Grab the widget  Get Widgets

Wednesday, 16 October 2024

गुनासो

काले दस वर्षको भएको थियो। ऊ आफ्नी आमासँग धेरै नै नजिक थियो। आमाले बिहान बेलुकी घरको सारा काम गरिरहेकी हुन्थिन्, अनि कहिलेकाहीं कालेसँग आफ्ना कुरा गरिरहन्थिन। आमालाई आफ्ना श्रीमानको बारेमा गुनासो कस्लाई राख्नु र? भनेर आफ्नै छोरा कालेसंग सुनाई राख्ने गर्थिन। "तेरो बाबु भनेको त पटक्कै  काम नलाग्ने! न त बिहान दूध ल्याउन जान्छ, न त बेलुकी तरकारी! सधैं अफिस-अफिस भनेको। पैसा मात्र ल्याएर के गर्नु, घरको काममा सहयोग नगरेर हुन्छ?" आमा भन्दै सुनाउने गर्थिन्। कालेले आमाका यी कुराहरू आफु सानो भएको बेला देखि दिनहुँ सुन्ने गरेकोले खास मतलब पनि गर्दैनथ्यो।

एकदिन, आमाको यही गुनासो सुन्दा सुन्दै कालेको मनमा प्रश्न उठ्यो। उसले आफूलाई सोध्यो, "के बाबुले हामीलाई हुर्काउन कुनै सहयोग गरेनन् त? बाबु सधैं काम गरेर थकित भएर आउँछन्। उनलाई कस्तो लाग्छ होला, आमाको गनगनले?"
त्यो साँझ, कालेले बाबुलाई थकित भएर आएको र गम्भीर देख्यो। बाबु ओछ्यानमा पल्टेर एकोहोरो भित्तातिर हेरेर केही सोचिरहेका थिए। आमाको गुनासोले बिचरा बाबुको मनमा कस्तो असर परेको होला? अहिले भित्ता हेरेर बसेका छन्, कालेले सोचे। उसले आमासँग यसबारे अब त कुरा गर्नु पर्छ, भनेर मनमनै गुन्यो।

अर्को बिहान, कालेले आफ्नो आमा र बाबुको सम्बन्धलाई कसरी सुधार्ने होला? आमाको कचकच कसरी सुधार्ने होला भनेर मनन गर्न थाल्यो। आज पनि फेरि आमाले बाबुको बारेमा केही गुनासो गरिहालिन्। कालेले अब त हुँदै भएन, आमाको कुरा मात्रै कति सुनेर बस्ने? भनेर हिम्मत जुटाएर आमासँग बोल्यो, "आमा, बाबुले अफिसमा दिनभर काम गर्नुहुन्छ, हैन र? उहाँले हाम्रो लागि पैसा ल्याउनुहुन्छ, हैन र? अफिसबाट आउंदा उहाँ थकित भएर आउनुहुन्छ, हैन र? तर तपाईंले सधैं बाबु अफिसबाट आउने बित्तिकै तरकारी ल्याएन, त्यो ल्याएन भनेर गुनासो मात्रै सुनाउनु हुन्छ। तपाईंले पनि त ल्याउन हुन्छ नि हुंदैन र? बिचरा बालाई कस्तो लाग्छ होला?"

आमा अचम्ममा परिन्। कालेले बोल्दै गयो, "बाबु पनि त मानिस हुनुहुन्छ, उहाँको पनि त मन दुख्छ होला? यसरी दिनभरी कामबाट थाकेर आउंदा एक कप चिया पिउन दिंदा पनि कचकछ सुनाएर दिए पछि चिया खाएको पनि स्वाद पाउंछ कि पाउंदैन होला, हगी बा? यदि तपाईंले सधैं गुनासो मात्रै गर्नु भयो भने, उहाँलाई कसले सहयोग गर्छ? उहाँले पनि त सायद मनमा शान्ति खोज्नु हुन्छ होला नि, अफिसको काम, अफिसको कचकच, अनि घरमा आउने बित्तिकै फेरि कचकच, कस्लाई पो मनपर्छ होला र? आमाले उहाँलाई बिनाकारण गाली गर्ने होइन, बुझ्ने प्रयास त गर्नुपर्छ नि।"

कालेका यी शब्दले आमाको मन छोयो। एक पटक झर्केर भन्यो, तेरो बाउको त्यस्तो मन दुखाउन मन छैन भने तंइले काम गर न त? तं पनि त अब त काम गर्न सक्छस नि, अनि तेरो बाउ र तं मिलेर मलाई सघाउन सक्दिनस? 

फेरि उनलाई पनि महसुस भयो कि आफूले कालेको बाबुको योगदानलाई राम्रोसँग कदर नगरेको पो हो कि? उनी सोच्न लागिन्—के म सधैं तेरो बाबुलाई दोष मात्र लगाइरहेकी छु? के मैले संधै तेरो बाबुलाई माया र सहयोग गरेको छैन?

त्यस दिनदेखि, आमाले बाबुलाई बिनाकारण गाली गर्नु बन्द गरिन्। उनीहरू दुवैले एकअर्काको भावना बुझ्न थाले। कालेले थाहा पायो, कहिलेकाहीं संधै एकोहोरो गुनासो गर्ने आमालाई कसैले बुझाउने कोशिश नगरेकोले त्यस्तो बेहोरा देखाउनु भएको रैछ। आज आमाले मेरो कुरा पनि सुन्नु भयो। अनि बाबुको मनको कुरा पनि बुझ्ने प्रयास पनि गर्नु पर्छ भन्दै शान्त रहनु भयो। त्यसदिनदेखि बाबु-आमा दुबैजनाले घरको जिम्मेवारीमा सहयोग गरे, एकअर्काको मनको कुरा सुने। अब कालेको घरको वातावरण शान्त भएको छ। अस्तु।

No comments:

Post a Comment