Grab the widget  Get Widgets
Showing posts with label Tension. Show all posts
Showing posts with label Tension. Show all posts

10 August 2023

त्रिगर

यो "त्रिगर" भन्ने पनि अचम्म नै रैछ। मलाई चित्त नबुझेको बेलामा कसैले पेट दुख्यो मात्रै भन्यो भने पनि "त्रिगर" हुन्छ यार! के भा को होला? ट्रेकिङ हिंडिरहेको केटोले आफ्नो पदयात्री सहयात्रीलाई सुनायो।

सहयात्री: यो त मलाई पनि हुन्छ। कैले काहिँ, मेरा बाले यसो नगर, त्यसो गर भने पनि "त्रिगर" हुन्छ मलाई त। सायद सबैलाई हुन्छ होला चित्त बुझेन भने।

केटो: खोइ! के हो? के हो? एकै छिन रिस उठेर, साम्य भए त हुने हो। मलाई त दिनभर नै एउटा "त्रिगर" ले दिमाग खराब गर्छ यार!
अनि टाउको दुखेर हैरान नै हुन्छ। आज बिहान त्यो खाजा खाने ठाउँमा साहुनीले याँ त बार्गेन गर्न पाउन्न सार! भन्यो। मलाई त्यो साहुनीको कुरोले अहिले सम्म "त्रिगर" भैराछ। कति हेपेको होला जस्तो पो भा छ त हो! 

सहयात्री: हैट! त्यस्तो सानो सानो कुरालाई पनि "त्रिगर" मान्न थाल्यो भने त तिमीले दु:ख दिन्छौ कि क्या हो पासा? यही भीरबाट हाम्फालम कि जस्तो त हुन्न?

केटो: कस्तो ठ्याक्कै मेरो मनको कुरो भनेको पासा! मलाई अहिले नै यस्तै भैराछ। 

सहयात्री: ओहो! हेर पासा! यस्तो पहाडमा हामी घुमीरा छम। यस्तो सुन्दर प्रकृति नजीक आ छम। तिम्रो "त्रिगर" लाई यहीँ छाडेर जाम। जिन्दगीमा धेरै हेर्नु छ, अ थाहा काम गर्नु छ, मरेर समस्या समाधान हुने हैन क्यारे! मरिलानु के छ र यार? यस्तो "त्रिगर" सिगरलाई परित्याग गरेर स्वच्छ जीवन बांच्नु पर्छ, अरुको मात्रै गल्ति देखेर हुन्न नि पासा! तिम्रो कस्ले, के बिगारेको छ र "त्रिगर" हुनलाई?

केटो: हो पासा! हो! तिम्ले वास्तविक कुरा भन्यौ। तिमी संग ट्रेकिङ आएको पनि फाइदै भो। वास्तवमा मेरो घरमा कुरा बुझ्दिने मान्छे नै छैन जस्तो लाग्थ्यो, मलाई! जैले नि सान्सानो कुरामा "त्रिगर" भै रहन्थ्यो। अब मैले आफैलाई बुझ्दैछु। यो पदयात्रामा देखेका कुरा र भोगेका परिश्रमहरुले मेरो मनको बोझ हल्का हुंदैछ। अनि तिम्रो साथले झन मेरो मन चंगा भएको छ।

पदयात्राले मानसिक तनावलाई हटाउन र परिश्रम गर्न सिकाउंछ भन्ने अनुभवमा आधारित यो कथा तपाईंहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। अस्तु।

17 May 2022

रेबिजको तनाब

मलाई १३ नम्बर खुशी र दु:ख लाग्ने दिन हो। धेरैले १३ गते अथवा १३ तारिख १३ तल्ला १३ औं कोठा १३औं घरमा बस्न डर मान्ने र केही घटना, दुर्घटना हुने भएको कथाहरु सुन्न पाइन्छ। सायद तेह्रौं दिन पनि यसरी नै राख्ने गरेको होकि। 

