मालिराम फुलबारीको गमलामा उम्रिएका फुलहरूसँग बोल्न रमाउँथ्यो। उसको दिनचर्या बिहान उठेपछि र बेलुकी कामबाट फर्किसकेपछि फुलहरूसँग कुराकानी गर्दै, तिनलाई पानी हाल्दै र स्याहारसुसार गर्दै रमाइलोका साथ चलिरहेको थियो। ती फुलहरु उसको जीवनको अंश बनेका थिए। जति नै दु:खद दिन आए पनि, गमलाका ती बिरुवाले उसलाई शान्ति र ऊर्जा दिन्थे।
तर, त्यो एकदिन—जसलाई मालिरामले कहिल्यै बिर्सन सकेन। हावाहुरीले ती गमलालाई उडाएर सखाप पारिदियो। फुलका कोमल पातहरु च्यातिएर आकाशतिर उडिरहेका थिए, माटोको सहितका बिरुवाहरु झरेर जरा र माटो छुट्टीएर बिलाउंदै थियो र हेर्दाहेर्दै हरायो, र केही बिरुवाहरु गमलाहरुसंगै आफ्नै आँखा अगाडि ध्वस्त भए। त्यो देखेर मालिरामको मन खिन्न भयो।
त्यसपछिका दिनहरुमा मालिरामले बोल्न छाड्यो। ऊ आफ्नो घरको कुनामा बसेर चुपचाप फुलबारीको यादमा आँसु खसाल्थ्यो। ‘ती फुलहरुले कति दु:ख पाएका होलान्,’ उसको मनमा लगातार प्रश्नहरू उर्लन्थे। केही फुलहरु पानीको अभावमा सुक्दै होलान्, केही नयाँ माटो पाएका भए बांचेका होलान्, र केही त जरा नै गुमाएर मरेका होलान् भन्ने सोचेर उसको मन चसक्क हुन्थ्यो।
उसले केही गमलाको भाँचिएको टुक्रा भेट्टाउन सफल भएकोले आफ्नो कोठामा राखेको थियो। त्यसलाई हेर्दै उसले कल्पना गर्थ्यो—‘यदि ती फुलहरु ठाउँमा पुगेका भए, मल जल पाएर फेरि मुस्काएका भए, म पनि फेरि खुशी हुन सक्थेँ होला। तर, होइन, उनीहरुको अवस्थाले मलाई दु:ख लागिरहेछ।’ भन्दै एकोहोरो भएर बसिरहे।
एक दिन, कोठाको झ्यालमा बसेर आँसु पुछ्दै मालिरामले फुसफुसायो, “फुलहरूलाई म बिर्सन सक्दिन। उनीहरुको दु:ख मेरो मनको कथाहरु सुन्ने हरेक कोपिलाहरु चिरकालसम्म बसिरहनेछ।” त्यसपछि ऊ आफ्नो कोठामा अँध्यारोलाई साथी बनाएर दिन बिताउन थाल्यो। बाहिरको संसारले उसको मौनतालाई बुझ्न सकेन।
मालिरामको मनको फुलबारी अब फेरि हराभरा हुन धेरै समय लाग्ने भएछ। मनो चिकित्सकले मालिरामका परिवारलाई सुनायो। बिचरा मालिराम फुलबारी हेर्दाहेर्दै मानसिक तनावग्रस्त भएका रहेछन् । अस्तु।
No comments:
Post a Comment