Grab the widget  Get Widgets

09 February 2025

चाबी हराउंदाको बेचैनी

आज विहान घाम नझुल्किंदै कलेज जान हतारिएको थिएँ। जाडो यति थियो कि नाक रातै पार्ने खालको । बिहान बिहान मोटरसाइकल स्टार्ट गरेर हुइँकियो 

बिहानको कलेज सकिएपछि मनमा फुरफुरी कुरा खेलाउदै पार्किङ्गमा पुगें। मोटरसाइकलको चाबी निकाल्न हात खल्तीमा हालें— चाबी भेटिएन! अर्को खल्ती चेक गरें— केही छैन! झोला तितरबितर पारें, चाबी भेटिएन। 

अफिस कोठातिर दौडें। डेस्क मुनि, झ्यालको किनारा, दराज दराज सम्म चेक गरें। चाबी भेटिएन| पसिना पसिना भयो। आर्को अफिस पुगेर सोधें— रिसेप्शनको दिदीले सिधै भगवानको फोटो देखाइदिनुभयो। फेरि मोटरसाइकल राखेको ठाउँमा पुगेँ ।

अन्त त! कलेजको पार्किङ्गमा थचक्क बसें। दिमागमा हावा चल्न थाल्यो, "अब घर कसरी जाने? चाबी हरायो भने अर्को बनाउन पनि चाबी त हुनु पर्‍यो! घरसम्म पुग्नु पर्‍यो। आर्को पनि भेटिन्छ कि भेटिंदैन!"त्यत्तिकैमा हात पुनः विण्ड प्रूफ ज्याकेटको खल्तीमा गयो। एकछिन टकटकाएँ— छिर्लिङ आवाज! "के हो यो?" फेरि टकटकाएँ— "आखिर मेरो चाबी यहीँ विण्ड्प्रूफ भित्र पो रहेछ!" तर बिचरा चाबी! खल्तीको प्वालबाट उछिट्टिएर भित्रतिरको कुनामा बसेको रहेछ।

अब भने हांस्ने कि रिस उठाउने, केही थाहा भएन। एकछिन अघिसम्म कलेजभरी नाटक खेलेझैं चाबी खोज्दै हिँडेको थिएँ, असिन पसिन भएर दिमाग खराब गरेर बसेको थिएं। तर त्यो चाबी भने विण्ड्प्रूफ ज्याकेटको कुनै गोप्य गुफामा ध्यानसाधन गरिरहेको रहेछ।

मोटरसाइकलमा चढ्दै सोचें— "आज चाबी हराएको होइन, म आफैं हराएको रहेछु!" अस्तु।

No comments:

Post a Comment