Grab the widget  Get Widgets

Thursday, 14 November 2024

तरकारी के खाउँ?

ए ! बुढा अलिकति बुद्दी पुर्‍याउनु नि! यस्सो हेरेर तरकारी ल्याउन सक्दैनौं ?

बुढा: ल आज काउली र मुला ल्याएको छु।

बुढी: कस्तो बूढो रैछ, सुद्दी हरायो? अहिले जाडो लागि सक्यो, मुला काउली सर्दी लाग्छ थाहा छैन?
भोलिपल्ट बुढा पसलाँ गएर आज अलि आर्कै तरकारी दिनु पर्‍यो साहुजी भन्यो र रामतोरी र भान्टा बोकेर आयो। घर पुगेर आज त बुढी दंग पर्ली भनेर, "लौ बुढी आज तरकारी फेरेको छु है भन्यो।"

बुढी: टाउकोमा हात राख्दै, हैन ए बुढा! रामतोरी र भान्टा छोरीले खान्नन भनेको होइन? यस्सो हेरेर ल्याउनु नि! केही नयाँ ल्याए पो हुन्छ।

बेलुकी फेरि बुढा पसलमा गएर "खोइ साहुजी! बिहान लगेको तरकारी पनि मिलेन रे, अब सिमी र बोडी ल्याउनुस त। बुढाले फरक तरकारी ल्याएं भनेर अब त बुढी पक्का दंग पर्ली भन्ने आशा गरेर भर्‍याङबाटै "ए बुढी! आज त तिमीलाई मनपर्ने तरकारी ल्याएको छु। लौ लेउ।"

बुढीले झोला खोलेर हेर्ने बित्तिकै कराईन, "हैन के भाको यो बुढा! सठिया लागेछ। अस्ति कै सिमी र बोडी खाएर सकेको छैन, आज फेरि त्यै सिमी र बोडी ल्याएछ।

बुढो हायल कायल भयो, जवाफ फर्काउन पनि सकेन। बोल्योकी पोल्यो भने झैं जवाफ दियो भने तिम्रो ढंंग छैन भनेर अझ उल्टो जवाफ दिने भएकोले चुप्प लाग्यो।

अब इस्कूस र घिरौंला लानु पर्‍यो भनेर पर्सि पल्ट पसलबाट किनेर ल्यायो। आज चैं केहि भन्दैन होला भन्ने आशा लिएर। "आज त हिंंजो अस्ति भन्दा फरक तरकारी ल्याएको छु है बुढी!"

बुढीले झोला खोलेर हेरि, "आम्मामा के सारो हो बुढा, यो सिजन नै गै सकेको तरकारी ल्याएछ।"

बुढा: अब तिमी आफै जाउ, अनि तरकारी खोजेर ल्याउ। मैले त तरकारी नै देखिन। आँखा अन्धो भैसकेको छ, कानले सुन्न छाडेको छ। अब देखि मैले तरकारी भन्ने चीज नै किन्न जांदैन। 
लौ बुढी! आज देखि मैले तरकारी किन्न जाने कामबाटै अवकाश लिएं है। स्वीकृत गरिदेउ मेरो भौवान! अस्तु।

No comments:

Post a Comment