हिजो दिनभर तिम्रो अपरेसनको बेलामा हामी छ्टपटाएर बस्यौं। अनि ४-५ घण्टा लगाएर तिम्रो ओपन हार्ट सर्जरी भनेको अपरेसन सकियो भने देखि नै तिमी बोलेका छैनौ रे।
तिम्रो छोरीले गुनासो गरिरा छ। बा किन नबोलेको होला भनेर। बाले मैले भनेको कुरा सबै मान्छु भन्नु भा छ भनेर भक्कानिरा छ। गंगालाल अस्पतालबाट निको भएर घर गै सकेपछी चुरोट पनि खान्न भन्नु भएको थियो रेन्त! जथाभावी खान्न, छोरीले जे दिन्छ त्यै मात्रै खान्छु भन्नु भाथ्यो रेन्त! अब कैले खान्छौ हं?
खोइ! अब चैं चुपचाप सुतेर बस्ने? ए बाजे! अस्ति हामी आउंदा अस्पतालमा बस्दा बस्दा बोर भैसक्यो, कैले घर जाने? भनेका हैनौ? अब घर जाने बेलामा तिमीले आँखा नै नखोल्ने? हामीले त तिम्रो ९०% ब्लक भनेको मुटुको रक्तनली खोली दिन पो अस्पतालमा लगेको हो र।
तिमी त बोल्दै बोलेनौ। आँखा पनि खोलेनौ। हुंदा हुंदा अब सास पनि नफेर्ने। कस्तो बाजे हो? बजैलाई के भन्ने? अब बाजे उठ्नु हुन्न भनेर हाम्ले कसरी भन्ने? फुपुलाई सम्हाल्नै नसकिने भाको छ।
खोई! के भन्ने? हाम्रो तानसेनको शरण कुमार बज्राचार्य अजालाई यो हातले सामान पोका परे झैँ पोको पारेर घर पठाउन पर्यो। सानो बेलामा हामीलाई चकलेट खुवाउने अजा, आज हाम्रो अगाडि सेतो कपडाले बेरेर पोको पारेर घर पठाउन पर्यो। यो के देख्नु परेको? अजा तिम्रो सुखावती भुवनमा बास होस! अनिच्चावत संखारा! अस्तु!
No comments:
Post a Comment