नेपालमा 'स्लीप टुरिजम' (Sleep Tourism): अबको गन्तव्य डिजिटल कोलाहलबाट मुक्ति
– विनय शाक्य, पर्यटन प्रशिक्षक
आजको २१औँ शताब्दीको डिजिटल दुनियाँमा विश्व दौडिरहेको छ। प्रविधिको विकासले संसारलाई साँघुरो त बनायो, तर मानिसको मनलाई भने अशान्त बनाइदिएको छ। पैसा र सफलताको पछि लाग्दा मानिसको जीवनशैली नै अस्तव्यस्त भएको छ। दिनमा चैन छैन र रातमा निद्रा छैन। विश्व स्वास्थ्य संगठनका अनुसार 'अनिद्रा' (Insomnia) र मानसिक तनाव अहिलेको विश्वव्यापी समस्या हो। जसलाई म "डिजिटल दुनियाँको रोग" भन्न रुचाउँछु।
यस्तो अवस्थामा, नेपालले विश्व पर्यटन बजारमा एउटा नौलो र नितान्त आवश्यक प्रडक्ट पस्कन सक्छ, त्यो हो– "Sleep Tourism" (निद्रा पर्यटन)।
नेपाल नै किन?
संसारका ठूला सहरहरूमा मानिसहरू निदाउनका लागि औषधिको सहारा लिइरहेका छन् वा 'स्लीप एप' (Sleep Apps) हरूको प्रयोग गरिरहेका छन्। तर, हामीसँग प्राकृतिक चिकित्सा छ, प्रकृति छ। हाम्रो देशका अति दुर्गम जिल्ला वा गाउँबस्तीहरू, जहाँ अहिले सम्म पनि इन्टरनेटको पहुँच पुगेको छैन वा निकै कम छ, ती ठाउँहरू नै यो व्यवसायका लागि 'मुख्य गन्तब्य' हुन्।
हामीले "यहाँ वाइ-फाई (Wi-Fi) छैन, तर कनेक्सन (Connection) राम्रो छ" भन्ने सन्देश दिन सक्नुपर्छ। त्यो कनेक्सन वाईफाईको होइन, प्रकृतिसँगको हो, आफैँसँगको हो र स्थानीय संस्कृतिसँगको हो।
प्रकृति, संस्कृति र पुनर्जागरण (Healing)
मेरो विचारमा 'स्लीप टुरिजम' भनेको महँगा होटलको नरम बिछ्यौनामा सुत्नु होइन। यो त एउटा समग्र प्याकेज हो।
१. डिजिटल डिटक्स (Digital Detox): मोबाइल र ल्यापटपको 'ब्लु लाइट' बाट टाढा, जहाँ घडीको टिक-टिक होइन, चराचुरुङ्गीको आवाज र खोलाको सुसाहटले बिहान हुन्छ।
२. अर्गानिक जीवनशैली: गाउँघरमा फलेको विषादीरहित खाना, कोदोको रोटी, सिस्नुको खोले र स्थानीय जडीबुटीको चिया। यसले शरीरका विकारहरू हटाउन मद्दत गर्छ।
३. ध्यान र योग: हाम्रा डाँडापाखाहरू आफैँमा तपोभूमि हुन्। बिहानको कलिलो घाममा गरिने योग र ध्यानले मनको तनावलाई पखाल्छ।
दिगो पर्यटन र ग्रामीण अर्थतन्त्र:
यो अवधारणा वातावरणमैत्री (Eco-friendly) पर्यटनसँग सिधै जोडिन्छ। यसका लागि हामीले ठूला कंक्रिटका भवनहरू बनाउनु पर्दैन। गाउँका पुराना घरहरूलाई मर्मत सम्भार गरी (Reuse & Recycle), स्थानीय स्रोत साधनको प्रयोग गरेर होमस्टेको रूपमा विकास गर्न सकिन्छ। यसले दुर्गम गाउँमा आर्थिक उपार्जन मात्र गराउँदैन, हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षणमा पनि टेवा पुर्याउँछ।
निष्कर्ष:
हाम्रा ती दुर्गम गाउँहरू, जसलाई हिजोसम्म हामी 'विकट' भनेर दु:ख मनाउ गरेका थियौं, अब तिनै ठाउँहरू विश्वका सबैभन्दा विलासी मानिसहरूका लागि 'स्वर्ग' साबित हुन सक्छन्। जो मानिस पैसाले किन्न नसकिने 'शान्ति' र 'गाढा निद्रा' को खोजीमा छन्, उनीहरू नै हाम्रा पाहुना हुन्।
नेपालले अब हिमाल मात्र होइन, 'शान्ति र निद्रा' पनि बेच्नुपर्छ। आउनुहोस्, नेपाललाई विश्वको "Sleep Capital" (निद्राको राजधानी) को रूपमा चिनाऔं। अस्तु |

No comments:
Post a Comment