Showing posts with label Satipathan. Show all posts
Showing posts with label Satipathan. Show all posts
01 January 2026
17 April 2025
चिया पिउने बेलामा ध्यान (Tea Meditation)
एक कप चियाको चुस्कीको अद्भुत अनुभूति
त्यो एक कप चियाको चुस्की, सतिपठान ध्यानको अभ्यासमा डुबेर जब लिइयो, त्यसले मेरो चेतनाको ढोका फराकिलो पारिदियो। चियाको कप समात्ने बित्तिकै औंलाहरूले तातोपनको अनुभूति गरे | हरेक औंलाले छुट्टाछुट्टै तरिकाले तातोपन महसुस गर्यो, कोहीले बढी, कोहीले कम। मानौं मेरो हातका पञ्चेन्द्रियहरूले आ–आफ्नो लयमा तातोपनाको अनुभव गरिरहेका थिए।

चियाको कप मुखतिर लैजाँदा, अनायासै त्यसको तौल महसुस हुन थाल्यो। यसअघि कहिल्यै अनुभव नगरेको भारीपन थियो | सायद सधैं त्यही नै तौलको थियो, तर चेतनाको उपस्थितिमा त्यो तौलले पनि आफ्नै कथा सुनायो। हातको सुस्त गति, नाडीको झुकाव, सन्तुलनको प्रयास सबैथोक फरक थियो, मेरो अनुभूतिमा।
अझ चियाले जिब्रोलाई छुने बेलासम्म त भर्खर ओंठले चियालाई स्वागत गरेको जस्तो अनुभव भएको थियो। त्यो हल्का तातो बाफ, जसले जिब्रोभन्दा पहिला नै ओंठमा कोमल स्पर्श गर्यो, जसले मलाई समयमै सतर्क गरायो, ‘अब चियाको ताप आउनेछ।’ भनेर, अनि बल्ल जिब्रोले चियाको स्वाद चाख्न पायो | त्यो स्वाद पनि सामान्यभन्दा गहिरो लाग्यो, त्यो तातोपन शरीरभित्र फैलिएको जस्तो, एक किसिमको आनन्दित तरल प्रसाद जस्तो।
त्यो एक चियाको चुस्कीमा, मैले केवल चिया पिएको होइन, मैले चियालाई महसुस गरेको थिएँ। हरेक स्पर्श, हरेक बाफ, हरेक स्वादमा जीवनको सूक्ष्मता भेटिएको थियो। जुन चिया हिजोका दिनहरुसम्म केवल पिउने मात्रै बानी थियो, आजको दिनमा त्यो नै पूजा जस्तो लाग्यो | ध्यान गरेर सचेत भएर चिया पिउँदाको क्षण पनि कति पवित्र र गहिरो हुन्छ भन्ने जीवन्त प्रमाण सतिपठान ध्यान गरेर चिया पिउँदा अनुभव भयो | अस्तु
29 October 2024
ध्यानमा झिंगाको महत्त्व
सतिपठान ध्यानको गहिराइमा पुगेको थिएँ। आँखा चिम्म गरेर, श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्दै, आफ्नै शरीरका अंगहरुलाई नजिकबाट हेर्दै थिएँ। एक्कासि, मुखको कुनामा हल्का केही चलायमान भएझैं महसुस भयो। आँखा खोलेर हेर्नु त भएन! तर मेरो अनुहारमा केही चीजले कुस्ती खेल्न थालेछ। मनमा एकछिन त झर्को पनि लाग्यो। अनि ध्यान गरेर महसुस गर्दा त झिंगा पो रैछ। अहिले मस्त ध्यान गरिराखेको समयमा यति सानो झिंगाले पनि डिस्टर्ब गर्दो रैछ। तर हात चलाउन मिलेन।
