तर मेरो केशमा प्राय १३ गते र तारीख तिर बितेको दिनहरुमा मेरो काम जुट्ने र छुट्ने गरेको छ। यसपाली मे महिनाको १३ तारिखको दिनमा पशुपति आर्यघाटमा मलामीमा सहभागी हुन जाँदा एउटा बांदरले खम्बा चढ्ने क्रममा मेरो दायाँ हातमा टेकेर माथी चढ्ने क्रममा हातमा कोपार्यो। सुरुमा सामान्य देखिएको त्यो घाउबाट केहिबेर पछि रगत बग्न थाल्यो। रगत बगेको देखिसकपछि मैले स्यानीटाइजरले घाउ सफा गरें। मलामीमा सहभागी सदस्यहरुले एउटा टिटानसको सुइ चैं लगाउ है भन्नुभयो। मैले पनि त्यो त लगाउनै पर्ला भनेर त्रि. वि. शिक्षण अस्पताल, महाराजगन्जमा गएर इमेर्जेन्सीमा जांदा, डाक्टर साबले यो टिटानस लाएर मात्रै हुंदैन भोलि बिहान एकपटक टेकु अस्पतालमा गएर सरुवा रोग विशेषज्ञ डाक्टर संग सल्लाह लिनु पर्छ भन्नू भयो। शिक्षण अस्पतालका डाक्टरलाई धन्यवाद।
रेबिजको खोप भन्ने बित्तिकै मेरो दिमागमा अनेक कुराहरू खेल्न थाल्यो। हालसालै मात्रै मैले चिनेको एकजना मान्छेले गरेको लापरबाही र उसका अन्तिम दिनहरुमा गरेका भएको घटनाको परिदृश्य सिनेमा झैँ फ्लासब्याक भयो। अस्पतालबाट घर सम्म आइपुग्दा मानौं म रेबिजको बिरामी भएर कुकुर जस्तै व्यबहार भएको कल्पनाले तनावग्रस्त भएँ। घरमा आएर खाना समेत बाहिरै बसेर खाएँ। राती निद्रा लाग्न गार्हो भयो। टेकु अस्पतालले राती फोन उठाएको भए सायद मेरो तनाब कम हुन्थ्यो कि? तर फोन उठेन। भोलिपल्ट बिहान विभिन्न अस्पतालमा फोन गर्दा पहिलो डोज टेकु अस्पतालमा नै लगाउँदा बेस हुने थाहा पाइयो।
इमर्जेन्सीमा गएर रु. १७०/- को टिकट काटेर रेबिज विशेषज्ञ डाक्टर संग परामर्श गर्दा मैले डाक्टर साब, बांदरले खोस्रेको मात्रै हो, रेबिजको खोप नै लाउन पर्छ र? भनेर सोधेको त गज्जबको जवाफ दिनु भयो, बांदरले कहिले हात धोएको देख्नु भएछ? त्यो हात, कैले मुखमा, कैले छालामा, कैले कता, कहिले त्यता लाने भएकोले फोहोरले इन्फेक्सन हुने चान्स धेरै हुन्छ, अहिले सम्म बांदरबाट रेबिज लागेको केश हामी संग छैन, तर रिस्क नलिनुस मजाले खोप लिएर जानुस भन्नु भए पछि ढुक्क भएर पहिलो डोज लगाए पछि बल्ल मेरो तनाव कम भयो। एक हप्तामा ३ डोज लगाउन पर्छ भन्नु भएको छ, आज दोश्रो डोज लगाइयो।
त्यसैले यसपालिको १३ तारिख मेरो लागि अशुभ भयो। तर मेरो विचारमा यो सबै संयोग मात्रै हो। अस्तु।
No comments:
Post a Comment