Grab the widget  Get Widgets

Sunday, 6 October 2024

राहतमा घर

हाम्रो आफ्नै संस्था मार्फत हामी राहत वितरण गर्न बाढी पीडित भएका ठाउँमा पुगेका थियौं। बाढीले सबै घरहरू जलमग्न भएर पनि हिलोले भरिएका थिए भने कतिपय घरहरु बगाएर लगिसकेको थियो। त्यो ठाउँका मानिसहरू कतै ओत लागेर सायद बसेका थिए। कसैले त पाल टाँगेर गुजारा चलाइरहेका थिए। हामीले राहतका सामग्रीमा लत्ताकपडा वितरण गर्दै गर्दा एक जना सुकुम्बासी ठिटो हाम्रो नजिकै आयो। जांड खाएका ह्वास्स गन्हाउने केटो नजिकै आएर कानमा सुटुक्क भन्यो, "दाजु, काठमाडौंमा मेरो घर छैन, एउटा घर बनाइदिनुस् न!"

म उसलाई हेरेर हल्का मुस्काएँ। ऊ मजाक गरिरहेको थियो, तर उसले भनेको कुरामा केही सत्यता थियो। "घर त मेरो पनि छैन नि, भाइ," मैले जवाफ दिएँ, "म त अहिले यही राहत सामग्रीहरु त मागेर ल्याएर बाँड्दै छु। अब तिम्रो कुरा सुने पछि मलाई पनि एउटा घर बनाई दिने मान्छे खोज्न पर्‍यो। अनि मैले घर बनाउन सक्ने मान्छे भेटेँ भने तिमीलाई पनि एउटा घर मागिदिउँला है?"

ठिटो पनि हल्का मुस्कायो। "ठीक छ, दाजु। त्यो मान्छे भेट्दा म पनि तपाईंसँगै जान्छु। एकदमै ठूलो घर माग्नुहोला नि, तपाईं हामी संगै बस्नको लागि पनि ठाउँ होस् न!"

सबैजना हाँस्न थाले। परिस्थिति दयनीय थियो, तर पनि हामीले हाँसो मार्फत् त्यो बेलाको पीडा भुल्ने प्रयास गरिरहेका थियौं। आखिरमा, राहत सामान हारालुछ गरी लगे। कतिपयले राहत कपड़ा लगाएर फेरि दोहर्‍याएर आएको देखे पछी सांच्चै नै उपकार भयो भन्ने हामीलाई लाग्यो र कपडा बाँड्ने काम त सकियो, तर घर बनाइ दिने मान्छे भेट्ने मौका अझै पाएको छैन। अस्तु।

No comments:

Post a Comment