Grab the widget  Get Widgets

Tuesday, 25 February 2025

शक्तिशाली मदारी

लघुकथा: शक्तिशाली मदारी
विनय शाक्य, कपन मार्ग, महाराजगञ्ज, काठमाडौँ |
गज्जब छ बा! त्यो शक्तिशाली मदारीले संसारभरका बांदरहरुलाई नचाउंदै शक्ति संचय गरिराखेको रहेछ। अस्ति त्यो मदारीलाई के झोंक चलेछ, सबै बांदर र बांदरका नाईकेहरुलाई एकै पटक लखेटेर आ-आफ्नो जंगलमा जा भनेर दानापानी बन्द गरेर बाटा बाटोमै नै छाडिदिएछ।
हाम्रा तिर पनि त्यै बांदरको जमातहरु आका रछन्। हाम्रो तिरको जंगलाँ आ का ती बांदरहरु त्यो मदारीले दिएको दानापानी खाएर आफ्नो अस्तित्व बनाई राखेका रछन्। अइले आफ्नो अस्तित्व नै हराइसकेकोले हाम्रो खेतबारीमा जे भेट्यो, त्यै टिप्ने, झम्टिने गर्न लाएका रछन्। गाउंलेहरुले त्यस्ता बांदरलाई गुलेली हानेर धपाउने काम सुरु गरिसकेछन्। बिचरा पनि भन्न मन नलाग्ने! कति बांदरहरु त अहिले झोंक्राएर बोल्न पनि सकिरा छैनन्।

बोल्न पनि के बोल्नु? जे सिकायो, त्यै बोलिरा बानी ! अब त झन त्यो मदारीले नै बाटोमा नै छोडेर गए पछि कस्को बाउको के लाग्छ र? अनि कस्को पछि लाग्नु? त्यो मदारीको पछि पछि लाग्यो भने त लात्ताले हान्दिई हाल्छ, घिच्नु घिचाए, अघाउन्जेल घिचाउंछु भनेथे, त्यै भएर आफ्नो बानी बिग्रीसकेको छ भन्दै एउटा बांदरले आर्को सित गुनासो गर्दै रछ।
अनि बांदरे बानी अनुसार अहिले सम्म आफुले नि घर नबनाउने, अरुलाई नि घर बनाउन दिन्नौं भन्दै, बनिरा घर पनि बिगार्दै हिंडिराथे। अहिले फ्याट्ट फ्यांकिदिए, बाटा मैं। हेर त बिजोग! संधै दानापानी दिएर, घिच भनेसी मात्रै घिचिरा बांदरहरु अइले घिच्! भन्ने आदेश नै नपाएसी क्यार्छन्? अनि घिच्न दानापानी पनि त हुन परो नि! घिचेको कुरो नपच्दो र छ। बाबै! टाउकोमा हात राखेर एउटो बांदरले भन्दै रछ।
अब गाउंलेहरु पनि बुझ्न थाले, यी बांदरहरुले लोकल भएर पनि किन बुरुक बुरुक गरिराथे? भनेको त त्यो मदारीले पालेका पो रहेछन्! त्यै भएर मदारीले जे भन्यो, त्यै गर्थे रै छन् ।
हाम्रो गाउँमा छिमेकी देशको मदारीले बांदर नचाएको हेरेर रमाउने मान्छेहरु पनि थिए। अहिले सबै भेंडा भैसकेका रछन्। कुरो बुझियो।
अनि उहिले त कुन्निके बिस्तारबाद मुर्दाबाद भनेर देखावटी चिच्याएर हिंड्थे, भाषण गरेर हिंड्थे, अनि त्यो भेंडाहरुको जमातलाई उक्साएर मोज गरिराथे, अहिले कुन्नीके पुछेर फालेको ढुंगा जस्तो भो जिन्दगी भनेर एउटा बांदरले आर्को बांदरलाई भनिराछन्। अस्तु।

No comments:

Post a Comment