काठमाडौंको बालाजुस्थित नागार्जुन जंगलले सधैं मलाई आकर्षित गरेको थियो। विशेषगरी, त्यहाँका चट्टानहरूले साहसिक खेलप्रेमीहरूलाई निम्तो दिने गर्छन्। म र मेरा दुई साथीहरू नागार्जुनको चट्टान चढाई (रक क्लाइम्बिङ) अनुभव गर्न गइरहेका थियौं। हामी सबैजना उत्साहित थियौं तर यो मेरो पहिलो अनुभव भएकाले, म अलिकति नर्भस पनि थिएँ।
हामी चट्टानको आधारमा पुग्दा, हामीले पहिला सुरक्षा सामाग्री तयार गर्यौं। हार्नेस, जसले हाम्रो कम्मर र खुट्टा सुरक्षित राख्थ्यो, कस्स्यौं। क्याराबिनरहरू, जुन धातुको हुक जस्तै थियो, हार्नेसमा जोड्यौं। हेल्मेटले टाउकोको सुरक्षा गर्थ्यो भने क्लाइम्बिङ स्युटले शरीरलाई सहज बनाउँथ्यो। यी सबै लगाइसकेपछि, मुख्य कुरा थियो – डोरी। सहायकले त्यो डोरीलाई बिले गर्ने थियो, अर्थात् म चढिरहँदा डोरी समातेर मेरो सुरक्षा सुनिश्चित गर्ने।
डोरीको एक छेउ मसँग बाँधियो र अर्को छेउ बिले गर्ने सहायकसँग। मेरो बिले गर्ने साथीले चट्टानको आधारमा आफ्नो ठाउँ सुरक्षित गर्यो। ऊ सजग थियो, किनकि मेरो सम्पूर्ण सुरक्षाको जिम्मा उसैको हातमा थियो।
चट्टानको पहिलो खण्ड चढ्न सजिलो थियो, मैले हात र खुट्टाले समात्न सक्ने थोरै चौडा ठाउँहरू थिए। जब म माथि जान थालेँ, चट्टान चिप्लो र साँघुरो बन्दै गयो। म हरेक पाइला चाल्नु अघि एउटा राम्रो पकड खोज्दै थिएँ। कहिलेकाहीं, हात र खुट्टाले राम्रोसँग समात्न नपाउँदा म डोरीमा झुण्डिन्थें। सहायकले तुरुन्तै डोरीलाई तन्काएर मलाई सन्तुलनमा ल्याउँथ्यो। उसको त्यो तत्कालको प्रतिक्रिया मेरो जीवनको रक्षा नै थियो।
चट्टानको बीच भागमा पुगेपछि मेरो मनमा डर र थकानले डेरा जमाएको थियो। म सास फेर्न रोकिन्छु, तल हेर्छु—चट्टानको आधार अब धेरै तल भैसकेको थियो। मेरो हात काँप्न थालिसकेको थियो, तर म त्यहाँबाट फर्किन सक्दिनथेँ। सहायकले मलाई हौस्याउँदै करायो, "तिमीले सक्छौ! केही पाइला अझै चढ, अनि आराम गर। म यहाँ छु।" उसको आत्मविश्वासले मलाई नयाँ उर्जा दियो।
म एउटा सानो थलोमा पुगेँ, जहाँ केही समय आराम गर्न सकिन्थ्यो। त्यहाँबाट म चट्टानको टुप्पो नजिकै पुगेको महसुस भयो। माथि नीलो आकाश र चारैतिरको हरियाली दृश्यले मलाई जोश दिलायो। म फेरि चढ्न थालेँ, यो पटक अझै ध्यानपूर्वक—मेरो हात र खुट्टा जहाँ राख्नुपर्थ्यो, त्यहाँ स्पष्टसँग राख्थेँ।
अन्ततः, म चट्टानको टुप्पोमा पुगेँ। त्यो क्षणको अनुभव वर्णन गर्न गाह्रो थियो—माथिबाट देखिने जंगलको मनोरम दृश्य, हरियो जंगलको शान्ति, र निलो आकाशको विशालता। चिसो हावाले मेरो अनुहारमा चुम्बन गरिरहेको थियो, र म आफूलाई भाग्यशाली भएको महसुस गर्दै थिएँ।
तलबाट सहायकले मुस्कुराउँदै हेर्दैथ्यो। मैले उसलाई हेरेर हर्षले हात हल्लाएँ। उसले डोरी सावधानीपूर्वक नियन्त्रण गरेर मलाई चढ्न मद्दत गरेको थियो, र म तल जानको लागि पनि उसको सहारा नै आवश्यक थियो। डोरी खुकुलो हुँदा म हावामा झुण्डिएरै तल झर्न सुरु गरें। सहायकले डोरीलाई राम्रोसँग समातिरहेको थियो, अनि म सुरक्षित रूपमा तल झर्दै थिएँ।
तल पुग्दा, हामी सबैले एकअर्कालाई अंकमाल गरेर बधाई दियौं। त्यो चट्टान चढ्ने अनुभव केवल शारीरिक चुनौती मात्रै थिएन, त्यो मानसिक साहस र सहकार्यको उत्कृष्ट उदाहरण पनि थियो। सहायकको भूमिका बिना, म चट्टानमा सफलतापूर्वक चढ्न सक्दिनथेँ।
त्यस दिनको अनुभवले मलाई एउटा कुरा सिकायो—कुनै पनि साहसिक कार्यमा सहकार्य र आत्मविश्वास अनिवार्य हुन्छ। चट्टान चढ्ने यात्रा केवल शारीरिक विजय मात्र थिएन, त्यो मनको पनि विजय थियो। अस्तु।
No comments:
Post a Comment