Grab the widget  Get Widgets

18 December 2025

सुकु भ्वय:

 भोज कि विज्ञान? नेवारी 'सुकु भ्वय:' को स्वादिलो यात्रा र पर्यटनको सम्भावना

लेखक: विनय शाक्य

आज म तपाईंहरूलाई एउटा यस्तो यात्रामा लैजाँदैछु, जहाँ स्वाद मात्र छैन, एउटा गज्जबको विज्ञान पनि लुकेको छ। हामीले सधैं खाँदै आएको 'नेवारी भ्वय:' (भोज) लाई पश्चिमा देशको 'थ्री-कोर्स मील' (3-Course Meal) सँग दाँजेर हेर्नुभएको छ? छैन भने, आउनुहोस् आज यसको भित्री रहस्य खोलौँ।


१. सुकुलमा बस्नुको रहस्य: पलेँटी आसनको विज्ञान

भोजमा छिर्नेबित्तिकै हामी कुर्सीमा होइन, परालको सुकुलमा पङ्क्तिबद्ध भएर बस्छौँ। यसरी भुइँमा पलेँटी कसेर बस्नुको एउटा ठूलो वैज्ञानिक कारण छ। जब हामी पलेँटी कसेर बस्छौँ, हाम्रो मेरुदण्ड सिधा हुन्छ र शरीरमा शान्तिको अनुभूति हुन्छ। यो आसनमा बस्दा हाम्रो पेटका मांसपेशीहरू खुल्छन्, जसले गर्दा पाचन रस (Digestive Juices) हरू राम्ररी निस्कन पाउँछन्। कुर्सी-टेबलमा भन्दा सुकुलमा बसेर खाँदा पेटले बढी आराम पाउँछ र खाना पाचनको प्रक्रिया बस्दाबस्दै सुरु भइसकेको हुन्छ।


२. समयबजी (
The Starter)

जब हामी भोजमा बस्छौँ, सबैभन्दा पहिले आउँछ, समयबजी। पश्चिमा संस्कृतिमा यसलाई 'स्टार्टर' भनिन्छ। चिउरा, छोइला, कचिला, भटमास, आलु, अदुवा र बोडी जस्ता परिकारले हाम्रो भोकलाई जगाउने काम गर्छ। यसले हाम्रो पाचन प्रणालीलाई अब 'भारी खाना' आउँदैछ है भनेर संदेश पठाउछ र भारी खाना खानको लागि मानसिक रुपले तयार पार्छ।


३. मुख्य खाना र पाचनको सहयात्री: पाउँ क्वा:  (
The Main Course)

समयबजीपछि सुरु हुन्छ मुख्य भोज अर्थात् 'भ्वय:'। थरीथरीका गेडागुडी, सागसब्जी र मासुका टन्नै परिकारले हाम्रो पात भरिन्छ। तर, यो भोजको एउटा 'सीक्रेट' छ, बीच-बीचमा ल्याइने 'पाउँ क्वा' (लप्सीको तातो सुप)। यसमा हालिएको हिंग र बिरेनुनले खानालाई पचाउन जादु जस्तै काम गर्छ। जतिसुकै 'हाई क्यालोरी' खाना भए पनि हिंगको सुगन्ध र बिरेनुनको गुणले पेटलाई हलुका बनाउँछ। त्यसैले त हाम्रा पुर्खाहरूले बीच-बीचमा सुप खाने चलन बसाएका रहेछन्!


४. अन्तिममा सन्तुलन: नेगेटिभ डाइट (
The Dessert & Negative Diet)

भोजको अन्त्यमा दही र मिठाई त सबैले खान्छन्। तर नेवारी भोजमा एउटा अनौठो र वैज्ञानिक चलन छ, 'सिसापुसा'। यसमा काँचो मुला, भिजाएर टुसा पलाएको केराउ र मौसम अनुसारको फलफूल दिइन्छ। यसलाई आधुनिक पोषण विज्ञानको भाषामा 'Negative Diet' भन्न सकिन्छ। काँचो मुला र टुसाएका गेडागुडीमा हुने इन्जाइम र फाइबरले अघि खाएको चिल्लो र भारी खानालाई सन्तुलनमा ल्याउँछ। "अन्तिम सम्म भोज खानुपर्छ" भन्ने हाम्रो परम्परा त्यसै बनेको होइन रहेछ, यसको त ठूलो स्वास्थ्य लाभ रहेछ।

भोज पर्यटन: अबको बाटो

हाम्रो यो विशिष्ट भोजलाई केवल पेट भर्ने माध्यम मात्र नबनाएर 'भोज पर्यटन' (Feast Tourism) को रूपमा विकास गर्न सकिन्छ। सोच्नुहोस् त, यदि हामीले विदेशी पर्यटकहरूलाई सुकुलमा बसाएर, प्रत्येक परिकारको गुण र वैज्ञानिक महत्त्व सम्झाउँदै स-शुल्क भोज खुवायौँ भने कस्तो होला?

यसले दुईवटा फाइदा हुन्छ:

  • आर्थिक समृद्धि: स्थानीय समुदायले पर्यटकलाई भोजमा सामेल गराएर सिधै आर्थिक लाभ लिन सक्छन् र आत्मनिर्भर बन्न सक्छन्।
  • परम्पराको संरक्षण: जब हाम्रो संस्कृतिले पैसा र सम्मान दुवै कमाउन थाल्छ, तब नयाँ पुस्ताले पनि यसलाई गर्वका साथ अंगाल्ने र जोगाउने छन्।

नेवारी भोज केवल खाना होइन, यो त एउटा जिउँदो संग्रहालय, जीवन शैली र विज्ञानको संगम हो। अर्को पटक भोज खाँदा यी कुराहरूलाई तपाईले पनि पक्कै सम्झिनुहोला है! अस्तु|

No comments:

Post a Comment