सुनसान साँझ, घरको आँगनमा सानो नाती खेल्न छोडेर बाजे बजैसँग टाँसिएर बसेको थियो। बाबु आमा केही दिनका लागि अर्कै शहरमा गएको हुँदा नातीले उनीहरूलाई निकै याद गरिरहेको थियो। दिनभरि फुर्तिलो देखिने नाती साँझ पर्नासाथ बाबु आमा सम्झेर छटपटिन थाल्यो। “खोई मेरो बा आमा कहिले आउँछन्?” भन्दै उसले निरीह स्वरमा सोध्यो।
बाजे बजैले थोरै मुस्कानसहित भनिहाले, “बाबा, उनीहरू चाँडै आउँछन्। आज हामी संगै बस्ने है, अनि म कथा सुनाएर सुताउँछु तिमीलाई।” तर नातीको मुहारमा सन्तोष देखिएन। बालकका आँखा एकाएक रसाउन थाले र उसले आँसु थामेर चुपचाप बस्ने बिचार गर्यो। अनि नबोलीकन इसारामा मात्रै कुरा गर्न थाल्यो। अति सहन नसक्ने भए पछि बाजेको काखमा टाउको लुकायो।
बाजे बजैले एक अर्कातिर हेरे। जीवनभर धेरै कुरा सहेर बाँचेका ती दुबै बाजे बजैको मन भारी भएर आयो र आँखामा एकाएक आँसुको भेल बग्न थाल्यो। बजैले मुन्टो हल्लाउँदै आँसु पुछ्दै भनिन्, “यो त नानीको बुढेसकालमा आँसु बगाउने रहर जस्तो भयो नि।” बाजेको गला पनि अवरुद्ध थियो। दुबैजनाले रसाएका आंखा हेरेर नातीलाई सुम्सुम्याउँदै बस्यो। हिक हिक गर्दै नाति सुत्यो। नाती त निदाएको थियो, तर उनीहरू भने रातभरि बिछोडको पीडामा निःशब्द बसी रहे। अस्तु।
No comments:
Post a Comment