Grab the widget  Get Widgets
Showing posts with label Hiking. Show all posts
Showing posts with label Hiking. Show all posts

01 August 2025

झोंक्की पदयात्री (Short Tempered Hiker)

सुन्दरीजलको उकालोमा एकजना झोँक्की पदयात्री भेटियो। उ ट्रेकिङ लागी हिंडेको थियो। एकजना भरिया दाई पनि उ संगै हिंड्दै थियो, पदयात्रीको भारी बोक्दै। पदयात्री चाहिँ हरेक मान्छेसँग झोंक चलाएर कुरा गर्थ्यो। भरियालाई उसले यति गाली गर्‍यो कि बेला-बेलामा लाग्थ्यो, ‘यो भरिया हो कि उसको बाउको नोकर?’ भरिया बिचरा चुपचाप लागिरह्यो। उसको निधारमा बगेको पसिनाभन्दा बढी चोट त उसको मनमा लागेको थियो। पेटको सवाल छ। घरमा छोराछोरीको पढाईको लागि किताब कापी किन्नु छ। 

"ए भरिया, कति ढिलो हिँडेको? भात खाएको छैन कि क्या हो? तिम्रो गति त अति सुस्त छ नि! तिमीले भारी बोकेको हो कि गाडी बोकेको?" पदयात्रीले एउटा कुरा नसकिँदै अर्को गाली सुरु गर्थ्यो। भरियाले हरेक पटक ‘हजुर, हजुर’ भन्दै पाइला चाल्ने कोसिस गर्‍यो। तर, जतिसुकै छिटो हिँडे पनि पदयात्रीलाई चित्त बुझ्दैनथ्यो।

आज चाहिँ पदयात्रीको पारा अलि बढी नै तातेको थियो। "ए, सुँगुरको बच्चा! भारी राम्रोसँग बोक्न पनि आउँदैन? तेरो बाउले भारी बोकाउन सिकाएन?"

यो सुन्नेबित्तिकै भरियाको दिमागको फ्यूज उड्यो। उसले जंगलको बीचमा, भिरालो बाटोमा भारी बिसायो र भन्यो, "ल लिनुस् हजुरको भारी। आजदेखि म तपाईँको सुँगुरको बच्चा होइन।" यति भन्दै उसले पछाडि पनि फर्केर नहेरी आफ्नो बाटो लाग्यो।
बल्ल अब पदयात्रीको घैँटोमा घाम लाग्यो। जंगलको बीचमा एक्लै, भारीको कुरुवा बन्नुपर्दा उसलाई आफ्नो रिसको परिणाम महसुस भयो। उसले भरियालाई फिर्ता बोलाउने प्रयास गर्‍यो, "ए भरिया दाई! फर्कि आउ न ! म त मजाक गरिरहेको थिएँ!" तर, भरियाको मन भारी भैसकोले सुन्नेवाला थिएन।

सांझ झमक्क पर्नै लागेको थियो। चिसो हावा चल्न थालिसकेको थियो। पदयात्रीलाई बल्ल थाहा भयो कि घरी घरी झोंक चलाएर ठुलो मान्छे भएर गाली गर्दा भरियाको मन कति दुख्यो होला? बिचरा! अनि भारीको मोल र भरियाको साथ कति महत्त्वपूर्ण हुन्छ, भन्ने आंकलन पनि थिएन। अब भने आफ्नो हरेक गाली र अपमानको लागि उसले पश्चात्ताप गर्न थाल्यो। अब उसले भारी उठाउने प्रयास गर्‍यो, तर भारी यति गह्रौं थियो कि उसले एक इन्च पनि सार्न सकेन।

"धत्तेरिका! यो झोंकले त मलाई मै हुं भन्ने घमण्ड र म आफुलाई जंगलको राजा हुं भनेर संझेको थिएं! मलाई त भिखारी पो बनाई दियो," उसले आफैँलाई गाली गर्‍यो। रातभरि उही भारीको छेउमा पाले बस्नुपर्‍यो। बिहान भयो, गाउँका मान्छेले उसलाई देखेपछि बल्ल उद्धार भयो। भरिया गाउँमा नै गएर बास बस्न गएको रहेछ।

