Grab the widget  Get Widgets

03 August 2025

बांगेबुढा

लघुकथा: बांगे बुढा

गाउँमा हर्के दाइलाई सबैले 'बांगे बुढा' भनेर चिन्थे। नामै बांगे, काम पनि बांगे, कुरा झन् कति बांगे कति! जे कुरा सोधे पनि सुल्टो जवाफ उनको मुखबाट निस्किँदैनथ्यो। सुरुसुरुमा त उनकी श्रीमती, 'बांगे बुढी' पनि आजित थिइन्, तर संगतको फल मिठो होस् वा टर्रो, चाख्नै पर्ने। अचेल त उनी पनि बुढाभन्दा एक कदम अगाडि बढेर बांगो जवाफ फर्काउन खप्पिस भइसकेकी थिइन्।

एक बिहान बांगे बुढा आँगनको डिलमा बसेर घाम तापिरहेका थिए। बुढीले एक कप चिया ल्याएर अगाडि राखिदिँदै भनिन्, "ए बुढा, चिया पिउनुस्।"

बुढाले चियाको कपतिर हेर्दै नहेरी भने, "किन र! बुढा चिसोले मर्न लाग्यो र?"

बुढीले झर्किंदै जवाफ फर्काइन्, "एक दिन त सबैजना मर्नु नै छ नि, मरे पछि तिम्रो फोटो अगाडि च्या राख्नु भन्दा त अहिले नै तिम्रो बुढीले पुण्य कमाउने आशा गरेर च्या दिएको नि!"

बुढा मुसुक्क हाँसे र चियाको कप उठाए। अब बुढीलाई चिढाउन सक्ने अवस्था भएन।

दिउँसोतिरको कुरा हो, बुढा कोदालोमा धार लगाउँदै थिए। धारिलो बनाउनुको साटो उल्टोपाल्टो घोटिरहेका थिए। बुढीले देखेर सोधिन्, "के गरेको त्यो कोदालीलाई? धार लगाको कि बोधो बनाको?"

बुढाले जवाफ फर्काए, "यसले तँलाई काट्ला भन्ने डर लाग्यो, त्यसैले बोधो बनाइरा'छु। माटो त यस्ले काट्छ नै"

बुढीले पनि हाँस्दै भनिन्, "ए, हो र? त्यसो भए अझै बोधो बनाउनुस्। यही खुकुरीले बारीको झार फाँड्नुपर्छ, धारिलो भए त झारै काटिएला नि!"

दुवै जना गलल हाँसे। उनीहरूको यो बाङ्गो संवादमा एकअर्काप्रतिको माया र ख्याल लुकेको हुन्थ्यो, जुन उनीहरू मात्र बुझ्थे।

साँझपख बुढी भान्सामा खाना पकाउँदै थिइन्। बांगे बुढा भान्सामा पसे र खाना हेर्दै सोधे, "खाना पकाइरा हो बुढी?"

जवाफमा बुढीले भनी, "होइन, एउटा बूढो गोरुलाई खोले पकाइरा'छु।"

यो संवाद घरबाहिरबाट गुज्रिरहेकी छिमेकी बिबिसी कान्छीले सुनिछन्। उनले कुराको चुरो बुझिनन् र सीधै गाउँभरि बिबिसी बनेर सम्चार को अचार बनाउंदै हल्ला फैलाइन्, "सुन हे, पासाहरु! बांगे बुढा र बुढीको त ठूलै झगडा परेछ। बुढीले त बुढालाई 'बूढो गोरु' भन्दिरहिछ अनि खोले मात्र पकाएर दिन्छु भन्दै थिई।"

कुरा फैलिँदै गाउँको मुखियासम्म पुग्यो। मुखिया बालाई चिन्ता लाग्यो। साँच्चै झगडा परेको हो कि भनेर उनी हर्केको घरमा पुगे।

मुखिया बा पुग्दा बांगे बुढा र बुढी आँगनमा बसेर मकै भटमास खाँदै थिए। मुखियाले गम्भीर भएर सोधे, "हर्के, के हो? यो मैले यस्तो सुन्दैछु? घरमा झगडा परेर तिम्री श्रीमतीले तिमीलाई खोले मात्र पकाएर दिन्छु भन्छिन् रे, हो?"

बांगे बुढा र बुढी एकअर्कालाई हेरेर हाँस्न थाले। बुढाले भने, "मुखिया बा, झगडा होइन, यो त हाम्रो माया गर्ने तरिका हो। मेरी बुढीले मलाई 'गोरु' भनेर पकाएको खोले खानुमा जति स्वाद छ, त्यति त खीरमा पनि छैन।"

बुढीले थपिन्, "हो मुखिया बा। शब्द बाङ्गा भएर के भो त, हाम्रो मन त सुल्टै छ नि! उहाँले पनि मलाई मायाले जिस्काउनुहुन्छ, मैले पनि त्यसैगरी फर्काउँछु। हाम्रो लागि यो झगडा होइन, प्रेम-पत्र पढेजस्तै हो, तर अलि चर्को स्वरमा।"

मुखिया बा उनीहरूको कुरा सुनेर दंग परे। उनले बल्ल बुझे, बाहिरी दुनियाँले जे देख्छ वा सुन्छ, भित्री सम्बन्ध त्योभन्दा कति फरक र गहिरो हुन सक्छ।

"ल ल, तिमीहरूको बाङ्गो मायाको कुरा म सुल्टो मान्छेले के बुझ्नु! तर खुसी लाग्यो," भन्दै मुखिया बा हाँसेर आफ्नो बाटो लागे।

मुखिया बा गएपछि बुढीले बुढातिर हेर्दै भनिन्, "देख्नुभयो? तपाइँको बाङ्गो बानीले गाउँ नै हल्लियो।"

बुढाले मुस्कुराउँदै जवाफ दिए, "हल्ला त मच्चियो, तर सबैले थाहा पाए नि! यो बांगे बुढालाई माया गर्ने बुढी कति सिधा रहिछ भनेर।"

त्यस रात, उनीहरूले मीठो मानेर त्यही 'खोले' खाए, जुन वास्तवमा मिठो तरकारी र भात थियो। उनीहरूको बाङ्गो संसारमा माया सधैं सुल्टो र प्रगाढ थियो।

No comments:

Post a Comment