बुढेशकाल लागेछ भन्ने सोच्दै, आज एकपल्ट ऐनामा अनुहार हेरेँ। अचेल गाला छाम्दा पनि कस्तो फुस्रो हुने रैछ, कति धेरै चाउरी परिसकेको रैछ। मलाई अलि हांसो उठ्यो। बुढ्यौलीको संकेत आईसकेछ। सम्झिएँ—कहिलेकाहीं रमाइलोका लागि ऐना हेरिन्थ्यो, अनुहारको चमक देखेर आफैंमा गर्व लाग्थ्यो। के के गरौंला, कहाँ कहाँ पुगौंला भन्ने सपना पलाउँथ्यो। तर आज, त्यो चमक हराएको रहेछ। चमक त चाउरीन थालेछ।
आफुलाई भने आफु सधैं जवान महसुस गर्ने बानी थियो; जीवनका पानाहरु पल्टाउँदै जाँदा, "म त सधैं यस्तो नै हुन्छु होला जस्तो लाग्थ्यो।" तर, आज ऐनामा परावर्तन भएको आफ्नै चित्र देख्दा भने यो अनुहारले मेरो सबै कुरालाई निरर्थक ठहर्यायो। आफ्नो गालामा चाउरीहरू देख्दा बुढापाको सन्देश आएछ भन्ने आभास भयो, "जिन्दगीको बाटो लम्की रहेछ है।" भन्ने भावना पनि देखियो।
त्यही बेला, ऐना हेर्दै जवानीका दिन सम्झिएँ। केटाकेटीले झैं, हेर्नुस् त! म कस्तो चिटिक्क छु भनेर सम्झिने गरेको बेर्थै रहेछ। आफूलाई एक्लै हाँस्न मन लाग्यो। त्यसपछिको हाँसो थाम्नै सकिनँ। ऐनाको अगाडि एक्लै, बुढ्यौलीको यो रुप देखेर आफ्नै स्मृतिमा हराइरहेँ।
केही बेर सोचें। के दिक्क मान्नु? आखिर यो समयको खेल त हो। अनि जिन्दगीकै हिस्सा पनि हो नि। जवानीमा सँगालिएका याद, हाँसो, उल्लास सबथोक मिलेर त आज म यहां सम्म आइपुगेको छु। यस्तै सम्झेर एक्लै ऐनाको अगाडि हाँसेर, जीवनको मिठास चाख्दै, बुढेसकाललाई पनि आत्मसाथ गर्नु पर्छ है भन्दै ऐनालाई धन्यवाद, तिमीले मेरो बास्तबिकता देखाई दिएकोमा भनेर एक्लै कुरा गरिरहें। अस्तु।
No comments:
Post a Comment