मलेसिया डायरी
बैठक सुरु हुनु अघि एकजना म्याडम ठाँटिएर बैठक कक्षमा आउनु भयो, हातमा एउटा घांसे रंगको झोला बोकेर। त्यो देख्नेबित्तिकै मेरो हाकिमको आँखा त्यसैमा गढ्यो। झोलातिर औंलो ठड्याउँदै भन्नु भयो,
"त्यो त मेरो झोला जस्तो छ नि!"
"तपाईंको कहाँ हो र! यो त मेरो बोसको हो।"
"ओहो! कस्तो मिल्दोजुल्दो!" हाकिमले भन्नू भयो। "झोलाको साइज, रंग, ब्राण्ड, सबै कस्तो मेरो नै झोला जस्तो।"
म्याडमले पनि प्रष्ट पार्न भ्याइन्,
"मेरो बोसले अहिलेको बैठकका लागि लैजान भनेको हो।"
"एह!" हाकिमको मुखबाट छुट्यो— तर कस्तो सेम, क्या!
बैठक सुरु हुने बेला भयो। सबैजना आ-आफ्नो कुर्सीमा बसिसके थियो र बोस पनि आइपुग्नुभयो—तर हात रित्तै! झोलाको झल्कोसम्म छैन।
हाकिमले झट्ट भन्नु भयो,
"बोस, मैले त्यो झोला त पाएको छैन नि। बैठकका कागजातहरू त झोलामै छन्।"
बोसले म्याडम तिर हेर्नुभयो। हाकिमले पनि हेरे र भनिहाल्नुभयो,
"कतै त्यै झोला मेरो त होइन?"
म्याडम अलमलिइन्। अनुहार रातो, कान रातै—बल्ल सम्झिइन्।
"ओहो! माफ गर्नुहोस् है! मैले मेरो बोसको हो भनेर ल्याएकी थिएँ। तपाईंले सोध्दा पनि 'हैन' भनेकी। यो त तपाईंको झोला पो रहेछ!"
हाकिमले आश्चर्य दृष्टि दिँदै भन्नुभयो,
"त्यै त! मैले सुरुमै भनेको त, तपाईंले होइन भन्नुभो, म पनि चुप लागें।"
त्यसपछि, बैठकको माहोल कस्तो भयो होला? कल्पना गर्नुहोस्—एक थान झोलाले बैठकको सुरुवात हाँसोमै उडाइदियो। झोला एउटा थियो, तर हाँसोले पाँच वटा शाखा पलायो। कसैले झोला ‘ब्राण्डेड’ भनेर हाँसे, कसैले 'झोला जस्तै दोहोरो संवाद' भनेर।
बैठक सुरु त भो, तर ‘एजेन्डा नम्बर १’ झोलाले नै खायो। अस्तु|
अरू यस्तै रमाइला ब्लगहरू पढ्न मन छ भने प्रतिक्रिया लेख्न नबिर्सनु होला!
#मलेसियाडायरी
No comments:
Post a Comment