तर मेरो केशमा प्राय १३ गते र तारीख तिर बितेको दिनहरुमा मेरो काम जुट्ने र छुट्ने गरेको छ। यसपाली मे महिनाको १३ तारिखको दिनमा पशुपति आर्यघाटमा मलामीमा सहभागी हुन जाँदा एउटा बांदरले खम्बा चढ्ने क्रममा मेरो दायाँ हातमा टेकेर माथी चढ्ने क्रममा हातमा कोपार्‍यो। सुरुमा सामान्य देखिएको त्यो घाउबाट केहिबेर पछि रगत बग्न थाल्यो। रगत बगेको देखिसकपछि मैले स्यानीटाइजरले घाउ सफा गरें। मलामीमा सहभागी सदस्यहरुले एउटा  टिटानसको सुइ चैं लगाउ है भन्नुभयो। मैले पनि त्यो त लगाउनै पर्ला भनेर त्रि. वि. शिक्षण अस्पताल, महाराजगन्जमा गएर इमेर्जेन्सीमा जांदा, डाक्टर साबले यो टिटानस लाएर मात्रै हुंदैन भोलि बिहान एकपटक टेकु अस्पतालमा गएर सरुवा रोग विशेषज्ञ डाक्टर संग सल्लाह लिनु पर्छ भन्नू भयो। शिक्षण अस्पतालका डाक्टरलाई धन्यवाद।

रेबिजको खोप भन्ने बित्तिकै मेरो दिमागमा अनेक कुराहरू खेल्न थाल्यो। हालसालै मात्रै मैले चिनेको एकजना मान्छेले गरेको लापरबाही र उसका अन्तिम दिनहरुमा गरेका भएको घटनाको परिदृश्य सिनेमा झैँ फ्लासब्याक भयो। अस्पतालबाट घर सम्म आइपुग्दा मानौं म रेबिजको बिरामी भएर कुकुर जस्तै व्यबहार भएको कल्पनाले तनावग्रस्त भएँ। घरमा आएर खाना समेत बाहिरै बसेर खाएँ। राती निद्रा लाग्न गार्‍हो भयो। टेकु अस्पतालले राती फोन उठाएको भए सायद मेरो तनाब कम हुन्थ्यो कि? तर फोन उठेन। भोलिपल्ट बिहान विभिन्न अस्पतालमा फोन गर्दा पहिलो डोज टेकु अस्पतालमा नै लगाउँदा बेस हुने थाहा पाइयो।
इमर्जेन्सीमा गएर रु. १७०/- को टिकट काटेर रेबिज विशेषज्ञ डाक्टर संग परामर्श गर्दा मैले डाक्टर साब, बांदरले खोस्रेको मात्रै हो, रेबिजको खोप नै लाउन पर्छ र? भनेर सोधेको त गज्जबको जवाफ दिनु भयो, बांदरले कहिले हात धोएको देख्नु भएछ? त्यो हात, कैले मुखमा, कैले छालामा, कैले कता, कहिले त्यता लाने भएकोले फोहोरले इन्फेक्सन हुने चान्स धेरै हुन्छ, अहिले सम्म बांदरबाट रेबिज लागेको केश हामी संग छैन, तर रिस्क नलिनुस मजाले खोप लिएर जानुस भन्नु भए पछि ढुक्क भएर पहिलो डोज लगाए पछि बल्ल मेरो तनाव कम भयो। एक हप्तामा ३ डोज लगाउन पर्छ भन्नु भएको छ, आज दोश्रो डोज लगाइयो। 

त्यसैले यसपालिको १३ तारिख मेरो लागि अशुभ भयो। तर मेरो विचारमा यो सबै संयोग मात्रै हो। अस्तु।

13 December 2019

दिमाग खराब भो त बाबै !

ए होइ ए होइ ! सार्‍है हेप्यो त हो ! राम राम ! यस्तो हेपाइ त सहनै गार्‍हो भो नि त हो ! तेस्का बाजे त्यसकै घरमा काम गर्ने कामदारलाई गाली गरे सरह गर्‍यो त बाबै ! अनि मलाई त "यु आर आउट" नै भन्यो बाबै ! यो मेरो सानो चित्त माखाको पित्त पनि दुख्यो बाबै ! क्यार्नी होला ?

धत लाटा ! यस्तो कुराँ नि चित्त दुखाउने ?

क्यार्नी त ? सहन नि सक्दिन, भन्न नि सक्दिन, बरा टेन्सन पो भयो बाबै ! अचम्म त आजकाल फुन गर्न पो थालेछ त बाबै ! गाली गर्ने बेलाँ दायाँबायाँ केही नहेर्ने अहिले के खान फुन गर्छन कुन्नी ! 

