Grab the widget  Get Widgets

Thursday 26 September 2024

तेश्रो लिंगी संगको रोमान्चक रेलयात्रा: नियात्रा

तेश्रो लिंगी संगको रोमान्चक रेलयात्रा: नियात्रा 

सन् १९९७ सालको कुरा हो। म बिशाखापट्नमबाट मद्रास (हालको चेन्नई) सम्मको रेलयात्रामा निस्किएँ। म पोण्डिचेरी कलेजमा स्नातकोत्तर पढ्दा साथीको घरबाट फर्किंदा रेलबाट दक्षिण भारत जाँदाको रमाइलो अनुभव थियो। टिकट त आरक्षित नै थियो, तर यात्रामा कहिलेकाहीं सीट नम्बर मिले पनि नमिले पनि डिब्बामा रमाइलो अनुभव गर्न पाइन्छ भनेर सोच्दै म आफ्नो सीटमा बसेँ। मेरो अगाडि केही अनौठा तर हँसिला अनुहारहरू थिए। सातजना तेश्रो लिंगीहरू, जो आफ्नो आफ्नो पोशाकमा सजिएका थिए। तर मलाई उनीहरुको पहिरण र व्यबहार देख्दा अजीब लागेको थियो। यात्रामा मेरो अन्य कोही साथी थिएनन्, तर ती सात जनाले मेरो यात्रा अजिब र रोचक बनाई दियो।



रेल चढेको केही समयमै हामीबीच परिचय भयो। उनीहरू सबैले मन्द मुस्कानसहित मसँग बोल्न थाले। मैले आफ्नो परिचय दिएँ, “म नेपालबाट आएको हुँ, दक्षिण भारतको पोण्डिचेरीमा पढ्न आएको।” उनीहरूका आँखामा एकैचोटि चमक देखियो। हिन्दी जानेकी एउटीले हाँस्दै भनिन्, “नेपाली भैया, तुम मेरे सैयाँ, लेकिन तुम हमारे अतिथी हो!” सबैजना हांस्दै ठट्टा गर्न थाले। उनीहरूको रसरंग सहितको स्वागतले मलाई एक किसिमको न्यानोपन अनुभव गरायो।

त्यसपछि हामीले कुराकानीको सिलसिला चलायौँ। मैले उनीहरुलाई तेश्रो लिंगी भएर समाजमा बस्दा कस्तो व्यवहार भोग्नुपर्छ भन्ने सोधेँ। एउटीले भने, “हामीलाई त समाजले त्यस्तो बाल मतलब गर्दैन, महत्त्व पनि दिने गरेको छैन। कोही त हामीलाई देखेर हाँस्छन्, कोही त डराउँछन् पनि। कुनै कुनै गाउँमा भने निक्कै सम्मान पनि गर्छन्। घरमा बच्चा जन्मियो भने नजर उतार्न र आशीर्वाद दिन बोलाउंछन। तर हामीलाई त अब बानी परिसक्यो। हामी आफ्नो जिन्दगीलाई रमाइलोसँग बाँच्न चाहन्छौं।”

हाम्रो गफगाफ यसैगरी चल्दै गयो। मैले देखेँ, उनीहरूको जीवनको कथा भने जति संघर्षमय र कठिनाइले भरिएको थियो, त्यति नै उनीहरू खुशीको खोजीमा थिए। ती मध्येकी एकजनाले भने, “हाम्रो जीवनमा चुनौतीहरू त छन्, तर हामी रमाउनुपर्छ। नत्र त हाम्रो अस्तित्वलाई स्वीकार नगर्नेहरूलाई त रमाइलो नै हुन्छ नि।”

यात्राको दौरानमा मैले उनीहरूलाई चिया पिउन आग्रह गरें । उनीहरू खुसी हुँदै “हाँ, पिलाओ!” भने। मैले रेलमा चिया किनेर उनीहरूलाई दिएँ। उनीहरूले म प्रति धन्यवादको भावमा नतमस्तक हुँदै हाँसेर भने, “तुम तो अच्छे आदमी हो, भैया, अब बनो मेरा सैयां। हाम्रो समाजले तेश्रो लिंगीलाई हेर्ने दृष्टिकोण यस्तो हुँदैन, तर तिमीले हामीलाई गरेको व्यबहार र सम्मानका साथ चिया खुवायौ।” मैले भने, “मलाई त हामीहरू सबै मानिस नै हौ नि। मानिसले मानिस बिचमा भेदभाव गर्न हुंदैन र तिमीहरूको साथमा मलाई अझ रमाइलो नै लागेको छ, हामी सबै मानिस हौं, फरक कहाँ छ र?” उनीहरुले सहमत जनाए |

त्यहि बेला उनीहरूले चियाको बदलामा मलाई केही खुवाउन चाहेको कुरा व्यक्त गरे। तीमध्ये एकले भनिन्, “हामी तिमीलाई समोसा खुवाउँछौं। तिमी हाम्रो पाहुना भएकाले केही त तिमीले पनि खानु पर्छ!” अनि उनीहरूले आफ्नो पिठ्युँमा बोकेको झोला खोलेर समोसा निकाले। मैले पनि उनीहरुले दिएको समोसाको स्वाद संकोच नमानी चाखेँ। त्यतिबेला हामीलाई झन् रमाइलो भयो। समोसाको स्वाद अलि फरक र मीठो थियो।

त्यही क्रममा मैले भारतमा तेश्रो लिंगीहरूप्रति ठाउँ अनुसार समाजको विभेदपूर्ण व्यवहारबारे पनि सुनेँ। उनीहरूले भने, “हामीलाई धेरैले हेप्छन्, तर हामी आफैँलाई कमजोर महसुस गराउँदैनौं। हाम्रो अधिकारका लागि लडिरहेका छौं। यद्यपि, सबैले हाम्रो अस्तित्वलाई सहजै स्वीकार्ने दिन पनि आउला भन्ने आशा चाहिं छ। तर कहिले आउला?”

हाम्रो गफगाफले समय कट्दै गयो र रेलले पनि आफ्नो गति बढाउँदै मद्रासतर्फ अगाडि बढ्यो। ती तेश्रो लिंगीहरूको दु:ख, सुख, साहस, आत्मसम्मान र खुशीप्रतिको दृष्टिकोणले मलाई निकै प्रेरित गर्यो। यात्राको अन्त्यमा, हामीबीच आत्मीयता बढिसकेको थियो। उनीहरू सबैले मसँग विदा माग्दै भने, “नेपाली भैया, ओ मेरे सैंया! तिमी राम्रो मान्छे छौ। फेरि भेट्न पाउँला।”

त्यो यात्रा मेरो जीवनको एउटा अविस्मरणीय रेलयात्रा बनेको थियो। तेश्रो लिंगीहरूसँगको त्यो यात्राको क्षणले समाजप्रति मेरो दृष्टिकोणलाई अझ फराकिलो बनायो। ती सातजनासँगको त्यो सानो तर गहिरो यात्राले मलाई मानवता र समानताको महत्त्व सिकायो। अस्तु।

No comments:

Post a Comment