सन्देश:
यस्तो झोंक चलाएर काम बन्दैन, बरु बिग्रन्छ। बोलीमा संयमता र व्यवहारमा नम्रता भयो भने मात्रै सबैको साथ पाइन्छ। अरूलाई सम्मान दिन सिक्नुपर्छ, नत्र जीवनको यात्रा होस वा पदयात्रामा एक्लो परिन्छ। अस्तु।

25 September 2024

तारकेश्वर महादेव मन्दिरको रोमाञ्चक यात्रा: नियात्रा (Tarkeshwar Travel Blog)

तारकेश्वर महादेव मन्दिरको रोमाञ्चक यात्रा

दुई बर्ष अघि, म र मेरा तीन जना विद्यार्थीहरू मिलेर शिवपुरी डाँडामा अवस्थित तारकेश्वर महादेव मन्दिरको यात्रामा निस्केका थियौं। यात्राको योजना बनाएर हामी सबै मोटरसाइकलमा पांचमानेसम्म पुगेका थियौं। त्यहाँबाट हाम्रो रोमाञ्चक हाईकिङ सुरु भयो। बिहानको चिसो हावामा म टाउकोमा छातावाल टोपी लगाएर हिँडिरहेको थिएँ, जुन टोपी देखेर बाटोमा भेटिएका मानिसहरू हाँस्न थाले। छातावाल टोपीले बाटोमा हिँड्नलाई सहजता दिएको थियो, तर मेरा बिद्यार्थीहरूले भने यसलाई रमाइलोको रूपमा लिएका थिए।


जंगलको बिचबाट उकालो लाग्दै गर्दा, घनघोर जंगलको हरियालीले भरिएको वातावरण र चिरबिर गर्ने चराचुरुंगीको आवाजले हामीलाई मन्त्र मुग्ध पारिदियो। मन्दिरसम्मको बाटोमा ढुंगा छापेको र गोरेटो थियो। बाटोमा केही ठाउँमा भीरको छेउमा हिँड्नुपर्दा अलिकति डर लागे पनि, यात्राको उत्साहले त्यो भयलाई हराइ दिन्थ्यो। 

तारकेश्वर मन्दिरमा पुग्दा भने सबै थकान हरायो। मन्दिरको शान्त वातावरण, उचाइबाट देखिने काठमाडौँ उपत्यकाको रमणीय दृश्यले मनै आनन्द भयो। उपत्यका टाढाटाढासम्म फैलिएको दृश्य देख्दा एक अनौठो शान्ति र आनन्दको अनुभूति भयो। मन्दिरको दर्शन गरी केही समय विश्राम गर्ने बेलामा दायाँबायाँ रहेका दृश्यलाई मोबाइलमा कैद गरेका थियौं। 


अनि त्यहाँ आश्रममा रहेका एक योगी बाबासँग भेट भयो। बाबाले स्नेहपूर्वक तातो पानीमा सित्तल चिनी र जडिबुटी मिसाएर पिउन दिनुभयो। त्यो तातो पानी पिएर शारीरिक र मानसिक थकान दुवै मेटिएको अनुभव भयो। बाबासँगको कुराकानीमा एकान्तबासका जीवनका बारेमा गहिरा कुरा थाहा पाउँदै गर्दा हामीलाई समय बितेको पत्तै भएन।


