Grab the widget  Get Widgets

Monday 9 May 2022

अवकाश

(कसैको जीवनमा मेल खान गएमा संयोग मात्रै हुनेछ है। आक्षेप लगाउन पुर्ब आफै सोच्नु होला) 
आजकाल मलाई निक्कै चिड्चिडाहट हुन्छ। कसैले नमस्ते गर्‍यो भने किन गरेको होला, त्यो मान्छेको के स्वार्थ छ होला? र त् मलाई नमस्ते गरेछ भन्ने लाग्छ। अनि नमस्ते गरेन भने चैं, तोइट! कस्तो मान्छे रैछ, नमस्ते नै गरेन, कस्तो मुर्दार रहेछ जस्तो लाग्छ। 

समयले कोल्टे फेरे जस्तो लाग्छ। कुनै समय यस्तो थियो, म जता जता जान्थे, उता उता मेरा अघि पछि मेरा मित्रहरु संग संगै आउँथे, मेरा कुरामा हो मा हो मिलाउंथे। कहिले काहीं बेबकुफ बनाउंदा पनि बेबकुफ हुन पनि रुचाउँथे। आजकाल उस्तै कुराहरु गर्दा, बूढो भएछ, खाली उ बेलाको कुरो सुनाएर हैरान पार्छ भनेर तर्केर हिंड्छन। मेरो कामबाट अवकाश लिंदै गर्दा, मेरा कुराहरुले पनि अवकाश लिन थालेछ।  

बिहान संधै आफै कफि बनाएर दिने श्रीमतीले आजकाल आफै बनाएर खा भन्छे, अब घरमै बस्ने त हो नि, कता जानु हतार छ र? भन्छे, अफिस सफिस जानु पर्ने होइन, मेरो काममा तपाईंले सघाउने होइन, सानो तिनो काम त अब हजुरले पनि गरिसिन हुन्छ भन्छे। 
होइन! यो अवकाश भन्ने नाम सुन्ने बित्तिकै नै सबै नातागोता र समाजले समेत हेपेको हो कि जस्तो लाग्न थालिसक्यो। अस्ति बिहान मर्निङ वाक जांदा दुधवाला साहुनीले पनि नमस्ते नै गरेन, त्यो मासु पसलेले त झन नदेखे झैँ पो गर्‍यो| बजियाले, संधै अफिसमा जांदा र आउंदा दिनमा दुई पटक नमस्ते गर्ने पसलेले मेरो अवकाशको समाचार सुन्ने बित्तिकै नै आफ्नो औकातमा झर्न थाल्यो। 
पाउरोटी ल्याउने त्यो केटोले आज आलो बिजी छु हजुर नै आइस्यो न! भनेर फोन गर्‍यो। उता पानी ल्याउने केटोलाई पनि फुर्सद छैन रे अलिबेरमा ल्याइदिम्ला भनेर गयो। 

मलाई एकदम अचम्म लाग्यो, ए बाबा! हिंजो अस्ति सम्म हजुरका हजुर लाएर कुरा गर्ने मानिसहरु आज त तपाईं भन्ने भएछ्न। अबको एक दुई महिनामा त नाम लिएर जी नभन्लान भन्न सकिंदैन। 

यस्तो अनुभव मलाई मात्रै हो कि तपाईं हजुरहरुलाई पनि भएको छ? यो मेरै समाज हो, जहाँ म नभई कार्यक्रम नै नचल्ने जस्तो थियो, अस्ति एकजनाले सप्ताह लगायो, मलाई निम्ता नै गरेन, त्यसको केही दिनमा ब्रतबन्ध थियो, त्यसमा पनि बोलाएन, ए मेरो हजुर, म पावरमा हुंदा चाकडी गरेको भान त हुन्थ्यो, तर यस्तो अचाक्ली व्यबहार परिवर्तन होला भनेर मैले सोचेको थिइन। 

त्यसैले कसैले झुक्किएर नमस्ते गर्‍यो भने त्यो मान्छेको केही स्वार्थ अझै छ होला र पो मलाई नमस्ते गरेको हो कि जस्तो लागेर आउँछ। मेरो चिड्चिडाहट बढेको छ। सायद मानसिक तनाव पो बढेछ कि? अस्तु।

No comments:

Post a Comment