Grab the widget  Get Widgets

17 April 2025

चिया पिउने बेलामा ध्यान (Tea Meditation)

एक कप चियाको चुस्कीको अद्भुत अनुभूति 

त्यो एक कप चियाको चुस्की, सतिपठान ध्यानको अभ्यासमा डुबेर जब लिइयो, त्यसले मेरो चेतनाको ढोका फराकिलो पारिदियो। चियाको कप समात्ने बित्तिकै औंलाहरूले तातोपनको अनुभूति गरे | हरेक औंलाले छुट्टाछुट्टै तरिकाले तातोपन महसुस गर्यो, कोहीले बढी, कोहीले कम। मानौं मेरो हातका पञ्चेन्द्रियहरूले आ–आफ्नो लयमा तातोपनाको अनुभव गरिरहेका थिए।

चियाको कप मुखतिर लैजाँदा, अनायासै त्यसको तौल महसुस हुन थाल्यो। यसअघि कहिल्यै अनुभव नगरेको भारीपन थियो | सायद सधैं त्यही नै  तौलको थियो, तर चेतनाको उपस्थितिमा त्यो तौलले पनि आफ्नै कथा सुनायो। हातको सुस्त गति, नाडीको झुकाव, सन्तुलनको प्रयास सबैथोक फरक थियो, मेरो अनुभूतिमा।

अझ चियाले जिब्रोलाई छुने बेलासम्म त भर्खर ओंठले चियालाई स्वागत गरेको जस्तो अनुभव भएको थियो। त्यो हल्का तातो बाफ, जसले जिब्रोभन्दा पहिला नै ओंठमा कोमल स्पर्श गर्‍यो, जसले मलाई समयमै सतर्क गरायो, ‘अब चियाको ताप आउनेछ।’ भनेर, अनि बल्ल जिब्रोले चियाको स्वाद चाख्न पायो | त्यो स्वाद पनि सामान्यभन्दा गहिरो लाग्यो, त्यो तातोपन शरीरभित्र फैलिएको जस्तो, एक किसिमको आनन्दित तरल प्रसाद जस्तो।

त्यो एक चियाको चुस्कीमा, मैले केवल चिया पिएको होइन, मैले चियालाई महसुस गरेको थिएँ। हरेक स्पर्श, हरेक बाफ, हरेक स्वादमा जीवनको सूक्ष्मता भेटिएको थियो। जुन चिया हिजोका दिनहरुसम्म केवल पिउने मात्रै  बानी थियो, आजको दिनमा त्यो नै पूजा जस्तो लाग्यो | ध्यान गरेर सचेत भएर चिया पिउँदाको क्षण पनि कति पवित्र र गहिरो हुन्छ भन्ने जीवन्त प्रमाण सतिपठान ध्यान गरेर चिया पिउँदा अनुभव भयो | अस्तु 

No comments:

Post a Comment