अनि फेरि सोचेँ, आखिर सतिपठान ध्यान भनेकै हरेक अंग अंगमा हुने क्रियाकलापलाई गहन रुपमा नियालेर महसुस गर्ने त हो। हरेक क्षण क्षणका अनुभवलाई पूर्ण रुपमा नजिकबाट अनुभूत गर्नु नै ध्यान हो। त्यसैले यो झिंगालाई पनि मेरो ध्यानको एउटा हिस्सा बनाउन पर्यो भनेर म निर्णयमा पुगेँ।
झिंगाले मेरो ओठको माथिल्लो भागमा पखेटा चलाउँदै बस्दै उड्दै अनि भुं भुं गर्दै घुम्दै थियो। मलाई उसका स-साना पाइलाहरू मुखको छालामा नाचिरहेको अनुभव हुन थाल्यो। त्यसको हल्का वजनले मलाई आफ्नो अनुहारको संवेदनालाई अझ प्रस्ट बुझ्न सहयोग गर्यो। यो सानो झिंगाको स्पर्श पनि कति सूक्ष्म तरिकाले मेरो धैर्यता र सजगता परीक्षण गरिरहेको रहेछ।
त्यसपछि झिंगाले नाकको डाँडीमा उफ्र्यो। म शान्त थिएँ, अनुहारमा हाँसोको रेखा खिचियो। झिंगाले ध्यान भंग गर्न खोजेको होइन, उ त उसको संसारमा रमाई रहेको हो। त्यसैबेला आर्को झिंगा भुरुर उडेर हेलिकप्टर झैं नाकाकै डांडीमा ल्याण्ड गर्यो। अब एउटा होइन दुइटा झिंगा मेरो नाकको डांडीमा बसेको थियो। तर ती दुई जना भाले र पोथी झिंगा परेछन। कतै ठाउँ नपाएर मेरो नाकको डांडीमा रोमान्स गर्यो जस्तो लाग्यो, आँखा खोल्न मिलेन, हेर्न पनि मिलेन। तर उनीहरुको चाल भने नाकैमा अनुभुती भै रह्यो। झिंगाको रंगमञ्च भएछ मेरो नाकको डांडी। मेरो नाकको संसारमा उनीहरुले छोटो रोमान्टिक यात्रा गरिरहेको मात्र रहेछ, भनेर म आफैँलाई सम्झाउँदै थिएँ। उनीहरुको सानो शरीरमा रहेका अघिल्ला हातहरु चलाएको, पखेटा हल्लाएको, हल्का स्पर्श — यी सबै मेरा अनुभवको अभिन्न हिस्सा भए। यो झिंगाले मेरो ध्यानमा नयाँ आयाम थपिदियो। अनि अबिस्मरणीय पनि रह्यो।
त्यसपछिको केही पलहरूमा मैले सोचेँ, "झिंगाको पनि महत्त्व रहेछ। हाम्रो संसारमा सधैं उपेक्षित यो प्राणी र संसारको जीबहरुमध्येको एउटा हिस्सा, झिंगा। अनि कति साना साना चिजहरूले पनि हाम्रो जीवनलाई फरक पार्छन्।" भन्ने कुरा बुझियो।
झिंगाको झर्कोलाग्दो उपस्थितिले मलाई अनुहारका प्रत्येक स्नायु, प्रत्येक संवेदनाको साक्षी बनायो। उसले पनि आफ्नो जीवनको अभिव्यक्ति देखाउन खोजिरहेको थियो, शायद उसले सोचेको थिएन होला कि उसको स्पर्शले मलाई ध्यानको अर्को तहमा पुर्याउँछ, भनेर। म झिंगालाई धन्यवाद दिन चाहन्छु, किनकी उसले मलाई सतिपठान ध्यानको वास्तविक अर्थ अझ गहिरोसँग अनुभव गर्न मद्दत पुर्यायो।
झिंगाको साथमा मेरो ध्यानको यात्रा यसरी सम्पन्न भयो — जहाँ साना साना चिजहरू पनि ठूलो अर्थ राख्छन्। अस्तु।
29 September 2024
उभिने ध्यान (Standing Meditation)
