लघुकथा: गुनासो र सहकार्य
बिहानैदेखि काममा गएर थाकेका बुढो बेलुका घर फर्कंदा भोकले चूर थियो। ढोकामा पसेपछि भित्र भान्साको बासना के आएको रहेछ? भनेर यस्सो नाकले सुंघ्न थाल्यो, तर भन्साबाट खासै केही बास्ना आएको थिएन। बुढाले मनमनैमा सोचे, "जतिसुकै थाकेको भए पनि अलिकती मौसम अनुसारको तरकारी किनेर ल्याएको भए बुढी दंग पर्दै मीठो खाना पकाउने थिई।" भान्सा पुग्दा श्रीमतीले ठुस्स परेर चिया पिउंदै थिइन्।
"तिमी पसल गएकी भए हुन्थ्यो नि! म दिनभर काममा नै ब्यस्त भएकोले त्यस्सै आएँ, अहिले यो चिया मात्र खाने?" बुढोले न्यास्रो मानेर भन्यो। श्रीमतीको अनुहार अँध्यारियो। "मैले तिम्रै घरभरिका काम गर्दै ब्यस्त भएं, पसल जान सकिनँ। तिम्रा छोरा छोरीले यस्सो सघाएका भए हुन्थ्यो क्यारे! म एक्लैले के मात्रै गर्ने र? यो घरमा मेरो मात्रै कर्तव्य हुन्छ, अरु सबै बाउसाब र मैसाब।"
बुढीको गुनासोको रेटो सुरु भयो। "छोरा पसल गै दिएको भए तिम्ले मीठो खान पाउंथ्यो होला क्यारे! छोरीले आमा बाबुको बोझ बुझेको भए हुन्थ्यो, अनि तिम्रा बा ले यसो गर्दिए हुन्थ्यो, तिम्रा आमाले उसो गर्दिए हुन्थ्यो..." हर गाँसको अगाडि गुनासाको बाढी नै ओकली।
अन्ततः बुढोले हातको चिया छोड्यो। "मलाई खान मन छैन है!" भन्दै उठ्यो।
श्रीमतीलाई बुढोको व्यवहारले चोट लाग्यो। एकछिन विचार गरिन्। अनि, उसको मन शान्त बनाउन पछि लागिन्। "बस न, एकछिन। कुरा गरौं। मैले पनि गल्ती गरेँ। हामी दुवै थाकेका छौं। के गर्नु? हामी सँगै बस्दा कुरा नगरे कहिले गर्ने? अरुबेला तिमी काममा नै ब्यस्त म आफ्नै काममा ब्यस्त अनि खाना खानेबेलामा मैले गुनासो नगरे कहिले गर्ने त? तिमीलाई जस्तै मलाई पनि धेरै कुराले झर्को लागिरहन्छ, अनि के गर्ने त?"
बुढोले अलिकति शान्त हुँदै भन्यो, "तिम्रो कुरा पनि सांचो नै हो। तर खाने बेलामा यस्तो गुनासो संगै चिया पनि खान सकिंदैन नि! तिमीले मेरो कामको प्रेसर बुझिदिनु पर्यो नि, हामी दुईजनाले एकअर्काको कामको सम्मान गर्न सिकेकै छैनौं। तिमीलाई पनि काम हुन्छ, मलाई पनि। हामीले सहकार्य गरेर मात्रै यो घर चल्छ, नत्र तिम्रो गुनासोलाई मैले केही गर्न सक्ने अवस्था छैन, मैले त मेरो हातमा मेरा परिवारको जिम्मेवारी मात्रै देख्छु। तिम्रो साथ भए घर गृहस्थी राम्ररी अगाडि बढ्छ नत्र नफरत मात्रै जम्मा हुन्छ।"
त्यसपछि बुढाबुढीले निर्णय गरे—पसल जाने, तरकारी किन्ने, खाना बनाउनेजस्ता जिम्मेवारीहरु एक आपसमा बाँड्ने र अबदेखि गुनासोको पोको खोल्न नपर्ने गरी सहकार्य गर्ने निर्णय गरे। अस्तु।
No comments:
Post a Comment