श्रीमती अधबैंसेकी थिइन्, हंसमुख स्वभावकी, जिन्दगीलाई सहज र रमाइलो तरिकाले लिने बानी परेकी। उनका श्रीमान्, उनीभन्दा अलि जेठो, त्यस्तै सहज स्वभावका ज्ञानी। उनीहरूका छोराछोरीले अध्ययन सकाएर कामको सिलसिलामा बिदेशिए।
अब उनीहरू दुई जना ब्वाए फ्रेन्ड र गर्ल फ्रेन्ड लिभिङ टुगेडरमा बसे जस्तै बस्न थालेका थिए। समय बित्दै जांदा श्रीमतीले आफूलाई अजीब महसुस गर्न थालिन्। अचानक शरीरमा गर्मी आउने, पसिना आउने, रातभरि निद्रा नलाग्ने, कहिले-काहीं मूड एकदमै खराब हुने। श्रीमानलाई यसबारे केही बताउँदा, खासै गम्भीरता दिएनन्। अझ भनौं वास्ता नै गरेनन् । तर श्रीमती भने दिनदिनै अझ तनावमा पर्न थालिन्। स-साना कुरामा झर्किन थालिन्, आफूलाई अचम्मको निराशा र थकानले घेर्न थालेको अनुभव गरिन्। उता श्रीमान पनि हैरान! संधै हंसमुख रहने श्रीमती अचेल किन यस्तो बदलिएकी?
एकदिन, श्रीमती चुपचाप कोठामा बसिरहेकी थिइन्। श्रीमानले उनलाई बोलाएर भने, "के भयो बुढी? तिम्रो स्वभावमा चिढ चिढापन बढ्दै गएको भान भएको छ। स-सानो कुरामा पनि मलाई खाउला झैं गर्छौ। म सोझो भएर हो कि, मैले बुझ्नै नसकेको हो कि? यस्तो त कहिल्यै गरेको थिइनौ। हामी बसेरै कुरा गरौं न।"
श्रीमतीले गहभरि आँसु झार्दै भनिन्, "मलाई पनि थाहा छैन, बुढो। यस्तो किन भइरहेको छ, म आफैँ अलमलमा छु। मेरो शरीर, मेरो मन, सबै कुरा परिवर्तन भइरहेको छ। निकै रिस उठ्छ। तिम्लाई देख्दा नि कांचै खाउँ झै हुन्छ। बोक्सी नै दुब्यो, कि प्रेत आत्माले छोयो खोइ! अब बाजेकोमा जानु पर्ला।"
श्रीमानले श्रीमतीको हात समात्दै भने, "तिम्रो बदलिएको व्यबहार देख्दा मेनोपज हुंदाको लक्षण जस्तो लाग्यो। अस्ति मेरो अफिसको म्याडमले पनि श्रीमान देख्यो कि कुटुम कुटुम जस्तो हिर्काउन मन लाग्छ, भनेको थियो। पछि मनोचिकित्सक डाक्टर संग परामर्श गरे पछि ठिक भयो रे! यस्तो कुरा उमेरले हुने होला, हामीले राम्ररी बुझ्नुपर्छ। तिम्रो समस्या बुझ्न कोशिश त गरि नै राखेको छु। तर तिमीमा निकै बदलाब आएकोले परामर्श त गर्नु पर्छ होला। समस्या त समाधान गर्नु पर्यो नि हैन?"
दुबैजना मिलेर इन्टरनेटमा अध्ययन गरेर थाहा पाए कि श्रीमती पक्का मेनोपजको चरणमा थिइन्। मेनोपजले महिलाको शरीर र मनमा ठूलो परिवर्तन ल्याउँछ—हर्मोनल परिवर्तनका कारण शारीरिक र मानसिक दुवै समस्याहरू उत्पन्न हुन्छन्।
दुबैजना डाक्टरकहाँ गए र डाक्टरको सल्लाह अनुसार हर्मोनल थेरापी र स्वस्थ जीवनशैलीको लागि खानपानमा परिवर्तन गर्न थाले। घरको नियमित काम दुबैले मिलेर गरे, व्यायाम, सन्तुलित आहार, ध्यान र योगले उनीहरु दुबैले संग संगै गर्न थाले र मानसिक तथा शारीरिक रूपमा श्रीमतीलाई धेरै राहत मिल्न थाल्यो।
बुढीको मूड स्विङ् हुने बित्तिकै जिद्दी हुने व्यबहारलाई बुझ्नै पर्ने बाध्यता भएकोले श्रीमतीले झम्टिन लागेको थाहा पाउना साथ, बुढा चुपचाप भागेर बादबिबादलाई टुङ्याइ दिने गरे। श्रीमानको समझदारीपन श्रीमतीले पनि बुझेकोले उनीहरूबीचको सम्बन्ध पहिलेभन्दा अहिले ठाक ठुक गर्दा गर्दै पनि बलियो हुन थाल्यो।
एकदिन, बुढा बुढी बार्दलीमा बसिरहेका थिए। हावा शीतल थियो, आकाशमा तारा चम्किरहेका थिए। बुढीले हाँस्दै भनिन्, "तिमीले मेनोपज जस्तो कठिन समयमा, मलाई जसरी साथ दियौ नि मैले तिमीलाई जति झम्टिए पनि चुप लागेर नबसेको भए आजको दिन देख्न पाउंदैन थियो होला हगी? म त साँच्चै नै भाग्यमानी रहेछु।"
बुढाले मुस्कुराउँदै भन्यो, "जिन्दगीमा यस्ता उतार चढाब आएन भने त जिन्दगी रोमान्चक नै नहुने होला नि। हामीले एकअर्कालाई सधैं साथ दिनुपर्छ, चाहे जस्तो सुकै उतार चढाबको समय होस्। अब त तिमीले हरेक कुरामा झर्किन पनि छाड्यौ, तिमीले कुटेर मार्ला भन्ने डर लाग्न पनि छाड्यो। म त फेरि तिमीलाई पहिलेको जस्तो रमाइलो पो देख्न पाएको छु।"
बुढीले पनि हाँस्दै भने, "शायद हामी दुवैजनाले यो कठिन यात्रा सँगै पार गर्यौं, त्यसैले फेरि यो रमाइलो भएको छ।"
यो उनीहरूको सम्बन्धको अर्को चरण थियो—जहाँ उनीहरुको एकअर्का प्रतिको समझदारी, धैर्यता र माया झन् गाढा भएर गएको थियो। मेनोपजले ल्याएका चुनौतीहरूलाई उनीहरूले बहुत समझदारीताका साथ सामना गरेर जीवन अगाडि बढाएकाले कठिन अवस्थाले पनि उनीहरुलाई अलग पार्न सकेन, बरु उनीहरूको सम्बन्धलाई अझ बलियो बनायो।
पाठक बृन्दहरुले पनि यस्तो अवस्थामा मनोचिकित्सक परामर्श र समझदारी अपनाउनु हुनेछ भन्ने बिश्वास लिएको छु। अस्तु।
No comments:
Post a Comment