उभिने ध्यान:
उभिएर ध्यान गर्दा शरीरको सजगता बढाउन आवश्यक छ। यसका लागि तौल समान रूपमा खुट्टामा बाँड्ने, आरामदायी ठाउँ रोज्ने, शान्त वातावरणमा ध्यान गर्ने र मनको विकार हटाउनको लागि ध्यानपूर्वक रहनु उपयुक्त हुन्छ।
ध्यान गर्ने तरिका:
उभिएर ध्यान गर्दा शरीरको सजगता र सन्तुलनलाई ध्यानमा राखिन्छ। तलका चरणहरू पालना गर्न सकिन्छ:
१. सिधा उभिने: आफुलाई अनुकुल हुने गरि जमीनमा मजबुत भएर उभिनुहोस्। ढाड सिधा हुनुपर्छ र शरीरलाई आरामदायी बनाउनुस्।
२. सासको ध्यान: ध्यानपूर्वक सास लिनुहोस् र निकाल्नुहोस्। सासको गति र यसको गहिराइलाई ध्यान दिनुहोस्। पेट फुलेको र सुकेको ध्यान दिनुहोस्।
३. शरीरको अनुभव: खुट्टाले जमीनमा टेक्दा, जमीनको स्पर्श, मस्तिष्कसम्मको सम्पूर्ण शरीरको अनुभव गर्नुहोस्। शरीरको कुनै अंगमा कस्तो ठाउँमा कस्तो अनुभूति भइरहेको छ भनेर सजग हुनुहोस्।
४. चेतनाको प्रवाह: शरीरको पांच इन्द्रियहरुमा भएका संबेदनाहरुमा ध्यान केन्द्रित गर्दै क्रमशः मनलाई शान्त पार्नुहोस्।
५. समय: सुरुमा ५-१० मिनेट जति उभिएर ध्यान गर्न सकिन्छ, विस्तारै यो समय बढाउन सकिन्छ।
फाइदा:
१. सजगता बढ्छ: सतिपठान ध्यानले शरीरको हरेक गतिविधिमा सजगता ल्याउँछ।
२. सन्तुलन: शारीरिक र मानसिक सन्तुलन राख्न मद्दत गर्छ।
३. सांसारिक तनाव कम गर्छ: दैनिक तनाव र चिन्ताबाट मुक्ति दिलाउँछ।
४. एकाग्रता: ध्यानले मनको एकाग्रता र शान्ति ल्याउँछ।
साबधानी:
१. नयाँ व्यक्तिहरूका लागि कठिनाई: उभिएर लामो समय ध्यान गर्दा सुरुमा असहज हुन सक्छ।
२. शरीरमा थकान: शारीरिक रूपमा बलियो नभएको खण्डमा लामो समयसम्म उभिएर ध्यान गर्दा शरीरमा थकान हुन सक्छ।
३. सुरुवाती अवस्थामा ध्यान भङ्ग: उभिएको अवस्थामा मनलाई स्थिर राख्न गाह्रो हुन सक्छ, जुन समयसँगै सुध्रिन्छ।
कस्तो ठाउँमा गर्ने?
शान्त र स्वच्छ वातावरणमा उभिएर ध्यान गर्न उपयुक्त हुन्छ। माटो, घाँस वा काठको सतहमा उभिएर ध्यान गर्दा शरीरको ऊर्जा सन्तुलित रहन मद्दत गर्छ। अर्थिङ अथवा पृथ्वी तत्वसंग सिधा सम्पर्कमा आउने हुंदा शरीरको उर्जालाई उजागर गर्न मद्दत गर्ने ठाउँमा उभिने ध्यान गर्न उपयुक्त हुन्छ।
को-कस्ले गर्ने?
साधकहरू: जो नियमित ध्यान गर्छन्।
व्यस्त मानिसहरू: छोटो समयमा सजगता र एकाग्रता बढाउन चाहनेहरूले गर्न सक्छन्।
योगीहरू: उभिएर ध्यानले शरीरलाई बलियो बनाउन र आत्म-चेतना बढाउन मद्दत गर्छ।
प्रत्येक व्यक्ति: जो सजगता र शान्ति खोज्छन्, सबैले उभिएर ध्यान गर्न सक्छन्।
किन गर्ने?
