Grab the widget  Get Widgets
Showing posts with label Condolence. Show all posts
Showing posts with label Condolence. Show all posts

18 June 2025

हाम्रो आन्दाई: अनिच्चावत संखारा

दाजुहरुमध्येको जेठो दाजु आनन्द राज बज्राचार्य, हामीले झट्ट भन्दा आन्दाई भन्ने गरेका थियौं।
सबैको प्यारो आन्दाई,
हक्की स्वभावको आन्दाई,
जस्को घरमा जे भए पनि हाजिर हुने आन्दाई,
रसिक स्वभावका आन्दाई,
एक दिन फोन गर्नु भयो, ए भाई! तँ कां छस्?
म घर आई सकें दाई, भनें
म काठमाडौं आउनु पर्ने भो, (बोली लरबराउंदै भन्नु भयो,)
के भो दाई? मैले त कुरो बुझिन नि?
हत्तेरीका, ल मेरी छोरी अनिशासंग कुरा गर, भन्नुभयो।

अनि छोरीले सबैकुरा बेलिबिस्तार लगाए पछि बल्ल थाहा भयो, दाजुलाई नाक, कान घांटीमा समस्या भएकोले आवाज लर्बराउन थालेको रहेछ। समस्या यति छिटो बढ्यो कि स्वास्थ्य चेक जाँच गर्न तुरुन्तै काठमाडौं आउनु बेस हुन्छ भन्ने सल्लाह भयो र काठमाडौंका विभिन्न सुबिधा सम्पन्न अस्पतालमा उपचार सुरु भयो।

संधै हंसीमजाक गर्ने दाईको स्वभावमा अचानक बदलाब देखिएकोले हामीले सम्झाउने बुझाउने काम गर्‍यौं। अरुबेला उहाँले सबैलाई सम्झाउने गर्नु हुने काम अहिले हामीले गरेका थियौं।
अस्पतालमा भर्ना भए देखि झन अवस्था नाजुक हुँदै गयो।  उपचारको क्रममा हिंजो बिहान उहाँले देहत्याग गर्नु भयो। दाजुलाई हार्दिक श्रद्धाञ्जली! अनिच्चावत संखारा।

08 February 2023

ए बाजे उठ!

ए बाजे उठ! तिम्रो नाति आई पुगेको छ। अपरेसन थियटरमा तिमी मजाले सुति राखेका छौ। सास फेर्न पनि किन कन्जुस्याइँ गरेको बाजे? 

हिजो दिनभर तिम्रो अपरेसनको बेलामा हामी छ्टपटाएर बस्यौं। अनि ४-५ घण्टा लगाएर तिम्रो ओपन हार्ट सर्जरी भनेको अपरेसन सकियो भने देखि नै तिमी बोलेका छैनौ रे। 
तिम्रो छोरीले गुनासो गरिरा छ। बा किन नबोलेको होला भनेर। बाले मैले भनेको कुरा सबै मान्छु भन्नु भा छ भनेर भक्कानिरा छ। गंगालाल अस्पतालबाट निको भएर घर गै सकेपछी चुरोट पनि खान्न भन्नु भएको थियो रेन्त! जथाभावी खान्न, छोरीले जे दिन्छ त्यै मात्रै खान्छु भन्नु भाथ्यो रेन्त! अब कैले खान्छौ हं? 

खोइ! अब चैं चुपचाप सुतेर बस्ने? ए बाजे! अस्ति हामी आउंदा अस्पतालमा बस्दा बस्दा बोर भैसक्यो, कैले घर जाने? भनेका हैनौ? अब घर जाने बेलामा तिमीले आँखा नै नखोल्ने? हामीले त तिम्रो ९०% ब्लक भनेको मुटुको रक्तनली खोली दिन पो अस्पतालमा लगेको हो र। 

तिमी त बोल्दै बोलेनौ। आँखा पनि खोलेनौ। हुंदा हुंदा अब सास पनि नफेर्ने। कस्तो बाजे हो? बजैलाई के भन्ने? अब बाजे उठ्नु हुन्न भनेर हाम्ले कसरी भन्ने? फुपुलाई सम्हाल्नै नसकिने भाको छ।

खोई! के भन्ने? हाम्रो तानसेनको शरण कुमार बज्राचार्य अजालाई यो हातले सामान पोका परे झैँ  पोको पारेर घर पठाउन पर्‍यो। सानो बेलामा हामीलाई चकलेट खुवाउने अजा, आज हाम्रो अगाडि सेतो कपडाले बेरेर पोको पारेर घर पठाउन पर्‍यो। यो के देख्नु परेको? अजा तिम्रो सुखावती भुवनमा बास होस! अनिच्चावत संखारा! अस्तु!