कृषि पर्यटनको अनौठो अनुभव
नेपालको पहाडी क्षेत्रको एक सुन्दर गाउँ, पहाडको उचाइमा छ। कृषि पर्यटनको अनुभव लिन म र मेरा साथीहरू त्यहाँको यात्रा गर्न निस्क्यौं। काठमाडौंबाट केही घण्टाको यात्रा पछि, साना बाटोहरू, हरिया डाँडाहरू, अनि बिस्तारै उकालो लाग्दै जाँदा, तिनपिपलेको सुन्दरता हाम्रो सामु खुलेर आयो।
हामी जब गाउँमा प्रवेश गर्यौं, हामीलाई त्यहाँका स्थानीय मानिसहरूले निकै आत्मीयतासाथ स्वागत गरे। हाम्रो बसाइ एक किसानको घरमा थियो। घर साधारण थियो—ढुंगाले बनेको, माटोले लिपेको, र छानामा जस्ताको पाता। हामीलाई देखेर घरमूलीले हाँस्दै स्वागत गरे। हामीले उनलाई बुबा भनेका थियौं, र बुबाले पनि हामीलाई आफ्नै सन्तान झैँ व्यवहार गर्नुभयो।
अर्को बिहान सूर्योदयसँगै हामी उठ्यौं। गाउँको ताजा हावा, पंक्षीहरूको चिरबिर आवाज, अनि टाढाका डाँडाको दृश्यले मनै रोमाञ्चित भयो। त्यहाँका किसानहरूले बिहान सबेरै आफ्नो खेतको काम सुरु गरेका थिए। हामीलाई पनि उनीहरूको दिनचर्या बुझ्न र कृषि पर्यटनमा सहभागी हुन मन थियो। त्यसैले हामी उनीहरूको काममा हातेमालो गर्न थाल्यौं।
बुबासँगै हामी मकैको खेतमा गयौं। मकैको बोटको उचाइ र घना हरियालीले हाम्रो मन लोभ्यायो। मकै टिप्न सिक्दा मैले पहिलो पटक त्यो काम कति कठिन र मेहनतको रहेछ भन्ने बुझेँ। बुबाले हामीलाई खेतमा मल हालेको, बीउ रोपेको र त्यसको हेरचाह गरेको तरिका देखाउनु भयो। स्थानीय कृषिको परम्परागत शैली अझै जीवित रहेको देखेर हामी अचम्मित भयौं। खासगरी, बुबाले हलो जोतेर खेत तयार पार्ने तरिका देखाउनु भयो, जुन मैले सहरमा कहिल्यै अनुभव गरेको थिएन ।
त्यहाँको परम्परागत जीवनशैलीले मलाई गहिरो प्रभाव पारेको थियो। म अझै पनि त्यो समय सम्झन्छु जब मैले हलो जोतेर माटो पल्टाउने प्रयास गरें। त्यो काम त्यति सजिलो थिएन। गाउँलेहरूले शारीरिक रूपमा कति परिश्रम गर्नुपर्ने रहेछ भनेर मैले महसुस गरें। हलो तान्दा मैले आफ्नो हरेक पाइलामा नयाँ चुनौती महसुस गरें, तर बुबाले सिकाउनु भएको तवरले मैले त्यो काम अन्ततः गर्न सकेँ। त्यो अनुभवले मलाई जीवनको वास्तविक अर्थ र मेहनतको महत्व बुझायो।
गाउँमा बस्दा सबै कुरा सरल र स्वाभाविक थियो। साँझको समयमा हामी सबै गफ गर्न बस्यौं। दाउराको चुलोमा बनाइएको खाना, मकैको रोटी, चियासँग खाजा, नास्ता, सागको झोल र गुन्द्रुकको अचार खाँदा त्यहाँको स्वादले सहरको महँगो खानाको स्वाद पनि बिर्साई दियो ।
गाउँमा बिताएका ती केही दिनले मलाई सहरको व्यस्त जीवनभन्दा पर, वास्तविक जीवनसँगको साक्षात्कार गरायो। त्यहाँको सादगी, मेहनत र प्रकृतिसँगको नजिकको सम्बन्धले मलाई आत्मिक शान्ति दियो। गाउँले सादा जीवनको पक्ष मैले बुझ्न सकेको थिएन, तर त्यहाँको बसाइपछि मैले स्वअनुभूत गरेँ।
जब म काठमाडौं फर्कें, मैले साथमा केवल फोटोहरू मात्र ल्याइनँ, मसँग थियो, गाउँले जीवनको सम्झना, मेहनतको महत्व र प्रकृतिसँगको त्यो सजीव सम्बन्ध।
ए बुढा ! कता हराएको? ९ बजिसक्यो, आज अफिसमा बिदा हो? भन्दा पो झसंग भएँ | तर सपना मीठो थियो | गाउंमा कृषि पर्यटन यसरी नै हुनु पर्छ | अस्तु

No comments:
Post a Comment