सजगता विकास: शरीर, मन र श्वासप्रश्वासमा सजगता ल्याउन।
स्वास्थ्य सुधार: मानसिक र शारीरिक स्वास्थ्यलाई राम्रो बनाउन।
मानसिक शान्ति: मानसिक शान्ति प्राप्त गर्न।
ध्यानको प्रगति: ध्यानलाई थप गहिरो र शक्तिशाली बनाउन।
सतिपठान ध्यानको यो विधि नयाँ र अनुभवी साधकहरूका लागि उपयोगी मानिन्छ।
20 September 2024
चङ्क्रमण ध्यान (Walking Meditation)
चङ्क्रमण ध्यान (चलिरहेको ध्यान) शारीरिक गतिविधिमा आधारित ध्यानको एक प्रकार हो। यसको नाम "चङ्क्रमण" बाट लिइएको हो, जसको अर्थ "हिँड्नु" हो। चङ्क्रमण ध्यान, सामान्यतया, चलिरहेको वा हिँड्ने ध्यानको रूपमा बुझिन्छ। यस ध्यानमा ध्यानकर्ताले हिँड्दा वा चल्दा आफ्नो हरेक पाइलामा पूर्ण सजगता राख्छ, जसले उनीहरूको चित्तलाई वर्तमान क्षणमा एकाग्र गर्न मद्दत गर्दछ।
किन गर्ने?
चङ्क्रमण ध्यानको धेरै फाइदाहरू छन्:
१. वर्तमानमा बस्न मद्दत गर्ने: यस ध्यानले हरेक पाइलामा सजगता र चनाखोपन ल्याउँछ, जसले मनलाई वर्तमान क्षणमा एकाग्र बनाउन मद्दत गर्दछ।
२. तनाव कम गर्ने: शारीरिक गतिविधिमा आधारित ध्यान गर्दा मन र शरीरमा उत्पन्न भएको तनावलाई कम गर्न मद्दत हुन्छ।
३. शारीरिक स्वस्थता: यो ध्यान शारीरिक चलायमान क्रियाकलापमा आधारित छ, जसले शरीरलाई हलचलमा राख्न र स्वस्थ राख्न मद्दत गर्छ।
४. दिमागलाई शान्त पार्ने: चल्दा श्वासप्रश्वासमा र शरीरका चालचलनमा ध्यान दिनाले मनलाई शान्त पार्न र बेचैनी वा चिन्तालाई घटाउन मद्दत गर्छ।
५. ध्यानको निरन्तरता: लामो समयसम्म बसेर ध्यान गर्न कठिन भएमा, चङ्क्रमण ध्यानले सरल तर प्रभावकारी तरिकाले ध्यानको अभ्यास जारी राख्न मद्दत गर्दछ।
कसले गर्ने?
चङ्क्रमण ध्यान सबै उमेरका व्यक्तिहरूले गर्न सक्छन्। विशेष गरी:
ध्यानको सुरुवाती साधक: ध्यानमा नौसिखुवा भएका व्यक्तिहरूले यस ध्यानको सजिलो विधि अपनाउन सक्छन्।
ध्यानमा लामो समयसम्म बस्न कठिनाई भएको व्यक्तिहरू: कुनै कारणले लामो समयसम्म बस्न नसक्ने व्यक्तिहरूले चङ्क्रमण ध्यान गर्दा शारीरिक सक्रियता कायम राखेर ध्यान गर्न सक्छन्।
शारीरिक रूपमा सक्रिय रहन चाहनेहरू: शारीरिक स्वस्थता र ध्यानको संयोजन खोज्ने व्यक्तिहरूले यसलाई गर्न सक्छन्।
कसरी गर्ने?
