सुन्दरीजलको उकालोमा एकजना झोँक्की पदयात्री भेटियो। उ ट्रेकिङ लागी हिंडेको थियो। एकजना भरिया दाई पनि उ संगै हिंड्दै थियो, पदयात्रीको भारी बोक्दै। पदयात्री चाहिँ हरेक मान्छेसँग झोंक चलाएर कुरा गर्थ्यो। भरियालाई उसले यति गाली गर्यो कि बेला-बेलामा लाग्थ्यो, ‘यो भरिया हो कि उसको बाउको नोकर?’ भरिया बिचरा चुपचाप लागिरह्यो। उसको निधारमा बगेको पसिनाभन्दा बढी चोट त उसको मनमा लागेको थियो। पेटको सवाल छ। घरमा छोराछोरीको पढाईको लागि किताब कापी किन्नु छ।
"ए भरिया, कति ढिलो हिँडेको? भात खाएको छैन कि क्या हो? तिम्रो गति त अति सुस्त छ नि! तिमीले भारी बोकेको हो कि गाडी बोकेको?" पदयात्रीले एउटा कुरा नसकिँदै अर्को गाली सुरु गर्थ्यो। भरियाले हरेक पटक ‘हजुर, हजुर’ भन्दै पाइला चाल्ने कोसिस गर्यो। तर, जतिसुकै छिटो हिँडे पनि पदयात्रीलाई चित्त बुझ्दैनथ्यो।
आज चाहिँ पदयात्रीको पारा अलि बढी नै तातेको थियो। "ए, सुँगुरको बच्चा! भारी राम्रोसँग बोक्न पनि आउँदैन? तेरो बाउले भारी बोकाउन सिकाएन?"
यो सुन्नेबित्तिकै भरियाको दिमागको फ्यूज उड्यो। उसले जंगलको बीचमा, भिरालो बाटोमा भारी बिसायो र भन्यो, "ल लिनुस् हजुरको भारी। आजदेखि म तपाईँको सुँगुरको बच्चा होइन।" यति भन्दै उसले पछाडि पनि फर्केर नहेरी आफ्नो बाटो लाग्यो।
बल्ल अब पदयात्रीको घैँटोमा घाम लाग्यो। जंगलको बीचमा एक्लै, भारीको कुरुवा बन्नुपर्दा उसलाई आफ्नो रिसको परिणाम महसुस भयो। उसले भरियालाई फिर्ता बोलाउने प्रयास गर्यो, "ए भरिया दाई! फर्कि आउ न ! म त मजाक गरिरहेको थिएँ!" तर, भरियाको मन भारी भैसकोले सुन्नेवाला थिएन।
सांझ झमक्क पर्नै लागेको थियो। चिसो हावा चल्न थालिसकेको थियो। पदयात्रीलाई बल्ल थाहा भयो कि घरी घरी झोंक चलाएर ठुलो मान्छे भएर गाली गर्दा भरियाको मन कति दुख्यो होला? बिचरा! अनि भारीको मोल र भरियाको साथ कति महत्त्वपूर्ण हुन्छ, भन्ने आंकलन पनि थिएन। अब भने आफ्नो हरेक गाली र अपमानको लागि उसले पश्चात्ताप गर्न थाल्यो। अब उसले भारी उठाउने प्रयास गर्यो, तर भारी यति गह्रौं थियो कि उसले एक इन्च पनि सार्न सकेन।
"धत्तेरिका! यो झोंकले त मलाई मै हुं भन्ने घमण्ड र म आफुलाई जंगलको राजा हुं भनेर संझेको थिएं! मलाई त भिखारी पो बनाई दियो," उसले आफैँलाई गाली गर्यो। रातभरि उही भारीको छेउमा पाले बस्नुपर्यो। बिहान भयो, गाउँका मान्छेले उसलाई देखेपछि बल्ल उद्धार भयो। भरिया गाउँमा नै गएर बास बस्न गएको रहेछ।
सन्देश:
यस्तो झोंक चलाएर काम बन्दैन, बरु बिग्रन्छ। बोलीमा संयमता र व्यवहारमा नम्रता भयो भने मात्रै सबैको साथ पाइन्छ। अरूलाई सम्मान दिन सिक्नुपर्छ, नत्र जीवनको यात्रा होस वा पदयात्रामा एक्लो परिन्छ। अस्तु।
No comments:
Post a Comment