रसुवाको लाङटाङ पदयात्रा: एक अविस्मरणीय अनुभव
सन् २०१९ ताका रसुवाको लाङटाङ उपत्यकामा पदयात्रामा जाँदा मैले अनुभव गरेको प्राकृतिक सुन्दरतासँगै त्यहाँको स्थानीय संस्कृति, खानपिन र आतिथ्यले यो यात्रालाई जीवनभर स्मरणीय बनायो। ती हिमालको काखमा रहेको सुन्दर गाउँ, शान्त वातावरण र त्यहाँका मानिसहरूको सरल जीवनशैलीले मेरो मनलाई शीतलता प्रदान गर्यो।
पदयात्राको क्रममा, हामीले एक सानो गाउँमा रहेको होमस्टेमा बास बस्यौं। साँझको समय थियो, थकित शरीर लिएर स्थानीय होमस्टेमा पुग्दा त्यहाँको आतिथ्य एकदमै आत्मीय थियो। घरधनीले हाम्रो लागि ढिंडो बनाउन लाग्नुभयो। ठूला कराहीमा कोदोको पिठो र पानीमा हालेर घोल्नु भयो। ढिंडो पकाउन साह्रै मिहिनेत चाहिन्छ भन्ने कुरा मैले त्यहीँ जानेँ, अनि सिकें। साहुजीले हातले दनदनी बलेको आगोमा राखेको कराहीमा मज्जाले ढिंडो चलाउनु भयो | त्यो देखेर हामीले पनि ढिंडो मस्काउन पर्र्यो भनेर साहुजी संग अनुरोध गरेम |
जब ढिंडो तयार भयो, हामीले तातो जुस पनि पायौं। त्यो जुसमा अदुवा र अलिकति मह मिसिएको थियो, जसले शरीरमा तुरुन्तै तातोपन ल्यायो। बाहिरको चिसो वातावरण र त्यसबिचमा तातो जुस पिउनु एकदमै सुखदायी अनुभव थियो। त्यसपछि, वहाँहरूले लोकल मदिरा "जाँड" तताएर पस्कनुभयो। त्यो मदिरा सामान्य तातोपनमा धेरै नै स्वादिलो थियो। लोकल परम्परागत विधिमा तयार भएकोले होला शरीरमा गर्माहट दिनुको साथै यात्रा गर्न गरेको थकान पनि मज्जाले हरायो।
रातको खानामा ढिंडोसँगै मासुको सुकुटी आयो। त्यो सुकुटी निकै स्वादिलो थियो, अलिकति मसला मिसाएर पकाएको मासु। गाउँलेहरूले आफ्नै घरमा पालेको जनावरको मासु सुकाएर तयार गरेका थिए, जुन धेरै नै नरम र स्वादिलो थियो। त्यहाँ बसेर ढिंडो, सुकुटी र तातो जाँडसँग रमाउँदै बाहिरको जुनेली रातको हिमाल हेर्दा एकदमै आनन्दको अनुभूति भयो।
यस्तो शान्त र रमणीय वातावरणमा बसेर खानपिन गर्न पाउनु मात्र पनि सौभाग्य थियो। रातमा गाउँको चारैतिरबाट देखिने हिमालको प्रतिबिम्ब, चिसो हावाको चाप र वातावरणमा फैलिएको शान्तिले बहुतै आनन्द महसुस भयो।
पदयात्राको अर्को दिन, हामीले त्यहाँका गाउँलेहरूलाई आफ्ना दैनिकीहरूमा व्यस्त देख्यौं। सरल र सहज जीवनशैली भए तापनि उनीहरूको मिलनसार स्वभावले हामीलाई आत्मीय महसुस गरायो। यो लाङटाङको यात्रा प्राकृतिक दृश्यहरूको लागि र त्यहाँको संस्कृति, खानपिन, जीवन शैली र आतिथ्यताको अनुभवले जीवनभरका लागि स्मृतिमा रहिरहने भयो । अस्तु |

No comments:
Post a Comment