सतिपठान ध्यानको गहिराइमा पुगेको थिएँ। आँखा चिम्म गरेर, श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्दै, आफ्नै शरीरका अंगहरुलाई नजिकबाट हेर्दै थिएँ। एक्कासि, मुखको कुनामा हल्का केही चलायमान भएझैं महसुस भयो। आँखा खोलेर हेर्नु त भएन! तर मेरो अनुहारमा केही चीजले कुस्ती खेल्न थालेछ। मनमा एकछिन त झर्को पनि लाग्यो। अनि ध्यान गरेर महसुस गर्दा त झिंगा पो रैछ। अहिले मस्त ध्यान गरिराखेको समयमा यति सानो झिंगाले पनि डिस्टर्ब गर्दो रैछ। तर हात चलाउन मिलेन।
अनि फेरि सोचेँ, आखिर सतिपठान ध्यान भनेकै हरेक अंग अंगमा हुने क्रियाकलापलाई गहन रुपमा नियालेर महसुस गर्ने त हो। हरेक क्षण क्षणका अनुभवलाई पूर्ण रुपमा नजिकबाट अनुभूत गर्नु नै ध्यान हो। त्यसैले यो झिंगालाई पनि मेरो ध्यानको एउटा हिस्सा बनाउन पर्यो भनेर म निर्णयमा पुगेँ।
झिंगाले मेरो ओठको माथिल्लो भागमा पखेटा चलाउँदै बस्दै उड्दै अनि भुं भुं गर्दै घुम्दै थियो। मलाई उसका स-साना पाइलाहरू मुखको छालामा नाचिरहेको अनुभव हुन थाल्यो। त्यसको हल्का वजनले मलाई आफ्नो अनुहारको संवेदनालाई अझ प्रस्ट बुझ्न सहयोग गर्यो। यो सानो झिंगाको स्पर्श पनि कति सूक्ष्म तरिकाले मेरो धैर्यता र सजगता परीक्षण गरिरहेको रहेछ।
त्यसपछि झिंगाले नाकको डाँडीमा उफ्र्यो। म शान्त थिएँ, अनुहारमा हाँसोको रेखा खिचियो। झिंगाले ध्यान भंग गर्न खोजेको होइन, उ त उसको संसारमा रमाई रहेको हो। त्यसैबेला आर्को झिंगा भुरुर उडेर हेलिकप्टर झैं नाकाकै डांडीमा ल्याण्ड गर्यो। अब एउटा होइन दुइटा झिंगा मेरो नाकको डांडीमा बसेको थियो। तर ती दुई जना भाले र पोथी झिंगा परेछन। कतै ठाउँ नपाएर मेरो नाकको डांडीमा रोमान्स गर्यो जस्तो लाग्यो, आँखा खोल्न मिलेन, हेर्न पनि मिलेन। तर उनीहरुको चाल भने नाकैमा अनुभुती भै रह्यो। झिंगाको रंगमञ्च भएछ मेरो नाकको डांडी। मेरो नाकको संसारमा उनीहरुले छोटो रोमान्टिक यात्रा गरिरहेको मात्र रहेछ, भनेर म आफैँलाई सम्झाउँदै थिएँ। उनीहरुको सानो शरीरमा रहेका अघिल्ला हातहरु चलाएको, पखेटा हल्लाएको, हल्का स्पर्श — यी सबै मेरा अनुभवको अभिन्न हिस्सा भए। यो झिंगाले मेरो ध्यानमा नयाँ आयाम थपिदियो। अनि अबिस्मरणीय पनि रह्यो।
त्यसपछिको केही पलहरूमा मैले सोचेँ, "झिंगाको पनि महत्त्व रहेछ। हाम्रो संसारमा सधैं उपेक्षित यो प्राणी र संसारको जीबहरुमध्येको एउटा हिस्सा, झिंगा। अनि कति साना साना चिजहरूले पनि हाम्रो जीवनलाई फरक पार्छन्।" भन्ने कुरा बुझियो।
झिंगाको झर्कोलाग्दो उपस्थितिले मलाई अनुहारका प्रत्येक स्नायु, प्रत्येक संवेदनाको साक्षी बनायो। उसले पनि आफ्नो जीवनको अभिव्यक्ति देखाउन खोजिरहेको थियो, शायद उसले सोचेको थिएन होला कि उसको स्पर्शले मलाई ध्यानको अर्को तहमा पुर्याउँछ, भनेर। म झिंगालाई धन्यवाद दिन चाहन्छु, किनकी उसले मलाई सतिपठान ध्यानको वास्तविक अर्थ अझ गहिरोसँग अनुभव गर्न मद्दत पुर्यायो।
झिंगाको साथमा मेरो ध्यानको यात्रा यसरी सम्पन्न भयो — जहाँ साना साना चिजहरू पनि ठूलो अर्थ राख्छन्। अस्तु।
No comments:
Post a Comment