Grab the widget  Get Widgets

Friday 6 May 2022

बिचरा त्यो केटो

झिस्मिसे बिहानै खेतमा काम गर्न जांदा घरमा कोही उठेका हुंदैनन। त्यो केटोको कांधमा सारा परिवारको बोझ छ। केटोले एक दिन काम गरेन भने भोकभोकै मर्लान भनेर कुटो कोदालो बोकेर आर्काको खेतमा काम गर्न जान्छ। बिहानको खेतीपाती पछि सडकमा बसेर ढुंगा कुट्ने काम गर्छ र पो परिवारको पेट पालिएको छ। आफुलाई भोक लाग्दा खोलाको पानी टन्न पिएर मैले खाएर आएको तिमीहरु खाना खाउ भन्ने उनको मनकारी भावनामा कति दु:ख लुकेको छ, भन्ने कुरो त्यो केटोले त्यो झुपडीमा बसेका परिवारलाई एक रत्ति पनि भान हुन दिंदैन। बिहान खाली पेटमा खोलाको पानी पिएर काममा गएर, साहुजीले दिएको फुक्का च्युरामा अलिकति रक्सी हाल्दिंदा पनि दंग पर्ने त्यो केटोले परिवारका सदस्यहरुलाई आफ्नो दु:ख र भोक कहिले पनि देखाएन।
दिनै भरी एकछिन पनि थकान मार्न नपाउँदा पनि आराम गर्न नपाउंदा पनि त्यो केटोले आफु थाकेर आएको कुरा कहिले पनि आफ्नो परिवारलाई भनेन। थकित अवस्थामा झुपडीमा आउंदा परिवारका सदस्यहरुले त्यो केटोले दिन भरी के खायो? वा खान पाएन? भनेर बिचार गरेन भनेर कहिले पनि गुनासो गरेन। कैयन दिन भोक भोकै काम गरेर आफ्नो परिवार पालेको कुरोमा त्यो केटोलाई गुनासो पनि भएन।
यति गर्दा गर्दै पनि आफ्नै परिवारका सदस्यहरुले तैंले जिन्दगीमा हाम्लाई के दिइस? गरीबी बाहेक एक छाक मीठो मसिनो खुवाउन सकेको छैनौ। यो झुपडीबाट आर्को घर भन्ने देख्न पाउने आशा पनि मरि सक्यो भने शब्दबाणले कहिले काहिँ भने केटोको मन भांचिदो रहेछ। एउटा कुना मा बसेर गहभरी आँसु बगाएर आफ्नो दुखेसो पोख्दो रहेछ। परिवारका सदस्यहरूलाई तनाव होला भनेर आफुले मात्रै तनाव सहेर बसेको त्यो केटो बाहेक यो संसारमा अरु कसैलाई थाहा भएन। बिचरा त्यो केटो। अस्तु।

No comments:

Post a Comment