Grab the widget  Get Widgets

25 December 2025

Silent Divorce

रामदाइ र सिता भाउजूको घर बाहिरबाट हेर्दा अरू सामान्य नेपाली परिवार जस्तै देखिन्थ्यो। बिहान ढोका खुल्थ्यो, साँझ बत्ती बल्थ्यो। चाडपर्वमा घर सफा हुन्थ्यो, भोजभतेरमा दुबैजना एउटै गाडीमा जान्थे। नातागोता र छिमेकीका आँखामा उनीहरू आदर्श दम्पती नै थिए। तर त्यो घरको भित्ता भित्र अर्कै कथा बाँचिरहेको थियो।

उनीहरू एउटै छानामुनि बसे पनि मन भने टाढा टाढा थिए। बिहानको चिया संगै पिउँदैनथे। बाटोमा हिंड्दा पनि अगाडि पछाडि छुट्टै। बोलचाल आवश्यकतामा सीमित थियो, त्यो पनि औपचारिक। रिस झगडा ठूलो हुँदैनथ्यो, किनकि झगडा गर्न लायक सम्बन्ध नै बाँकी थिएन। मौनता नै उनीहरूको दैनिकी बनेको थियो।

“छोरा छोरीकै कारण हो बाबु,” सिता भाउजू कहिलेकाहीँ भन्थिन्, स्वर भारी बनाउँदै। “नत्र त म कहिल्यै यति सम्झौता गरेर बस्दिनथेँ।”

रामदाइ पनि कहिलेकाहीँ मन खोल्नुहुन्थ्यो “समाज र सन्तानको नाममा बाँधिएको जीवन हो यो। बाहिरबाट हेर्दा सबैलाई हाम्रो परिवार कति सुखी लाग्छ। तर मेरो भित्रको घाउ कसैले देख्दैन र बुझ्दैन।”

सिता भाउजूको पीडा पनि कम थिएन। “मेरो जिन्दगी नरक भयो,” उनी भन्थिन्। “न त म पत्नी जस्तो महसुस गर्छु, न त ऊ श्रीमान् जस्तो। एउटै घरमा बस्नु मात्र विवाह होइन रहेछ।”

"हामीले जीवन जिएको हैन कर्तव्य पालन गरेको मात्रै हो।" भन्छन रामदाई।
कसैले ठूलो धोका दिएको पनि थिएन, न त कानुनी रूपमा अलग भएका थिए। तर वर्षौंको उपेक्षा, सम्मानको अभाव, नसुन्ने बानी र साना साना चोटहरूले उनीहरूको सम्बन्धलाई भित्रैबाट मारेको थियो।

छोरा छोरी स्कूलबाट फर्किंदा उनीहरू फेरि अभिभावकको भूमिका निभाउँथे। आमाबुबा मुस्कुराउँथे, सँगै बसेर खाना खान्थे। तर त्यो मुस्कान नाटक थियो, त्यो संगै बसाइ बाध्यता। बच्चाहरूले पनि बिस्तारै बुझ्न थालेका थिए, घरमा शान्ति त छ तर आत्मीयता छैन। यही अवस्थालाई आजकल “Silent Divorce” भनिँदो रहेछ। 

कानुनी कागजमा सम्बन्ध बाँकी भए पनि मन, भावना र आत्माबाट सम्बन्ध टुटिसकेको अवस्था। समाजको डर, सन्तानको भविष्य र प्रतिष्ठाका कारण धेरै दम्पती यस्तै मौन सम्बन्ध बोकेर बाँचिरहेका छन्।

एक दिन, छोराले बुवालाई सोध्यो, “बुबा, तपाईं र आमा किन सँगै हाँस्नु हुँदैन?” त्यो प्रश्नले रामदाइलाई गहिरो चोट दियो। उनले पहिलोपटक महसुस गरे, मौनता पनि हिंसा हुने रहेछ।

त्यसपछि उनीहरूले कुरा गर्ने प्रयास गरे। दोष थोपर्ने होइन, सुन्ने प्रयास। सिता भाउजूले सम्मान खोजेकी थिइन्, रामदाइले पनि बुझि दिन खोजेका थिए। सबै समस्या तुरुन्त समाधान भएनन्, तर संवाद सुरु भयो।

यो कथाको अन्त्यमा उनीहरू पूर्ण रूपमा मिल्न सके वा सकेनन्, भन्ने पाठक बर्गमा नै निहित रहनेछ। तर एउटा सन्देश स्पष्ट छ। सम्बन्ध टिकाउन समाज वा बाध्यता भन्दा पनि एकाअर्काप्रति सम्मान, सुन्ने धैर्य र मानवीय संवेदना अनिवार्य हुन्छ। नत्र एउटै घरभित्र पनि मानिसहरू एक्लै र सम्बन्धहरू मौन रूपमा मृत बांचिरहेका हुन सक्छन्। "Silent Divorce" त्यही मौन मृत्युको नाम हो। अस्तु।

No comments:

Post a Comment