मन्दिरबाट फर्किंदाको एउटा क्षण भने निकै जोखिमपूर्ण रह्यो। एउटा ओरालो भीरमा ओर्लंदा भने अचानक स्याउलामा म चिप्लिएँ। त्यो भीरबाट तल खस्नै लाग्दा, मेरो मुटुको धड्कन आम्मामा भयंकर तीव्र भयो। झण्डै खस्नबाट बचेपछि म केही समय अक्क न बक्क भएर उभिरहें। विद्यार्थीहरू पनि डराएर चिच्याए। ए! ए! ए! भन्दै सर! भने। तर, हामी सबै फेरि आत्मबल जुटाउँदै अघि बढ्यौं।


त्यसपछी त्यै क्षणको डरलाई सम्झेर विद्यार्थीहरूको उपद्रो सुरु भयो। भीरालो बाटोमा ओर्लंदा उनीहरूले रमाइलो गर्दै हाँसो ठट्टा गरे। उनीहरूको उटपट्याङले कहिलेकाहीं मेरो मनमा डर लाग्थ्यो भने, कतै फेरी कोही चिप्लिने त होइन? भन्ने डर लागि रहेको थियो। तर, उनीहरूको जोश र उत्साहले हाम्रो यात्रालाई अझै रमाइलो बनाइदियो। ओर्लंदाको त्यो कठिन बाटोमा पनि हामी सबैले रमाउँदै एक अर्कालाई सहयोग गर्दै यात्रा पूरा गर्यौं।

यो यात्रा मेरो जीवनको एक अविस्मरणीय अनुभव बन्यो। हाईकिङको रोमाञ्चकता, भीरमा चिप्लेर झण्डै खस्न लागेको क्षण, तारकेश्वर मन्दिरको शान्त वातावरण, योगी बाबाको स्नेह, र विद्यार्थीहरूको रमाइलो उट्पटांग सबै एक साथ मिसिएर यो यात्रालाई विशेष बनायो। अस्तु।

#tarkeshwar #travelogue #domestictourism #pilgrimage #edutour #hiking 

17 September 2024

हाइकिङ किन जाने? (Why Hiking?)

हाइकिङ किन जाने? 
शारीरिक र मानसिक फाइदा 
हाइकिङ एकदमै रमाइलो र स्वास्थ्यका लागि फाइदाजनक गतिविधि हो। यसले शारीरिक र मानसिक दुवै रूपमा धेरै फाइदा पुर्‍याउँछ।
शारीरिक फाइदा:
 * स्वास्थ्य सुधार: हाइकिङले हृदयलाई स्वस्थ राख्छ, मांसपेशीलाई बलियो बनाउँछ, र मोटोपन कम गर्न मद्दत गर्छ।
 * रोग प्रतिरोध क्षमता बढाउँछ: नियमित हाइकिङले रोग प्रतिरोध क्षमता बढाउँछ र विभिन्न रोगहरूबाट बचाउँछ।
 * हड्डी बलियो बनाउँछ: हाइकिङले हड्डीलाई बलियो बनाउँछ र ओस्टियोपोरोसिसको जोखिम कम गर्छ।
 * सन्तुलन र समन्वय बढाउँछ: असमान भू-धरातलमा हिँड्दा सन्तुलन र समन्वय बढ्छ।

मानसिक फाइदा:
 * तनाव कम गर्छ: प्राकृतिक वातावरणमा हिँड्दा तनाव कम हुन्छ र मानसिक शान्ति मिल्छ।
 * उत्पादकत्व बढाउँछ: हाइकिङले दिमागलाई तनावमुक्त बनाई उत्पादकत्व बढाउन मद्दत गर्छ।
 * निद्रा राम्रो लाग्छ: नियमित हाइकिङले निद्रा राम्रो लाग्छ र थकान कम गर्छ।
 * आत्मविश्वास बढाउँछ: नयाँ ठाउँहरू अन्वेषण गर्दा आत्मविश्वास बढ्छ।

