दाई: कसरी टोक्यो भनुम खोइ! तीन वटा कुकुरहरु झगडा गर्दैथ्यो। उनीहरुको झगडाले सडक जाम होला जस्तो लागेर मैले हर्न बजाई दिएँ। टिँ .......टिँ..... त!  

एकै छिनमा तीनैवटा मिलेर मलाई झम्टिन आयो, अनि सल्लाह गरेर तंलाई टोकुम? भन्यो, तीन तीन वटाले टोक्यो भने त म खत्तम भैहाल्छु नि, कुकुर! भन्न भ्याएको थिएन, एउटाले घ्याप्प पारी हाल्योनी। ऐय्या ! 
कुकुर: हाम्रो नामको कुकुरको दाँत तेरो मुखमा पनि छ। हेर मैले टोकेको तेरो गोडाको घाउको दाग र तेरो मुखमा भएको दाग एउटै हुन्छ। भन्यो त्यो मोरो कुकुरले। 

अनि टेकु अस्पतालमा पनि तपाईंलाई त थर्ड डिग्री घाउ लागेको रैछ पो भन्दिरा भन्याँ। ऐय्या बाबा!
 

कुकुरको टोकाई

आफुलाई बिहान बिहान कुकुरले टोकेर हैरान भयो भनेर घर आको त! अनि कुकुरको अगाडि अगाडिबाट हिंड्नु पर्छ? जाँ, जाँ कुकुर छ, त्यतैबाट हिंड्नु पर्छ भनेर पो भन्छ बा! 

कुकुर खेलाएर बस्ने साउनीलाई रेबिजको सुई लाएको कुकुर हो साउनी! भनेको त। हो हो! अस्ति मात्रै सुई लाको हो, तर यो कुकुर मेरो होइन भन्दिरा अवस्था। 
खैर! सडकमा लखर लखर हिंड्दै झगडा गर्दै हिंडेका कुकुरको पछि लाग्नु भन्दा टेकु अस्पतालमा जानु कल्याण भनेर घर फर्केर छोरा सित अस्पताल पुगियो। 

इमर्जेन्सीमा कोहि छैन। झण्डै आधा घण्टा पछि डाक्टर र नर्स आईपुग्नु भो। घाउ गहिरो भएकोले थर्ड डिग्री भन्दो रैछ। घाउलाई डिटल पानीले पखालेर मल्हम लगाउनु तर नछोप्नु भन्नु भयो। 

जनावरहरुलाई मायाँ गर्दा जनावरहरुले पनि टोकेर मायाँ गर्छ कि क्या हो? पोहोर बांदरले मायाँ गर्‍यो। आज एक बर्ष २० दिन हुंदा कुकुरले मायाँ गर्‍यो।

आज दुइटा रेबिजको सुइ र एउटा टिटानस गरी ३ वटा सुइ लगाईयो। अब फेरि तीन दिन पछि दुइटा लाउन पर्ने भो। जनावरले टोकेको बेलामा आत्तिनु भएन। साबुन पानी, डेटल पानीले घाउ पखाल्न नबिर्सनु होला। अनि काठमाडौंमा भए टेकु अस्पतालमा तुरुन्तै जानु होला। पहिले डोज २४ घण्टा भित्र लगाएर आफु सुरक्षित रहनु होला। अस्तु।

Sunday 4 June 2023

समय

हरि: त्यो मान्छेले मलाई दु:ख दिनु दियो नि! घरी यो मिलेन भन्छ, घरी त्यो मिलेन भन्छ, घरी अख्तियारले समाउंछ भनेर तर्साउंछ। आफ्नो हात तल परेको बेलामा सबै सहनु पर्छ भनेर मैले सहेरै बसें। अब त्यस्ले बल्ल चाल पाउन थालेछ, यो मान्छेको पनि पालो आउंदो रैछ भनेर। बिहान बेलुकी सभ्य भाषामा बोल्न थालेछ। अकस्मात त्यो मान्छेमा परिवर्तन आएको देखेर यो मान्छे पनि चकित भएछ। बुझिस रामे! 

रामे: के भयो त! अब बल्ल तेरो पावर त्यो मान्छेले बुझ्दै होला नि! समय संधै बलवान हुन्छ भन्ने बुझ्दैछस नि। मैले भनेको कुरोको महत्त्व अब त बुझिस होला नि! तं पनि त्यो बेलामा रिसाएर त्यो संग बाझाबाझ गरेको भए अहिले तंलाई बिहान बेलुकी हजूर का हजूर लाएर फोन गर्दैनथ्यो होला नि। धन्न त्यो बेला मेरो कुरा खाएछस। नत्र तेरो पनि त खैरियत थिएन नि!  

हरि: त्यो त हो! यति रिस उठेको थियो कि, मुक्का सुक्का हान्दिम जस्तो भाथ्यो! तैंले न रोकेको भए, नाक साक भांच्दिन्थें। धन्न, तं बिचमा आइस र रोकिस। नत्र म पनि कुटपिटमा झ्यालखानामा बसेको हुन्थेंकी। 

समय बलवान हुन्छ, समय सबैको आउँछ। सम्यम अपनाउनु पर्छ। अस्तु।

Saturday 3 June 2023

मन मरेको मान्छे!

आजकल मन मरेको मान्छे भन्छन मलाई! तर, थाहा छैन मलाई नै, कैले देखि मेरो मन मरेको रैछ? तर पनि भन्नेले भन्न छाडेको छैन। जाने जति काम गर्देकै छु, सक्ने जति सहयोग गर्देकै छु। तै पनि मलाई मेरो मरेको छ भनेर आर्काले भन्दिन्छन।

अहिले त सांच्चै नै मेरो मन मरेको हो कि जस्तो पो लागेको छ। म तनाबमा पो छु कि? जस्तो लागेको छ। संधै होच्याउने मान्छेहरुले भनेको कुरो सांच्चै पो हो कि जस्तो भाको पो छ त! कतै मेरो मन मरेकै पो हो कि? कस्लाई पो सोधुम खोइ?
संजयले यस्तो कुरा गरेको देखेर मलाई पनि चित्त दुख्यो। बिचरालाई आफ्नै मान्छे भनाउंदाहरुले मन मरेको मान्छे भनेर बारम्बार होच्याउने गर्दा रैछन। संधै संधै एउटै कुरो दोहर्‍याएर भन्नाले सुन्ने मानिसको मगजमा तनाव बढदै जांदा सांच्चैकै मन मर्न सक्छ। 

संजयले मनको बह आफ्नो श्रीमतीलाई भनेको पनि रैछ। श्रीमतीले पनि, तिमी त त्यस्तै त छौ नि! भनेर झन मन मर्ने कुरा थपेको रैछ। धन्न मलाई सुनायो। मैले उसको कुरा ध्यान दिएर सुनेको देख्दा उसको मन हल्का भएछ। बास्तबमा उस्को मन मरेको हैन उस्का कुराहरु उसकै नजीकका मानिसहरुले बुझ्न नसकेर मन मरेको जस्तो मात्रै भएको रैछ।

मन त मनै हो। मन मार्न खोज्ने मान्छेहरु खोज्न कतै जानु पर्दैन। मनका हत्याराहरु वरपर घुमेका हुन्छ्न। आफ्नो मन आफैले सम्हाल्नु पर्छ। अरुलाई दोष दिएर मन सम्हाल्न सकिन्न। मन मरेको मान्छे भन्नेले भन्दै गरून् । आफ्नो मन आफ्नै हुन्छ। अस्तु।