१. सही स्थान चयन गर्ने: शान्त र खुल्ला ठाउँ जहाँ सजिलै हिँड्न सकिन्छ। बगैंचा, पार्क, वा खुला क्षेत्रमा यो ध्यान गर्न उपयुक्त हुन्छ।
२. सजग भएर हिँड्न सुरु गर्ने: चङ्क्रमण ध्यानमा पहिलो पाइला सजग भएर हिँड्न थाल्नु हो। हरेक पाइलामा आफ्नो खुट्टा जमीनमा कसरी स्पर्श गर्छ भन्ने कुरामा ध्यान दिनुहोस्।
३. शरीरको चालचलनमा ध्यान केन्द्रित गर्ने: हिँड्दा आफ्नो खुट्टा कसरी उठ्छ, कसरी अघि बढ्छ र जमीनमा स्पर्श हुन्छ भन्ने कुरालाई सजग भएर अवलोकन गर्नुहोस्।
४. श्वासप्रश्वासको अवलोकन गर्ने: हिँड्दै गर्दा श्वासप्रश्वासको लयमा ध्यान दिनुहोस्। श्वासलाई कुनै बल नगरी प्राकृतिक रूपमा लिने र छोड्ने काम गर्नुहोस्।
५. मनमा आएका विचारहरूलाई नजरअन्दाज गर्ने: हिँड्दा मनमा आएका विचारहरूलाई प्रतिक्रिया नगरी तिनीहरूलाई जान दिनुहोस्। केवल वर्तमान क्षणमा रहन प्रयास गर्नुहोस्।
६. बिस्तारै गति परिवर्तन गर्ने: सुरुमा विस्तारै हिँड्न थाल्नुहोस् र अभ्यासअनुसार गति परिवर्तन गर्न सक्नुहुन्छ। मुख्य कुरा सजगता कायम राख्नु हो।
कुन बेला गर्ने?
चङ्क्रमण ध्यान दिनको कुनै पनि समयमा गर्न सकिन्छ। तर केही विशेष समय यसप्रकार छन्:
बिहानपख: शान्त वातावरणमा अभ्यास गर्दा मन र शरीरलाई ताजगी महसुस हुन्छ।
लामो समय बस्ने ध्यानपछि: ध्यानको सत्रको बीचमा छोटो चङ्क्रमण ध्यान गरेर ध्यानको अभ्यासलाई ताजा राख्न सकिन्छ।
विश्राम लिन चाहिँदा: यदि मानसिक थकान छ भने, हिँडेर ध्यान गर्नाले दिमागलाई ताजगी दिन्छ।
फाइदा:
१. शारीरिक र मानसिक लाभ: यसले शारीरिक रूपमा सक्रिय रहन मद्दत गर्छ भने, मानसिक रूपमा चनाखो र स्थिर राख्छ।
२. तनाव र चिन्ता घटाउने: हिँड्दा शारीरिक चलायमानतासँगै मनलाई शान्त राख्न यसले सहयोग गर्छ।
३. मनलाई एकाग्र गर्ने: मनमा आउने अनावश्यक विचारहरूलाई कम गर्दै मनलाई वर्तमान क्षणमा एकाग्र राख्न मद्दत गर्छ।
४. ध्यानको निरन्तरता: लामो ध्यान सत्रमा विश्रामका लागि चङ्क्रमण ध्यान गर्नाले ध्यानको निरन्तरता कायम राख्न मद्दत गर्दछ।
साबधानी:
१. प्रारम्भिक रूपमा सजिलो भए पनि गहिराइमा प्रवेश गर्न कठिन: लामो समयसम्म हिँड्दा शरीर थाक्न सक्छ, जसले ध्यानमा बाधा पुर्याउन सक्छ।
२. स्थानको आवश्यकता: चङ्क्रमण ध्यानका लागि खुला ठाउँ आवश्यक हुन्छ, जुन सधैं उपलब्ध नहुन सक्छ।
३. शुरुआतीका लागि सजगता कायम राख्न कठिनाई: यो ध्यान गर्दा हिँड्न र मनलाई पूर्ण सजग राख्न गाह्रो हुन सक्छ, विशेष गरी नवप्रवेशीहरूका लागि।
चङ्क्रमण ध्यान साधारण तरिकाले वर्तमानमा रहन सिकाउने ध्यान प्रविधि हो, जसले शारीरिक र मानसिक रूपमा सन्तुलित रहन मद्दत गर्छ।
Subscribe to:
Posts (Atom)