तारकेश्वर महादेव मन्दिरको रोमाञ्चक यात्रा
दुई बर्ष अघि, म र मेरा तीन जना विद्यार्थीहरू मिलेर शिवपुरी डाँडामा अवस्थित तारकेश्वर महादेव मन्दिरको यात्रामा निस्केका थियौं। यात्राको योजना बनाएर हामी सबै मोटरसाइकलमा पांचमानेसम्म पुगेका थियौं। त्यहाँबाट हाम्रो रोमाञ्चक हाईकिङ सुरु भयो। बिहानको चिसो हावामा म टाउकोमा छातावाल टोपी लगाएर हिँडिरहेको थिएँ, जुन टोपी देखेर बाटोमा भेटिएका मानिसहरू हाँस्न थाले। छातावाल टोपीले बाटोमा हिँड्नलाई सहजता दिएको थियो, तर मेरा बिद्यार्थीहरूले भने यसलाई रमाइलोको रूपमा लिएका थिए।
जंगलको बिचबाट उकालो लाग्दै गर्दा, घनघोर जंगलको हरियालीले भरिएको वातावरण र चिरबिर गर्ने चराचुरुंगीको आवाजले हामीलाई मन्त्र मुग्ध पारिदियो। मन्दिरसम्मको बाटोमा ढुंगा छापेको र गोरेटो थियो। बाटोमा केही ठाउँमा भीरको छेउमा हिँड्नुपर्दा अलिकति डर लागे पनि, यात्राको उत्साहले त्यो भयलाई हराइ दिन्थ्यो।
तारकेश्वर मन्दिरमा पुग्दा भने सबै थकान हरायो। मन्दिरको शान्त वातावरण, उचाइबाट देखिने काठमाडौँ उपत्यकाको रमणीय दृश्यले मनै आनन्द भयो। उपत्यका टाढाटाढासम्म फैलिएको दृश्य देख्दा एक अनौठो शान्ति र आनन्दको अनुभूति भयो। मन्दिरको दर्शन गरी केही समय विश्राम गर्ने बेलामा दायाँबायाँ रहेका दृश्यलाई मोबाइलमा कैद गरेका थियौं।
अनि त्यहाँ आश्रममा रहेका एक योगी बाबासँग भेट भयो। बाबाले स्नेहपूर्वक तातो पानीमा सित्तल चिनी र जडिबुटी मिसाएर पिउन दिनुभयो। त्यो तातो पानी पिएर शारीरिक र मानसिक थकान दुवै मेटिएको अनुभव भयो। बाबासँगको कुराकानीमा एकान्तबासका जीवनका बारेमा गहिरा कुरा थाहा पाउँदै गर्दा हामीलाई समय बितेको पत्तै भएन।
मन्दिरबाट फर्किंदाको एउटा क्षण भने निकै जोखिमपूर्ण रह्यो। एउटा ओरालो भीरमा ओर्लंदा भने अचानक स्याउलामा म चिप्लिएँ। त्यो भीरबाट तल खस्नै लाग्दा, मेरो मुटुको धड्कन आम्मामा भयंकर तीव्र भयो। झण्डै खस्नबाट बचेपछि म केही समय अक्क न बक्क भएर उभिरहें। विद्यार्थीहरू पनि डराएर चिच्याए। ए! ए! ए! भन्दै सर! भने। तर, हामी सबै फेरि आत्मबल जुटाउँदै अघि बढ्यौं।
त्यसपछी त्यै क्षणको डरलाई सम्झेर विद्यार्थीहरूको उपद्रो सुरु भयो। भीरालो बाटोमा ओर्लंदा उनीहरूले रमाइलो गर्दै हाँसो ठट्टा गरे। उनीहरूको उटपट्याङले कहिलेकाहीं मेरो मनमा डर लाग्थ्यो भने, कतै फेरी कोही चिप्लिने त होइन? भन्ने डर लागि रहेको थियो। तर, उनीहरूको जोश र उत्साहले हाम्रो यात्रालाई अझै रमाइलो बनाइदियो। ओर्लंदाको त्यो कठिन बाटोमा पनि हामी सबैले रमाउँदै एक अर्कालाई सहयोग गर्दै यात्रा पूरा गर्यौं।
यो यात्रा मेरो जीवनको एक अविस्मरणीय अनुभव बन्यो। हाईकिङको रोमाञ्चकता, भीरमा चिप्लेर झण्डै खस्न लागेको क्षण, तारकेश्वर मन्दिरको शान्त वातावरण, योगी बाबाको स्नेह, र विद्यार्थीहरूको रमाइलो उट्पटांग सबै एक साथ मिसिएर यो यात्रालाई विशेष बनायो। अस्तु।
#tarkeshwar #travelogue #domestictourism #pilgrimage #edutour #hiking
No comments:
Post a Comment