काठमाडौंमा हाइकिङका लागि उपयुक्त स्थानहरू
काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू हाइकिङका लागि निकै लोकप्रिय छन्। केही लोकप्रिय गन्तव्यहरू यस्ता छन्:
 * चन्द्रागिरि हिल्स: काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने यो स्थान हाइकिङका लागि निकै मनमोहक छ।
 * शिवपुरी राष्ट्रिय निकुञ्ज: यहाँ विभिन्न पदमार्गहरू छन् जहाँ जङ्गलको मनोरम दृश्य अवलोकन गर्दै हिँड्न सकिन्छ।
 * फूलचोकी: काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो स्थान फूलचोकीमा पुग्नका लागि विभिन्न पदमार्गहरू छन्।
 * दक्षिणकाली: दक्षिणकाली मन्दिर पुग्ने पदमार्ग पनि हाइकिङका लागि लोकप्रिय छ।
 * नगरकोट: नगरकोटबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

प्रवेश शुल्क, दूरी र समय:
प्रवेश शुल्क, दूरी र समय पदमार्गको आधारमा फरक-फरक हुन्छ। सामान्यतया, राष्ट्रिय निकुञ्जहरूमा प्रवेश शुल्क लाग्छ भने अन्य स्थानहरूमा प्रायः निःशुल्क हुन्छ। दूरी र समय पनि तपाईंले छानेको पदमार्गको लम्बाइ र कठिनाइको आधारमा निर्भर गर्दछ।

हाइकिङका लागि आवश्यक सामग्रीहरू
 * जुत्ता: कम्फर्टेबल र पाइला चिप्लिने सम्भावना कम भएको जुत्ता लगाउनुहोस्।
 * लुगा: मौसमअनुसारको हलुका र न्यानो लुगा लगाउनुहोस्।
 * ब्याकप्याक: पानी, खाना, र अन्य आवश्यक सामान बोक्नका लागि ब्याकप्याक आवश्यक हुन्छ।
 * पानीको बोतल: पर्याप्त मात्रामा पानी बोक्नुहोस्।
 * खाना: हल्का खानेकुरा जस्तै फलफूल, नट्स, चकलेट आदि बोक्नुहोस्।
 * सनस्क्रीन: घामबाट जोगिन सनस्क्रीन लगाउनुहोस्।
 * टोपी र चस्मा: घामबाट आँखा र टाउको जोगाउन टोपी र चस्मा लगाउनुहोस्।
 * रेनकोट: वर्षाको सम्भावना भएमा रेनकोट बोक्नुहोस्।
 * मोबाइल फोन: आपतकालीन अवस्थाका लागि मोबाइल फोन बोक्नुहोस्।
 * नक्सा: पहिलो पटक जाने हो भने नक्सा वा जीपीएसको सहायता लिनुहोस्।

कसरी जाने र कति खर्च लाग्छ?
तपाईं सार्वजनिक यातायात, निजी गाडी वा हाइकिङ टुरमा सहभागी भएर हाइकिङमा जान सक्नुहुन्छ। यातायात खर्च, प्रवेश शुल्क र अन्य खर्चहरू तपाईंले छानेको गन्तव्य र यात्राको तरिकामा निर्भर गर्दछ।

साबधानी:
 * मौसमको पूर्वानुमान: हाइकिङमा जानु अघि मौसमको पूर्वानुमान अवश्य हेर्नुहोस्।
 * समूहमा जानु: एक्लै भन्दा समूहमा जानु सुरक्षित हुन्छ।
 * स्थानीयबासीसँग सल्लाह लिनुहोस्: स्थानीयबासीसँग सल्लाह लिएर मात्रै अज्ञात क्षेत्रमा हाइकिङमा जानुहोस्।
 * फोहोर व्यवस्थापन: फोहोर जथाभावी नफाल्नुहोस्।

हाइकिङ एकदमै रमाइलो र स्वास्थ्यका लागि फाइदाजनक गतिविधि हो। त्यसैले, आफ्नो स्वास्थ्य र मनोरञ्जनका लागि नियमित रूपमा हाइकिङमा जानुहोस्।

#Hiking #adventure #tourisminnepal #stress #travelnepal #travelasia