फुन उठाउन नि डर लाग्छ । फेरि गाली गर्न त होला नि तेस्का बाजे । सिधै गाली गरेर मात्रै पुगेन फेरि फुनबाट नि गाली गर्न घण्टी टिनिन्न बज्या बजै गर्छ । 

आफ्नो त मुटु नै हल्लिन्छ बाबै क्यार्नी होला ? आफ्नो त दिमाग खराब भो त बाबै ! खोजी खोजी गाली गर्ने नि चलन रेछ यो सहराँ ! हाम्रो तिर त झ्याप्पै दियो कुरो खत्तम । याँ त बरा गार्‍हो पो रेछ । अस्तु ।



14 November 2013

तनाव (Tension)

"क्या टेन्सन भो यार । यो काम भोलि सम्म त जसरी भए पनि सिध्याउनै पर्ने भयो यार ।" भनेर कसैले भन्छ भने दुइटा कुरा हुन सक्छ । एक हिसाबले कसैको दिमागले काम गर्न छाड्छ भने अर्को हिसाबले कसैको मगज खुब चल्छ र त्यो कामलाई कसरी सिध्याउने भनी अनेक उपायको खोजी गरेर एउटा नया उपाय निकाल्छ र समस्या समाधान गर्छ । 

हरेक कुराको सकारात्मक र नकारात्मक हिसाबले सोचिने गरिन्छ । यो व्यक्ति व्यक्ति मा फरक पर्छ, हेराईमा पनि फरक पर्छ । कुनै गिलासमा आधा पनि भरेर दुई जनालाई देखायो भने एकले आधा भरेको छ भन्छ भने आर्कोले आधा खाली छ भन्यो भने को ठिक को बेठिक भन्ने ? बास्तवमा दुवै नै ठिक हुन्छ होइन र ? सोचाई, हेराई र काम गर्ने तरिका पनि फरक फरक हुन्छ । अन्तमा रिजल्ट एकै किसिमको पनि आउन सक्छ । कसैले एकै किसिमको काम छिट्टो सकाउन सक्छ भने कसैले समय लगाएर एकदम राम्रो पनि बनाउन सक्छ ।

सकारात्मक टेन्सनले समस्या समाधान तर्फ लैजान्छ भने नकारात्मक टेन्सनले समस्या माथि समस्या थपेर कामको स्वरुप नै बिगार्न सक्छ ।

धेरैनै नकारात्मक कुराहरुले तनावग्रस्त भयो भने के गर्ने त ? तनावबाट उम्कन के गर्ने ? यदि तपाईलाई यस्तो भयो भने के गर्नु हुन्छ ? 

खास गरी यस्तै गर्ने भन्ने त हुँदैन, तर तनाव घटाउन तपाईको समस्या तपाई संगै राख्नु भयो भने भयानक समस्या बढ्दै जान सक्छ र डिप्रेसन को सिकार हुन सक्छ । त्यस्को सत्ता आफुलाई परेको समस्याहरुलाई आफ्नो कुरा मिल्ने साथीहरुसंग सेयर गर्नु भयो भने मन हल्का हुन्छ । त्यस्तो गर्ने हिम्मत भएन भने आफुलाई लागेको नकरात्मक कुराहरु सबै एउटा पानामा लेखेर च्यातचुट पारेर पनि मन हल्का पार्न सकिन्छ, अथवा त्यो पानालाई आगोमा पोलेर पनि मन हल्का पार्न सकिन्छ । तर मध्यपान, धुम्रपान गर्न थाल्नु भयो भने तपाईलाई कुलतले तान्न सक्छ । 

त्यसैले समयमै थाहा पाउनु होस् कतै तपाई पनि तनावमा त हुनु हुन्न ?

अरु पनि उपाय हरु छन् । कडा ब्यायाम गर्न सक्नु हुन्न भने घरको सरसफाई गर्नुस । गमलाको घास उखेल्नुस । किचन गार्डेन छ भने सबै रिस पोख्न झ्याम झ्याम बारी खन्नुस । झ्याल ढोका पुछ्नुस । यस्तो कुराले पनि कसरी तनाव कम हुन्छ भन्नु होला। तर यस्तो काम गर्ने बानि भए पछी एक्लै बसे पनि तपाईको मनमा कुरा खेल्न पाउदैन । शारीरिकरुपमा स्वस्थ हुनु भयो भने मानसिक रुपमा पनि स्वस्थ हुन मद्दत पुग्छ ।

यसरी पनि तपाई तनावबाट मुक्ति पाउन सक्नु भएन भने एक पटक काउन्सेलिंग गर्नुस। अस्तु।