माझखण्डको बुद्ध बिहारमा नाङ्गै खुट्टा चङ्क्रमण ध्यान: अनौठो र रोमाञ्चक अनुभव
२०८१ को जेष्ठको अन्तिम साता ध्यान गर्ने नै भनेर म ललितपुर र मकवानपुरको सांधमा रहेको माझखण्ड गाउँको बुद्ध बिहारमा सतिपठान ध्यान गर्न पुगेँ। यो ध्यान केन्द्र प्राकृतिक सुन्दरताले भरिपूर्ण थियो। वरिपरि हरियाली, स-साना पाखाहरू, र शान्त वातावरणले ध्यान गर्न उपयुक्त रहेको महसुस गरायो। सतिपठानको विभिन्न विधामध्ये मैले यो पटक चङ्क्रमण ध्यान (हिंडेर गरिने ध्यान) गर्न सक्ने अवसर पाएको थिएँ, जुन मेरो लागि एकदमै नयाँ र अनौठो अनुभव हुन गइरहेको थियो।
ध्यानको दिन, बिहानको सुमधुर वातावरणमा, हामीलाई नाङ्गो खुट्टामा चङ्क्रमण ध्यान गर्ने भनियो। चङ्क्रमण ध्यान भनेको बिस्तारै, होस गरेर हिँड्दै शरीरका हरेक अङ्गहरूको गतिविधिलाई गहिरोसँग महसुस गर्नु हो। नाङ्गो खुट्टामा जमिनको स्पर्श गर्दै ध्यान गर्नु भनेको जमिनसँग प्रत्यक्ष रूपमा जोडिनु हो, जसले अझ गहिरो आत्मानुभूति दिन्छ। अंग्रेजीमा अर्थिङ र ग्राउन्डिंग भन्दो रहेछ।
मैले पहिलो पाइला राख्दा नै हावाको शीतल स्पर्श र जमिनको कोमलता महसुस गरें। जमिनमा पर्ने हरेक खुट्टाको चाललाई ध्यानपूर्वक अवलोकन गर्दै अघि बढ्न थालेँ। प्रत्येक पाइला निकै होशियारीपूर्वक राखिन्थ्यो, ताकि मैले प्रत्येक क्षणको साक्षी बन्न सकूँ। खुट्टाको पैतालामा चिसो जमिनको स्पर्श, घाँसको सितलता, बालुवाको घोचाई, न्यानोपन, र स-साना ढुंगाको घोचाइ मैले एकसाथ अनुभव गरिरहेको थिएँ। हरेक पाइला राख्ने क्रममा ध्यान गहिरिँदै गयो, र मैले मेरो सम्पूर्ण शरीरमा ऊर्जा प्रवाह भइरहेको महसुस गरें।
चङ्क्रमण ध्यान गर्दा हरेक पटक सास फेर्नु, खुट्टा उठाउनु, अगाडि सार्नु, जमिनमा राख्नु, यी सबै क्रियाकलापहरुलाई पूर्ण रुपमा ध्यानका साथ दिब्य चक्षुले हेर्नु र महसूस गर्नु जरुरी हुन्छ। सुरूमा म अलिकति अलमलिन्थेँ, ध्यान बाहिर भागिरहेको थियो। तर बिस्तारै, शरीर र मनको तालमेल मिल्दै गयो। खुट्टाहरूले जमिनको प्रत्येक स्पर्शलाई मनमा रेकर्ड गर्दै थिए। म हिँड्दै गर्दा शरीरको गति मात्र नभई वातावरणसँग पनि एकाकार भइरहेको अनुभव भयो। हावाको झोंकाहरु, रूखहरूको ससराहट, चराहरुको चिरबिराहट सबै कुरामा ध्यान केन्द्रित गर्दै अघि बढिरहेँ।
यस्तो नाङ्गो खुट्टाले जमिनको स्पर्श गर्दै चङ्क्रमण गर्नु साह्रै अनौठो र रोमाञ्चक लागिरहेको थियो। खुट्टाको प्रत्येक चालमा बाँचिरहेको जस्तो महसुस हुँदै गयो। हरेक पाइला एक नयाँ अनुभव जस्तो लाग्दै थियो, मानौँ म जमिनको ऊर्जा ग्रहण गर्दै थिएँ।
तर, यो ध्यान गर्दा सावधानी अपनाउनु अनिवार्य छ। चङ्क्रमण ध्यानमा निम्न कुराहरू ख्याल गर्नुपर्छ:
१. बिस्तारै हिँड्नुपर्छ: चङ्क्रमण ध्यानको उद्देश्य हरेक पाइला पूर्ण रूपमा बोध गर्ने हो। त्यसैले पाइला बिस्तारै राख्नुपर्छ, कुनै किसिमको हतार गर्नु पर्दैन। जसले गर्दा हामीलाई शरीरको हरेक अंशको गतिविधिलाई स्पष्ट महसुस गर्न सजिलो हुन्छ।
२. मनको एकाग्रता: मनलाई अहिलेको बर्तमान क्षणमा ल्याउन जरूरी हुन्छ। ध्यान गर्दा मन यताउता भाग्न सक्छ, तर ध्यानलाई सास, शरीरको चाल, र खुट्टाको हरेक पाइला तर्फ मन लगाएर केन्द्रित गर्न सक्नुपर्छ।
३. खतराहरूबाट सतर्क: नाङ्गो खुट्टामा ध्यान गर्दा जमिनमा भएका स-साना ढुंगा, काँडा, वा अन्य बाधाहरूबाट सचेत रहनुपर्छ। हिँड्दै गर्दा हरेक पाइला वरिपरिका खतराहरूलाई ध्यान दिएर पाइला राख्नु आवश्यक हुन्छ।
४. शरीरको संकेतहरू बुझ्नु: यदि चङ्क्रमण गर्दा शरीरमा कुनै असजिलो महसुस भएमा, वा खुट्टामा केही बाधा आएमा तुरुन्तै ध्यान दिएर समाधान गर्नु पर्छ। चङ्क्रमण ध्यानलाई शारीरिक र मानसिक शान्तिका लागि गरिने भएकाले अनावश्यक रूपमा दबाब दिनु हुँदैन।
चङ्क्रमण ध्यानको यो अनुभवले मलाई भौतिक शरीर र मनको तालमेल बुझ्न निकै मद्दत गर्यो। नाङ्गो खुट्टामा जमिनको प्रत्यक्ष स्पर्शले जीवनलाई झन् बोधमय बनायो। यो यात्राले मलाई केवल ध्यान गर्ने मात्र होइन, शरीरको गहिराइ सम्म पुग्न सहयोग पुर्यायो। माझखण्डको बुद्ध बिहार र वरपरको बन जंगलमा गरेको यो ध्यान मेरो जीवनभरकै अविस्मरणीय अनुभव बन्यो। यो ध्यान गर्ने अवसर प्रदान गरिदिनु भएकोमा विश्व शान्ति बिहार, मिन भवन, नयाँ बानेश्वरका भिक्षु बोधिज्ञान महास्थवीरज्यू प्रति साधुबाद सहित कृतज्ञता ज्ञापन गर्दछु| अस्तु |
No comments:
Post a Comment