मालीरामलाई बगैंचामा रंग-बिरंगी फुलहरु हुर्काउन ठूलो रहर थियो। उनले घरको सानो आँगनमा फुल फुलाएर नै चिटिक्कको बगैंचा बनाएको थियो। दिनभरि अफ्नो काम गरेर फर्किएपछि उनलाई आफ्ना फुलका बिरुवाहरूसँग रमाइलो गर्न मन पर्थ्यो। कहिले फुलका हाँगाहरु कांटछांट गर्ने, कहिले नयाँ माटो हालेर गोडमेल गर्ने, कहिले सजाउने। यही माया र हेरचाहले गर्दा बिरुवाहरु पनि रमाइलो संग फुलेका थिए।
तर मालीरामको श्रीमती, मनमायां, भने यो कुरालाई वास्ता गर्दिनथिन्। उनलाई लाग्थ्यो, "आफ्नो बुढाले फुलकै लागि मलाई बेवास्ता गरेको हो क्यार?" भनेर बिस्तारै उनको मन खिन्न हुन थालेको रैछ। एकदिन उनले आक्रोशित हुँदै भनिन्, "अब म तिम्रा फुलहरु भन्दा गए गुज्रेको भएकी हुं? जैले नि फुल, फुल मात्रै भन्दै फुलकै पछि लागेका छौ। मेरा लागि केही काम सघाउंदैनौ।"
मालीरामले हाँस्दै जवाफ दिए, "मायालु, यी फुलहरु तिम्रा प्रतिस्पर्धी होइनन्, बरु हाम्रो जीवनलाई रंगीन बनाउने साथीहरु हुन्।" तर मनमायांको रिस मरेको थिएन। उनले फुल बिरुवाहरुले साँच्चै आफ्नै स्थान लिएको महसुस गरेकी रहिछन् ।
रिसले भरिएर एक रात मनमायांले सबै फुलका बिरुवाहरुलाई उखेलेर हुट्याई दिइन्। भोलिपल्ट बिहान मालीरामले आफ्ना सबै फुलहरु उजाडिएको देखेपछि, मनमा चिसो पस्यो। उनमा आक्रोश त भयो, तर यो सबै काम मनमायांले नै गरेको हो भनेर चुप लागे।
मालीरामले मनमायांको हात समाउँदै भने, "मनु, यी फुलहरुले हामीलाई जीवनको सुन्दरता देखाउने काम गर्थे। तिमीले त यी फुलहरुसँगको मेरो माया सहन सकिनौ हगी? तर तिमीले ख्याल गरेनौ कि, यी फुल बिरुवाहरु भनेका जीवनकै अमूल्य रत्न हुन्। तिनको हेरचाह गर्दा हाम्रो जीवन झन् सुन्दर बन्छ।"
मनमायांको अनुहार मलिन थियो। उनीलाई आफ्नो एकछिनको रिसले बर्षौं देखि मालीरामले मिहेनत गरेर हुर्काएका फुलहरु सबै सिनित्तै स्वाहा भएकोमा दु:ख लाग्यो। उनले सुमधुर स्वरमा भनिन्, "मलाई माफ गर बुढा! मैले तिमीलाई गलत बुझेको रहेछु। अबदेखि हामी मिलेर फेरि फुल बिरुवा रोप्नेछौं र हाम्रो बगैंचालाई सँगसँगै सजीव बनाउनेछौं।"
अन्ततः मालीराम र मनमायांले बगैंचालाई फेरि सजीव बनाए, जहाँ फुलहरु मात्र होइन, उनीहरुको प्रेम पनि फुलेको थियो। अस्तु।
No comments:
Post a Comment